• २१ फागुन २०८०, सोमबार

लिङ्गो ठड्याएसँगै इन्द्रजात्रा सुरु

blog

काठमाडौँ, असोज १० गते । हनुमानढोका दरबारअगाडि मङ्गलबार लिङ्गो (यंसी) उठेपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु भएको छ । आठ दिनसम्म चल्ने यो पर्व उपत्यकावासीको महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो बिहान १०:३६ मा ठड्याउने साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको हो । नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

जात्रालाई सफल र व्यवस्थित बनाउन २९ गुठी अन्तिम तयारीमा जुटिरहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिनुभयो । “उहाँले यस वर्षको इन्द्रजात्रालाई व्यवस्थित र अनुशासित बनाउन विशेष तयारी भइरहेको जानकारी दिँदै सुरक्षा निकायसँगको सहकार्यमा जात्राको व्यवस्थापन भइरहेको छ,” भन्नुभयो । विगतमा इन्द्रध्वजा स्थापनालाई राज्यको सुख समृद्धिसँग जोडिने गरिन्थ्यो । अहिले शुभकार्यको थालनी गर्नुभन्दा पहिले लिङ्गो ठड्याउने प्रचलन रहेको गौतमले बताउनुभयो । 

यसै गरी मानन्धर सङ्घका गजेन्द्र मानन्धरका अनुसार मल्ल राजा जयप्रकाशकै पालामा लिङ्गो राख्ने प्रचलन सुरु भएको हो । यसको लिखित वा आधिकारिक अभिलेख हामीसँग छैन । इन्द्रजात्राको मुख्य आकर्षण कुमारीजात्रा हो । माथिल्लो, तल्लो र बिचका विभिन्न टोलमा कुमारी रथयात्रा गर्ने चलन छ । यसै गरी परिवारका दिवङ्गत सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै उपाकु जाने गर्छन् । हनुमानढोकामा लिङ्गो ठड्याएको दिन आत्माको चिरशान्तिको कामना गर्दै बत्ती बाल्दै हिँड् अर्थात् उपाकु जाने चलन रहिआएको छ । 

‘उपाकु वनेगु’ भनेर काठमाडौँको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरमा धुप र दियो बाल्दै हिँडेमा पितृको आत्माले मोक्ष प्राप्त गर्ने विश्वास गरिने संस्कृतिविद् त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

लिच्छविकालबाट सुरु भएको उपाकु जाँदा भीमसेनस्थान, भगवतीबारी, कङ्ग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याठा, कमलाछी, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट, तेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरिन्छ ।

यसै गरी राष्ट्र प्रमुखको पूजा गरेपछि असोज ११ ‘क्वःने’ (तल्लो टोलमा) जीवित देवी, कुमार र जीवित देवहरू गणेश र भैरवको रथ यात्रा हुन्छ । माथिल्लो टोल (थःने) र तल्लो टोल (क्वःने) गरी दुई पल्ट रथ तानिन्छ । रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाको सम्झनामा रथयात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमतः’ ल्याउने परम्परा रहेको छ ।

असोज १२ गते कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथयात्रा) गराइन्छ । इन्त्रजात्राको अन्तिम दिन नानिचाः यात्रापछि हनुमानढोका ठड्याइएको लिङ्गो ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रूपमा सम्पन्न हुने छ ।