• १९ फागुन २०८२, मङ्गलबार

धमाधम बन्दै मतदान केन्द्र (फोटो फिचर)

blog

हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदानस्थल तयार पार्दै कर्मचारी । तस्बिर: अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका मतदान केन्द्रहरू तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीहरूले कार्यस्थल व्यवस्थापन र बुथ निर्माण गरिरहेका छन् ।

मतदान केन्द्रको सुरक्षाका लागि खटिएका प्रहरीको सहयोगमा केन्द्र तयार पारिएका हुन् । सबै मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रवेशद्वार बनाइएको छ । भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रकी सहायक मतदान अधिकृत शिक्षा विष्टले भन्नुभयो, “हामी महिला, पुरुष र ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गर्दै छौँ । भोलिसम्म मतदानस्थल निर्माणको कार्य सम्पन्न गरी निर्वाचनका लागि तयारी अवस्थामा रहनेछौँ ।”

भुटनदेवी माध्यमिक विद्यालयमा मात्र ९ वटा मतदान केन्द्र रहेका छन् । मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक लाख ५३ हजार ३७६ महिला र एक लाख ६१ हजार ९५३ पुरुष गरी कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् ।

जिल्लाभर १६७ मतदानस्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । मकवानपुरमा राजनीतिक दल तथा स्वतन्त्र गरी ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।