अविनाश चौधरी
धनगढी, असोज ११ गते । सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिदैंआएको धनगढीस्थित दृष्टि फाउन्डेसनलाई विभिन्न सामग्री सहयोग गरिएको छ ।
सामाजिक संस्था हेल्प फर ह्यापिनेस सुदूरपश्चिमले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा खाद्यान्न, शैक्षिक सामग्री तथा न्यानो लुगा फाउन्डेसनलाई सहयोग गरेको हो ।
हेल्प फर ह्यापिनेसका प्रदेश संयोजक घनश्याम भण्डारीले फाउन्डेसनका अध्यक्ष कल्पना भट्टलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । सो क्रममा उहाँले फाउन्डेसनमा आश्रित सडक मानव र बालबालिकालाई सहयोग पुगोस् भनेर संस्थाले सहयोग गरेको बताउनुभयो ।
सहयोगी भावना भएका युवाहरू आबद्ध हेल्प फर ह्यापिनेसले बिरामीलाई उपचारमा सहयोग, रगत व्यवस्थापन, छाडा पशुको उपचारलगायतको काम गर्दैआएको छ ।
एक वर्षमा १४९ जनाका लागि रगतको व्यवस्थापन गरेको संयोजक भण्डारीले जानकारी दिनुभयो । यसैगरी, १६९ छाडा चौपायाको उपचार, नौ जना बिरामीलाई उपचारमा सहयोग र डिप्रेसनमा परेका नौ जनालाई मनो परामर्श दिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा सुधारका लागि खबरदारी गर्ने, गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यलाई पनि निरन्तरता दिएको भण्डारीले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा चार जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा दृष्टि फाउन्डेसनका अध्यक्ष कल्पना भट्ट, संस्थामा सर्वोत्कृष्ट कार्य गर्ने असहाय कोषका सदस्य एवम् बैतडी संयोजक भरत विष्ट, सदस्य आरती दाहाल र नीरज पाठक रहनुभएको छ ।