• ११ मंसिर २०८१, मङ्गलबार

स्रष्टा सम्मान पुरस्कार २०८० : राजेश्वर नेपालीसहित १५ जनालाई प्रदान गरिने

blog

काठमाडौं, भदौ २१ गते । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गर्नुभएका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको छ । (सो भन्दा अगावै शान्ति समाजले उहाँलाई २०८० को स्रष्टा सम्मानबाट पुरस्कृत गर्ने प्रक्रिया अघि बढाइसकेको थियो ।)

यसैगरी, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा.रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडौँ), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान डा. कृष्णराज चौधरी सर्वहारी (दाङ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान प्रा.डा. सावित्री कक्षपती (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा.नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी, जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाडौँ), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर), श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्यप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल (बालकुमारी) (कञ्चनपुर) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा हुनुहुन्छ भने सात वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधि, मगर, र लिम्बु गरी आठ भाषामा विशेष योगदान गर्नुभएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा (२०८० कात्तिक अन्तिम साता) कार्यक्रम आयोजना गरी २० हजार रुपियाँ पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । स्रष्टा सम्मान अभियानअन्तर्गत शान्ति समाजले स्रष्टाहरूलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।

स्व.राजेश्वर नेपाली: वि.स.२००२ साल भदौ १९ गते बेलाग्राम धनुषामा जन्मनुभएका पत्रकार स्वतन्त्रता सेनानी एवम् लोकतान्त्रिक आन्दोलनका अग्रज स्रष्टा राजेश्वर नेपालीका मैथिली भाषामा विचार क्रान्ति (कविता सङ्ग्रह), मिथिला मैथिली (कविता सङ्ग्रह), सोहागिन (कथा सङ्ग्रह) नेपालीमा गरिबको व्यथा (खण्डकाव्य), निःसहाय मानव (खण्डकाव्य), नव नेपाल (हिन्दी कविता सङ्ग्रह) गरी मैथिली, नेपाली र हिन्दीमा दुई दर्जन कृतिहरू प्रकाशित छन् । २०८० भदौ ११ गते उहाँको निधन भएको थियो ।

प्रा.डा.राजेन्द्र विमल: वि.स. २००३ साल चैत्र १३ गते जनकपुरमा जन्मनुभएका स्रष्टा प्राध्यापक राजेन्द्र विमलका ई हमरे कथा थिक (कथासङ्ग्रह), खहरेको तिर्खा (उपन्यास), रोएको जुन (उपन्यास), राजेन्द्र विमलका कथाहरू, मिथिलाको इतिहास, संस्कृति र कला–परम्परा गरी मैथिली, नेपाली र अङ्ग्रेजीमा दुई दर्जन बढी कृतिहरू प्रकाशित छन् ।

डा. रामप्रसाद ज्ञवाली: २०२४ साल वैशाख ११ गते गुल्मीमा जन्मनुभएका स्रष्टा ज्ञवालीका औँसीका फूलहरू (महाकाव्य), स्वप्नदृष्टि (महाकाव्य), एकादेशमा (खण्डकाव्य), जीवनका घुम्तीहरू (उपन्यास) गरी समालोचना, कविता, उपन्यास, नाटक र बालसाहित्यको क्षेत्रमा ४१ वटा कृतिहरू प्रकाशित छन् ।

सुलोचना मानन्धर: २०११ फागुन २९ गते झोछें काठमाण्डौमा जन्मनुभएकी स्रष्टा सुलोचना मानन्धरका नेपालभाषा (नेवारी)मा झ्यारखाना (कथासङ्ग्रह), कर्मया भोग धैगु छु? (निबन्ध) लगायत ७ वटा र नेपालीमा इतिहासका जिउँदा पानाहरू (निबन्ध सङ्ग्रह), रात (कविता सङ्ग्रह) लगायत ८ वटा गरी कुल १५ कृतिहरू प्रकाशित छन् । उहाँको रात कविता सङ्ग्रहको अङ्ग्रेजी अनुवाद समेत प्रकाशित भएको छ ।

डा. कृष्णराज चौधरी सर्वाहारी २०२८ साल भदौ ६ गते लमही दाङमा जन्मनुभएका स्रष्टा डा.सर्वहाराका थारु भाषामा सुख्ली (थारु भाषाको पहिलो बाल कथा सङ्ग्रह), जोन्हू मामा (थारु भाषाको पहिलो बाल कविता सङ्ग्रह), फुटल करम (थारु भाषाको पहिलो उपन्यास) गरी थारु, नेपाली र अङ्ग्रेजी भाषामा गरी ३१ वटा कृतिहरू प्रकाशित छन् ।

प्रा.डा. सावित्री कक्षपतीः २०१६ साल साउन ४ गते मखनटोल तानसेनमा जन्मनुभएकी स्रष्टा कक्षपतिका उत्तरवर्ती चरणका नेपाली कथामा संस्कृति, पाल्पाका लोकगीतको अध्ययन लगायत तीन वटा कृति प्रकाशित छन् । 

प्रा.नवराज पाण्डेय: २०२३ साल जेठ ७ गते अर्घाखाँचीमा जन्मनुभएका स्रष्टा पाण्डेयका संस्कृत भाषामा परमानन्दचरितामृतम् (काव्य), कालिगण्डकी (नेपाली महाकाव्य), व्याकरणमहाभाष्यम् गरी संस्कृत र नेपाली भाषामा एक दर्जन कृतिहरू प्रकाशित छन् ।

मुकुन्द आचार्य: २००१ साल चैत्र ६ गते मकवानपुर गढीमा जन्मनुभएका स्रष्टा मुकुन्द आचार्यको भोजपुरी भाषामा भोजपुरी गद्य साहित्य (अनुसन्धानमूलक ग्रन्थ), भोजपुरी उखान र टुक्का (अनुसन्धानमूलक ग्रन्थ), डार एक फूल अनेक (भोजपुरी भाषामा धारावाहिक उपन्यास) लगायत भोजपुरी, नेपाली भाषामा अनुवाद समेत गरी एक दर्जन पुस्तक प्रकाशित छन् ।

बाजुराम पौडेल: २०१० चैत्र २० गते काठमाडौँमा जन्मनुभएका स्रष्टा बाजुराम पौडेलका शान्ताश्री (महाकाव्य), उनी उर्मिला (महाकाव्य), जुनकिरी (बालमहाकाव्य), सिर्जना फस्टाउनुपर्छ (खण्डकाव्य), अर्को संसार (उपन्यास) गरी एक दर्जन बढी कृतिहरू प्रकाशित छन् ।

कमलादेवी हेमचुरीः सन् १९६३ मे १ मा पाल्पामा जन्मनुभएकी स्रष्टा कमला हेमचुरीको ब्राम्हणबाद विरुद्ध बुद्ध र अम्वेडकर नामक कृति प्रकाशित छ भने उहाँले डा. भिमराव अम्बेडकर लिखित दुई वटा पुस्तकको नेपाली अनुवाद समेत गर्नुभएको छ । सामाजिक न्यायको आन्दोलनमा सक्रिय हेमचुरीका दर्जनौँ लेख÷कार्यपत्र प्रकाशित छन् ।

लीला राना: २०१० पुस ३ गते  बैदीछाप स्याङ्जामा जन्मनुभएकी स्रष्टा रानाका मगर भाषामा बामरी सार रीलीङ झुरुम (कविता सङ्ग्रह) एक मुठ्ठी बुकी फूल (नेपाली कविता सङ्ग्रह) गरी आधा दर्जन कृतिहरू प्रकाशित छन् ।

मधुराज केरुङ: २०४९ असार २३ गते पाँचथरमा जन्मनुभएका स्रष्टा केरुङका लिम्बु भाषामा साम्याङफुङ (गजल सङ्ग्रह), तुम्दुमसेरी (कविता सङ्ग्रह), गरी ३ वटा कृतिहरू प्रकाशित छन् ।

मधु शाही बस्नेत: २०४० माघ २ गते जन्मनुभएकी खर्पुनाथ हुम्ला निवासी स्रष्टा मधु शाहीका मधु माधव (कथा सङ्ग्रह), बुनु (कविता सङ्ग्रह), तिमी र म (गजल सङ्ग्रह) गरी ४ वटा कृति प्रकाशित छन् ।

हंसावती कुर्मी: २०३५ माघ १ गते जन्मनुभएकी स्रष्टा हंसावती कुर्मी ‘हँसा’का अवधि भाषामा अजोरिया (कविता सङ्ग्रह), नेपालीमा बिम्ब प्रतिबिम्ब (कथा सङ्ग्रह), बिरानो बस्ती गरी तीन वटा पुस्तक प्रकाशित छन् ।

मधु हमाल (बालकुमारी) : २००९ मङ्सिर २५ गते जन्मनुभएकी कञ्चनपुर निवासी स्रष्टा मधु हमालका व्यथाको कथा (कथा सङ्ग्रह), सुजीत स्मृति लहर गरी दुई वटा कृति प्रकाशित छन् ।