• २७ मङ्सिर २०८२, शनिबार

जीवन बदल्ने सूत्र

blog

पूर्वीय दर्शन र सनातनी शैव परम्परामा आधारित हिन्दु धर्मावलम्बी तथा ओमकार परिवारभित्र तन्त्र र मन्त्रको शक्ति साधना र मोक्ष प्राप्तिको ईश्वरीय मार्ग हो । कतिपय गलत भ्रम र अन्धविश्वासले भने तन्त्र र मन्त्रभित्रको विज्ञान र ऊर्जा आविष्कार सूत्रलाई गलत ढङ्गले प्रस्तुत गरेको पाइन्छ । 

डा. मिलनकुमार थापाद्वारा लिखित अनुसन्धानात्मक पुस्तक ‘तन्त्र और मन्त्र विज्ञान’ पुस्तकमा तन्त्र र मन्त्र विज्ञानको उर्वर र शक्तिशाली देश नेपाल हो भन्ने कुराको पुष्टि विशिष्ट ढङ्गले गरिएको छ । तन्त्र र मन्त्र साधनामा ऋषिमुनिले प्रमाणित गरेका विषयलाई मुख्य स्रोत बनाएर अध्ययन गरिएको पुस्तकमा पशुपतिनाथ विराजमान धर्ती तन्त्र र मन्त्र शक्तिको पुञ्ज कसरी हो र यो शक्ति आर्जन गर्ने विधि, पद्धति के कस्तो हुन्छ र हुनु पर्छ भन्ने सन्दर्भलाई पुस्तकमा चर्चा गरिएको छ । पूर्वीय दर्शन र शैव परम्परामा आधारित तन्त्र र मन्त्र शक्तिको अध्ययन, अनुसन्धान, सिद्धि र शक्ति प्राप्तिका प्रसिद्धिले स्थापित गरेका नवीनतम् तथ्य प्रस्तुत गरिएको छ । 

सरल हिन्दी भाषामा प्रकाशित ‘तन्त्र और मन्त्र विज्ञान’ पुस्तकले तन्त्र र मन्त्रको ज्ञानको महत्व, अर्थ र आवश्यकतालाई अन्तर्राष्ट्रियकरण गरेको छ । साथै नेपाल तन्त्र र मन्त्रको केन्द्र कसरी हो र भगवान् पशुपतिनाथको शक्तिको महत्व कसरी जोडिएको छ भन्ने विषय उठान गरिएको छ । तन्त्रका प्रकार, मन्त्र र साधनाको विधि पनि प्रस्तुत गरिएको पुस्तकमा तन्त्र र मन्त्रको रहस्य, उत्पत्ति, विकास र परम्परालाई स्पष्ट चित्रण गरिएको छ । पुस्तकमा तान्त्रिक मुद्रा, तन्त्र र शिवको अन्तरसम्बन्ध, तन्त्रमा जपको महत्व, तन्त्रमा योगको महत्व र तन्त्रमा आगमको भूमिकाबारे गहिरो अध्ययन र अनुसन्धान गरिएको छ । लेखक डा. मिलनकुमार थापाले तन्त्र र मन्त्रलाई स्पष्ट, तार्किक र वैचारिक रूपमा परिभाषित गर्दै अन्धविश्वासको दायराबाट बाहिर ल्याएर वैज्ञानिक र दार्शनिक परिप्रेक्ष्यमा प्रस्तुत गर्नुभएको छ । 

तन्त्र र मन्त्रको उत्पत्ति, विकास र भारतीय तथा नेपाली संस्कृतिमा यसको स्थानलाई ऐतिहासिक प्रमाणका साथ प्रस्तुत गरिएको छ । पुस्तकमा प्रस्तुत जानकारी, मन्त्र र विधिका स्रोत अत्यन्तै विश्वसनीय र प्रामाणिक छन् । तन्त्र जीवन व्यवस्थापन र भौतिक उत्थानको साधन हो भन्ने तथ्यलाई प्रामाणिक रूपमा प्रस्तुत गरिएको छ । पाठकले जीवनको भौतिक पक्षलाई आध्यात्मिक पक्षसँग जोड्ने पद्धतिको बाटो पहिल्याउन सक्ने छन् । कर्म, ज्ञान र शक्तिको सन्तुलित उपयोगमा जोड दिइएको पुस्तकमा तन्त्रमा यन्त्रको स्थापना र सुरक्षाको गहिरो व्याख्या विश्लेषण गरिएको छ । विशिष्ट ऊर्जाको ढाँचाको रूपमा तन्त्रमा हुने यन्त्रको प्रयोगलाई समुदाय, संस्था वा स्थानको रक्षा, उन्नति र स्थिरतासहित लोककल्याणकारी कार्यमा स्थापित गर्न सकिन्छ । पुस्तकमा तान्त्रिक पद्धतिले गरिने कर्मकाण्ड, पूजा, अनुष्ठान व्यवस्थित गर्न, शुद्ध भावना र विधिपूर्वक गरिएका अनुष्ठानले साधकलाई प्राप्त हुने शक्ति र प्राप्त शक्ति परोपकार र असहायको सेवामा लगाउन सकिने तथ्य प्रस्तुत छन् । 

डा. थापाले पुस्तकमा तन्त्रले जीवनलाई पलायनवादका रूपमा नहेरी भौतिक स्रोतको शुद्ध र विवेकपूर्ण उपयोगमा जोड दिनुभएको छ । सामाजिक उन्नति र भौतिक समृद्धि प्राप्त गर्न तन्त्र र मन्त्र साधनाको प्रयोग गर्न सकिने विषय पुस्तकमा उल्लेख छ तर त्यो समृद्धि लोककल्याणको भावनाले अभिप्रेरित हुनुपर्ने कठोर सर्त पुस्तकमा उल्लेख छ । तन्त्र र मन्त्र दुवै शक्तिशाली साधन भएको र वैदिक मान्यता अनुसार यी साधनको लोककल्याणकारी प्रयोगका आधारमा साधकको सङ्कल्प र चित्तको शुद्धिको कुरा पुस्तकमा प्रस्तुत छन् । जब कुनै साधकले स्वार्थ, लोभ र ईष्र्या त्यागेर सम्पूर्ण जगत्को सुख, शान्ति र समृद्धिको कामना गर्दै मन्त्र जप वा तान्त्रिक अनुष्ठान गर्छन्; ती साधनाले विराट् रूपमा सकारात्मक ऊर्जा निर्माण गर्ने र यही ऊर्जाले समाजमा फैलिएको नकारात्मक पक्ष, रोग र द्वेष हटाउन मद्दत गर्ने सन्दर्भका आधार, प्रमाण र तथ्य समेटिएका छन् । पुस्तकले तन्त्र र मन्त्रका माध्यमबाट लोककल्याणकारी कार्य गर्न शक्ति सञ्चय, त्यो शक्तिलाई सही दिशामा समर्पित गर्ने वैदिक नैतिक मूल्य र परमार्थिक भावना अनिवार्य हुने मागदर्शन पनि दिएको छ । 

डा. थापाले तन्त्र र मन्त्रको अँध्यारो पक्षलाई पनि पुस्तकमा प्रस्तुत गर्नुभएको छ । पुस्तकमा शक्ति र रहस्यको दुरुपयोगले निम्त्याउने खतरा र चुनौतीलाई उजागर गर्दै दुरुपयोगबाट हुने दुष्परिणाम र शक्तिको भ्रष्टताबारे सचेत गराइएको छ । तन्त्र र मन्त्रको मुख्य सार नै शक्ति आर्जन गर्नु हो; चाहे त्यो आत्मिक होस् वा बाह्य तर यो शक्ति व्यक्तिगत लोभ, ईष्र्या वा नकारात्मक अभिप्रायका लागि प्रयोग हुन्छ; तब यसको अँध्यारो पक्ष प्रकट हुन्छ । यसमा मारण, मोहन र उच्चाटन जस्ता मन्त्रको प्रयोग कसैलाई हानि पु¥याउन, नियन्त्रण वा बर्बाद गर्नका लागि हुने र यो पूर्णतः धर्म, नैतिकता र तन्त्रको मूल दर्शनविपरीत हुने पुस्तकमा उल्लेख छ । तान्त्रिक वा मान्त्रिक शक्तिको दाबी गरी ठग्ने, डर देखाउने र शोषण गर्ने कार्य गर्दा वास्तविक आध्यात्मिक मार्ग ओझेलमा परेको र अन्धविश्वास मौलाइरहेकोप्रति पुस्तकले सचेत गराएको छ । 

पुस्तकमा तन्त्रका भेद र प्रधानतालाई प्रस्ट पारिएको छ । तन्त्र परम्परामा दीक्षाको महत्व, नेपालको तान्त्रिक परम्परा, मन्त्रको अर्थ र विवेचना, ज्योतिषशास्त्र तथा तन्त्रशास्त्रको सम्बन्ध, तन्त्रमा हुने यन्त्रको प्रयोग, शक्तिको दर्शन जस्ता कठिन सवाललाई पाठकले बुझ्ने र जीवन व्यवहारमा अपनाउन सक्ने गरी प्रस्तुत गरिएको छ । पुस्तकमा तन्त्र र मन्त्र साधनापछाडिको उच्च दार्शनिक उद्देश्य आत्मसाक्षात्कार, मोक्ष, जीवनको रहस्यलाई धार्मिक कर्मकाण्डका रूपमा नभई गम्भीर चिन्तनका रूपमा प्रस्तुत गरिएको छ । 

प्राडा सोम खतिवडाद्वारा सम्पादित पुस्तकमा तन्त्र विज्ञान र मन्त्र विज्ञानका दुई खण्ड छन् । आध्यात्मिक ज्ञान र मानव चेतनाको गहिराइलाई बुझ्न प्रेरित गरिएको पुस्तकमा परम्परागत ज्ञानलाई आधुनिक चेतनासँग जोड्ने प्रयास गरिएको छ । धर्म, संस्कार, संस्कृति, तन्त्र र मन्त्र विज्ञान नेपाली धर्तीका पुँजी हुन् । यसमा राज्यको ध्यान पुग्न जरुरी छ । यसको आवश्यकता, महत्व र विशिष्टतामाथि तयार पारिएका अनुसन्धानात्मक एवं प्रामाणिक पुस्तकलाई अन्तर्राष्ट्रिय समुदायमा पु¥याउन सके नेपालले आफ्नो परिचयमा अर्को आयाम थप्न सक्छ । श्रीहनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरद्वारा प्रकाशित २६८ पृष्ठको पुस्तकमा आकर्षक आवरण, हार्ड कभर र गुणस्तरीय कागज प्रयोग गरिएको छ ।