मङ्सिर महिना । गाउँभरि धान दाइँको चटारो छ । वर्षभरिको कमाइ घर भित्र्याउने ध्याउन्नमा किसान लागेका छन् । बुधराम थारूको परिवार पनि धान दाइँमा लागेको छ ।
मात्र दुइटा गोरुले बुधरामको धानको घान मेलो अलिकति पनि निख्रिरहेको छैन । ऊ घरी घरी घाना समेट्दै बर्बराउँछ, “खै यो के धान हो सस्सुर, निख्रँदै ननिख्रिने ।”
आज बुधराम बहुत दङ्गदास छ । ऊ जिन्दगीभरि मालिकको अरनखटनमा रह्यो । जमिनदारका लागि धान दाउँदै गर्यो । मरीमरी कमायो, तैपनि जमिनदारसँग सापटी लिएर जिन्दगी बिताउनु पर्यो । यो वर्ष भने कमाइको आधा धान भित्र्याउँदै छ, ऊ आफ्नै घरको डेहरी (भकारी) मा ।
विसं २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्यो । बुधराम पनि मुक्त भयो । उसलाई सबैभन्दा खुसी आफूले लिएको ऋण तिर्नु नपर्ने भयो । ऊ जुन जमिनदारको घरमा कमैया थियो, सोही जमिनदारको अधियाँ जोत्न पाएको छ तर अधियाँ जोत्न पाउन एकदम महँगो मोल चुकाउनु परेको छ उसलाई, छोरीलाई कमलरी लगाएर । पढाइदिन्छु भनेर लगेको उसकी छोरी जमिनदारको छोराको खै कुन सहरमा जुठो भाँडा माझ्दै छ, उसलाई त सहरको नामधरि थाहा छैन । बुधराम धेरै सुध (सोझो) छ । ऊ बुधराम हो कि सुधराम, आफूले आफैँलाई छुट्याउन सक्दैन ।
बुधरामले धान दाउँदा जुन गोरु नारेको छ, त्यो गोरु पनि उसको आफ्नो होइन । जमिनदारकै गोरु हो । गोरुको ज्याला पनि धान दिने सर्तमा लिएको छ, उसले । गाउँघरमा यसलाई ‘भुट्टीमे गोरु लेलक’ भनिँदो रहेछ । सोच्छ, यो गुँइ (हलगोरु) आफ्नो बनाउन सकेँ भनेँ त के नै चाहियो र ? उसको सोचाइ तब भङ्ग हुन्छ, जब दुवै गोरु सँगसँगै जसो दाइँ गरिरहेको धानमै बिस्ट्याउन थाल्छन् ।
ऊ छिटो छिटो पराल उठाएर दुवै हातले गोरुको गुदद्वार तल गोबर थाप्छ, गोबरमा धान मात्रै देख्छ । ऊ बर्बराउँछ, “सारन, कब कब ढान खइलक हो । सब टुहरे घिंच लेबो टे हम्रे का खाब ?” (तेरी मा हो, कति कति खेर पो धान खाको हो । सबै तिमीहरूले खाएपछि हामीले के खाने हँ ?)
त्यहीबिचमा बुधरामकी जन्नी (श्रीमती) खल्यानमा बिहानको खाना कलवा लिएर आइपुग्छिन् । थालको आधा भात खान नपाउँदै उसको नजर बुढीको जिउमा पर्छ । ग्राभेल बाटो तैपनि जन्नी खाली खुट्टा आएकी छे । गुन्यु पनि एकदुई ठाउँ ढस्किएर फेर्न अनुरोध गर्दै छ । न नाकमा, न त कानमा कुनै गहना छ । घाँटी पनि खाली छ । बस् रङ उडेको एक दुइटा चुरा र निधारमा सामान्य टिकली (टीका) छ । यत्तिले पनि उसकी जन्नी उसको हेराइमा जुनकिरी झैँ ढपक्क बलेकी देखिन्छे ।
आफूलाई ट्वाल्ल परेर हेरेको देखेर उसकी जन्नी जुग्नी आफ्नो लोग्नेलाई हकार्छे, “का हेर्लक हो बड्डो खाइक छोरके, कभु ड्याख नइ पाइल अस” (के हेरेको हो बुढा खान छाडेर, कहिल्यै देख्न नपाए जस्तो ।)
बुधरामले भन्छ, “जुग्नी तँलाई मैलै कहिल्यै सुख दिन सकिनँ । यो माघमा त तेरो लागि जसरी पनि नयाँ लुगा र एउटा न एउटा कुनै गहना जोडिदिनु पर्ला ।”
जन्नीले भन्छे, “चुपचाप खाऊ । सपनाको महल नबनाऊ । फेरि भर्याङबाट खस्लाऊ । चाहिँदैन मलाई गहना सहना । एक जोर लुगा भए पुग्छ । छोरीलाई त जमिनदारले लुगा देला नि ! बरु अर्को कुरा मेरो मनमा खेल्दै छ ।” जोग्नी बिचैमा कुरा रोक्छे ।
“के कुरा ?” बुधराम मुखमा गाँस राख्दाराख्दै सोध्छ ।
“पहिला खाऊ, अनि भन्छु,” जन्नीले भन्छे ।
“ल, आज मेरो पेट भरियो । अब पुग्यो ।” र, जन्नीको अगाडि जुठो भातको थाल सार्छ बुधराम । जन्नीले एकचोटि घुरेर हेर्छे र फट्कार्छे, “अन्न जुठो छोड्यो भने अन्नले सराप्छ रे । यो ठरवा (लोग्ने) लाई त म के भन्नु ।”
बुधराम थालको भात फेरि आफूतिर सार्छ र सानो बच्चा जस्तै भातको डल्ला नमुछीकन सुक्खा खान थाल्छ । घाँटीमा अड्केर किक्लिक किक्लिक गर्न थालेपछि करुवाको पानी छिटो छिटो पिउँछ । पानी सर्किएर ऊ खोक्न थाल्छ । जन्नी त्यो दृश्य देखेर खित्का छाडेर हाँस्छे ।
खोकी रोक्दै बुधरामले सोध्छ, “ल भन् त, तेरो मनमा के कुरा खेल्दै छ ?”
“अइ के कुरा खेल्नु । आउने माघबाट छोरीलाई पनि बोलाई ल्याउनु । खै कुन पो सहरमा हामीलाई सम्झिएर आँसुको समुद्र बहाउँदै छ बिचरी ।” जोग्नीले यति भन्दा उसको आँसु टप्प चुहिन्छ तर बुधरामलाई जन्नीको आँसुले पनि छुँदैन । ऊ मन मार्दै भन्छ, “अँ, तैँले भने जस्तो खुबै सजिलो छ नि । यो गोरु पनि त जमिनदारकै हो नि । जमिनदारले हल गोरु नै फुकालेर लग्यो भने त कसरी खेती गर्ने ?”
जुग्नी आँसु पछ्दै भन्छिन्, “मलाई मघहा जरावर (माघीको नयाँ लुगा) पनि चाहिँदैन, बरु यो गोरु किन्ने उपाय गर । गाउँको अर्को जमिनदार अधियाँ लगाउन अढेरवा नभेटेर उसको जग्गा त्यसै बाँझो छ रे । आफ्नै गोरु भयो भने केही न केही उपाय लाग्ला नि !”
यसरी जुग्नी आफ्नो तालले भाँडा सिमोटेर घरतिर लाग्छिन् । बुधराम बिँडी सल्काउँछ । धुवाँ हावामा छोड्दै मनमा अनेकन कुरा खेलाउन थाल्छ ।
२०५८ मङ्सिर ८ गते दाङको सदरमुकाम घोराही माओवादीले कब्जा गरे, लडाइँमा धेरै सुरक्षाकर्मी मरे । रातिदेखि नै घोराही नगरवरपर कफ्र्यु लागेको छ । रातबिरात धान दाइँ गर्न पनि गाह्रो छ ।
घोराही बजारभन्दा मात्र दुई किलोमिटरको दुरीमा बर्गडही गाउँमा बुधरामको घर छ । धान दाइँ गर्न अब उसको एक घान मात्रै बाँकी छ । त्यसैले भोलि सखारै धान दाउन जाने, बरु कलवा ढिलै होस् जसरी भए पनि सकाउनैपर्ने मन बनाएको छ ।
सुत्नुभन्दा पहिले बुधराम दम्पतीको कुराकानी भयो । “अइ, कति डेहरी धान भयो हँ सुक्नीकी आमा ?” बुधरामले सोध्यो ।
जुग्नीले भनी, “भएको चार डेहरी सबै भरिएको छ । नअटाएर दुई वटा बोरामा छ । आज त दाइँ गरेर राख्ने ठाउँ पनि छैन । बरु आज म एकछिन दाइँमा सघाउँछु, तिमी बजार गएर धान राख्ने बोरा किनेर ल्याउनु ।”
बुधरामले मनमनै हिसाब मिलाउन थाल्छ । दुई डेहरी धान बेचेर कसो गोरु किन्न नसकिएला र ? गोरुको ज्याला यसपालि दुई बोरा धान हो । हामी कति नै खान्छौँ ? दुई डेहरी धान त खाइ पिई चाडबाडमा जाँड लगाउन पनि पुग्छ होला । बाँकी बोरामा रहेको धान बेचेर जन्नीको लुगा त कतै जाँदैन ।
यस्तै सोच्दै बुधराम निदायो । सखारै चारै बजे उठ्यो । अनि, गोठबाट गोरु छोड्न थाल्यो ।
जन्नीले भनी, “अइ अझै त राती नै छ । पाँच ओच त बज्न देऊ । जाबो एक घान धानको लागि, सकी त हाल्छ नि !” तर बुधरामले मानेन । उसले भन्यो, “अब निद्रा खुल्यो त के गर्नु । ऊ मनपुरान बाजे झन् अघि नै हाँक पार्दै गइसके । बरु तँ पनि छिट्टै कलवा पकाउन उठ्नु ।”
वर्गडही गाउँको करिब दर्जन घरको खेरहन्वा अर्थात् खल्यान एउटै ठाउँमा थियो । घान हालेर सबै जना एक ठाउँमा भेला भई एकछिन बिँडी पिउन थाले ।
मनपुरान बाजे बुधरामलाई खिसी गर्न थाले, “यही नातिको मस्ती छ राम दुहाइ । छोरीलाई दूर देश पठाइदिए । नयाँ बेहुलाबेहुली जस्तै रातभरि लहराझैँ बल्झिएका हुन्छन् बुढाबुढी ।” सब जना खित्का छोडेर हाँस्छन् । अर्काे हसनपुरान काका भन्छन्, “अरे बेँरी पनि पिएर सक्कियो, अब धान निखार्ने हो । जाऔँ सबै जना ।”
ठिक त्यहीबेला त्यहाँको दृश्य भने अचम्मको देखियो । गोलीगट्ठासहितको प्रहरी टोलीले धान दाउने किसानलाई घेरिसकेको थियो । टोलीका अगुवा डिएसपीले बुधरामलाई छातीमा गोली ताक्दै भन्यो, “कफ्र्यु लागेको भनेको थाहा छैन, साले थारूहरू !”
लुगलुग काम्दै बुधरामले बडो मुस्किलले भन्यो, “हम्र ट धान डाइँ आइल बटी हजुर ।”
धान दाइँ गर्न आएको बताइएपछि डिएसपी कड्कियो, “धान दाइँ गर्न हिँड्या हो कि, कसैको घर लुट्न ? कि कसैको हत्या गर्न ?”
धान दाइँ गर्ने सबै किसान चुपचाप भए । सबैको होसहवास उड्यो । किसान बुधरामलाई दिसाले च्याप्यो । ऊ बगाल छाडेर अर्कैतिर मोडिन थाल्यो । डिएसपी पुनः कड्कियो, “ए कहाँ हिँडेको साले थारू गोरु ? रुक् साले जाँ... ।”
“दिसाले च्याप्यो हजुर,” बुधराम बोल्यो ।
“के हेर्छौ केटा हो । गोली ठोक, निशाना लगाऊ । यी सबका सब थारू माओवादी हुन् । कफ्र्यु तोड्ने ? हाम्रो निद हराम गर्ने ?”
यसरी डिएसपीको आदेश भुइँमा राम्ररी झर्न पाएको थिएन । ११ भाइ किसान एक चिहान भए ।
बिहान ७ बजेको समाचारले फुक्दै थियो, “यो रेडियो नेपाल हो । अब समाचार सुन्नुहोस् । दाङको घोराही सदरमुकामनजिकै बर्गडही गाउँमा आज बिहान साढे ४ बजे बुधराम थारूसहित ११ जना माओवादी कार्यकर्ता प्रहरीसँगको भिडन्तमा मारिएका छन् । उनीहरूसँग व्यापक मात्रामा हातहतियार पनि फेला परेको छ । उनीहरू घोराही सदरमुकाम कब्जा गर्नमा संलग्न रहेको बताइएको छ ।”
बर्गडही गाउँमा पूरै सन्नाटा छायो । उता खल्यानमा रगत बग्यो । यता त्यो हृदयविदारक समाचारले बुधरामकी जन्नी (स्वास्नी) जोग्नीलगायतको आँसुको सहस्र धारा बग्न थाल्यो ।