काठमाडौं, भदौ १८ गते । गृह मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरुमा वक्तव्यबाजी नगर्न र नगराउन आग्रह गरेको छ ।
सुरक्षाकर्मी एवम् कर्मचारीहरु विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्न, गराउन अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएको उल्लेख गर्दै सरकारी निकाय, पदाधिकारी, नागरिक समाज र आम नागरिकबाट उचित समर्थन र हौसलाको अपेक्षा रहेको गृहले बताएको छ ।
पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यसमा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।