नौरते नेपाली
सिँजा (जुम्ला), मङ्सिर ९ गते । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा १३ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकोमा आठ करोड ६८ लाख राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिनुभयो । राजस्व सङ्कलन भएकोमध्ये सबैभन्दा बढी आयकरतर्फ छ करोड ४४ लाख सङ्कलन भएको छ ।
भ्याटतर्फ एक करोड ६८ लाख र अन्तःशुल्कतर्फ ५६ हजार राजस्व सङ्कलन भएको घिमिरेले बताउनुभयो । करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायी लगायत ठुला र साना व्यवसायीलाई जोड दिनका लागि कार्यालयले काम गरि रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरी काम भइरहेको प्रमुख कर अधिकृत घिमिरेले बताउनुभयो ।
जिल्लामा १७ हजारभन्दा बढी करदाता सङ्ख्या रहेका छन् । भ्याटतर्फ मात्र दुई हजार ३२ जना रहेका छन् । छ सय ७७ जनाले व्यक्तिगत प्यान लिएका छन् । यो वर्ष कार्यालयले ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको आन्तरिक रावस्व कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले वार्षिक लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य ६३ करोड ७१ लाख रुपियाँ रहेको थियो । कुल वार्षिक लक्ष्यको ७८ प्रतिशत मात्र राजस्व उठेको प्रमुख कर अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
चालु आवको बाँकी अवधिमा सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी करदाता शिक्षामार्फत स्वेच्छिक कर सहभागिता अभिवृद्धि, आर्थिक ऐन, २०८२ ले प्रदान गरेका छुट सुविधाको प्रचारप्रसार, राजस्व चुहावट तथा कर छलीको नियन्त्रण, बक्यौता कर असुलीलगायत क्रियाकलापलाई जोड दिँदै कार्यालयको वार्षिक राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको कार्यालयले जनाएको छ ।