• ८ जेठ २०८१, मङ्गलबार

कठरियासमुदायको पितृपाख सुरु

blog

दिवङ्गत पूर्खालाई पितृपाखमा भोग लगाइदैं । तस्बिर : सुवेश कठरिया

अविनाश चौधरी

धनगढी, असोज १५ गते । कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ । कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्ने यो समुदायका मानिसले आफ्ना पितृ, पुर्खाको सम्झनामा १५ दिनसम्म पितृपाख मनाउने गर्छन् ।  

पितृको शान्ति तथा सम्झना गर्दै मनाइने पितृपाख शुक्रबारदेखि सुरु भएको कठरिया समुदायका अगुवा सुवेश कठरियाले जानकारी दिनुभयो । उहाँका अनुसार दिवङ्गत भएका आफ्ना पुर्खालाई पितृपाखमा पानी र छाकी (मदिरा) चढाएर पारिवारिक सुख, शान्तिको कामना गरिन्छ । 

पितृपाखको पहिलो दिन कृष्ण द्वितीया तिथिमा घर सरसफाइ र लिपपोत गरेर चिटिक्क पारिन्छ । त्यसपछि पितृभोगका लागि सन्ध्याकालीन समयमा माछा लगायत विभिन्न व्यञ्जन तयार पारी भोग लगाउने चलन रहेको सो समुदायका अगुवाहरूको भनाइ छ । 

यस्तै, माटोको देउतामा दियो बाली देउतालाई गङ्गासागर नुहाउन पठाउने र १५ दिनपछि दसैँसँगै खुसी, सुख, शान्ति लिएर आउनू भनी बिन्ती चढाउने गरिन्छ । देउतालाई सात समुद्र पारी गङ्गासागर नुहाउन पठाउँदा परिवारका लागि सुख, शान्ति ल्याउने र पितृलाई पनि शान्ति मिल्ने मान्यता रहिआएको कठरियाले बताउनुभयो । उहाँले कठरिया समुदायको यो एउटा महत्त्वपूर्ण पितृपूजा रहेको बताउनुभयो ।