• ११ मंसिर २०८१, मङ्गलबार

गीतकारको परिचय बनाउँदै सौरभ ज्योति

blog

काठमाडौँ, भदौ २४ गते ।  उद्योगपति एवं व्यवसायीका रूपमा चिनिँदै आउनुभएका सौरभ ज्योति पछिल्लो समय आफूलाई गीतकारका रूपमा पनि चिनाउने प्रयासमा लाग्नुभएको छ । ज्योति ग्रुपको उत्पादन, व्यापार, सेवा र लगानीको बागडोर सम्हाल्दा सम्हाल्दै पनि उहाँ गीत गायन र सङ्गीत सिर्जनामा आफूलाई लगाउन थाल्नुभएको छ । 

हालै मात्र उहाँले नयाँ गीत ‘छ–जी’ सार्वजनिक गर्नुभएको छ । नेवारी भाषामा गाउनुभएको प्रेम भावको यो गीतको माधुर्य धुनका कारण धेरैले रुचाएका छन् । यसअघि उहाँ ‘मेरो देश’ बोलको पहिलो गीत ल्याइसक्नुभएको थियो । 

बाल्यकालदेखि नै गीत सङ्गीतप्रति औधी रुचि रहेको सौरभ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “विद्यालय पढ्दादेखि नै गितार सिक्नेदेखि लिएर अनेक किसिमका वाद्यवादन हुन्थे । मैले विद्यालयमै गितार सिकेको हुँ । विद्यालय पढ्दादेखि भनौँ या बाल्यकालबाट नै जीवनमा गीत लेखेर गाउनु पर्छ भन्ने इच्छा थियो । त्यो अहिले पूरा गर्दै छु ।”

जीवनमा आफूले चाहेको र इच्छा लागेको सबै नयाँ कुरा गर्नु पर्छ भन्ने सोचाइ राख्ने सौरभ अरूका लागिभन्दा पनि आफ्नो सन्तुष्टिका लागि गाउने गरेको बताउनुहुन्छ । उहाँका गीतका भिडियो र सङ्गीतका बारेमा सकारात्मक प्रतिक्रिया पाउन थालेपछि उहाँमा उत्साह थपिएको बताउनुहुन्छ । सङ्गीतको कुनै भाषा नहुने भन्दै नेवारी नबुझ्ने समुदायका लागि भिडियोमा गीतका शब्दहरू अनुवाद गरेर हालिएको छ । 

उहाँ भन्नुहुन्छ, “भाषाले सङ्गीतमा खास फरक पर्दैन विश्वव्यापी रूपमा नै हेर्ने हो भने चर्चित स्पेनिस गीत अहिले पनि चली नै रहेका छन् । अन्य विभिन्न भाषाका गीत विश्वव्यापी रूपमा चलेकै छन् । मेरो गीत पनि सबै वर्गले बुझ्नुहुन्छ ।’’ उहाँलाई स्वरसम्राट् नारायणगोपालदेखि लिएर १९७४ ब्यान्ड, कुटुम्ब, नेपथ्य र अहिले आएका नयाँ गायकहरू एकदमै प्रतिभाशाली लाग्छ ।