• २६ पुस २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भ गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको शुभारम्भ गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान सो अभियानको उहाँले शुभारम्भ गर्नुभएको हो ।

पार्टीलाई जनतासँग जोड्दै समाजवादको आधार तयार गर्ने सङ्कल्पका साथ तीन महिने अभियान सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरूले पुनः शिर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरुआत गर्न गइरहेका छौँ ।” 

राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकाङ्क्षालाई ठोस रूपमा सम्बोधन गर्न सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम बनाई अभियानका रूपमा सञ्चालन गर्ने पार्टीले निर्णय गरेको उहाँले चर्चा गर्नुभयो ।

देशको ६ हजार ७ सय ४३ वडाहरूबाट एकैसाथ अभियानको शुभारम्भ भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संविधानमा उल्लेखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । इतिहासको यही अत्यन्तै गम्भीर, सङ्क्रमणकालीन र संवेदनशील जिम्मेवारी पूरा गर्ने मोडमा हामी छौँ ।” 

आजको दिन पार्टीको जीवनका लागि, देशको उज्ज्वल भविष्यका लागि र जनताका सपना पूरा गर्ने ऐतिहासिक दिन समेत भएको उहाँले चर्चा गर्नुभयो । जनसम्बन्धबाट पार्टी विमुख हुँदैजाने परिस्थितिसँगै सिर्जना भएको सङ्कटलाई चिर्न अभियान सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

“यो अभियानले एकातिर आजको युगको नेतृत्व गर्ने, विचार निर्माणका लागि आधार तयार गर्नेछ भने अर्कोतर्फ नेतृत्वका लागि आवश्यक क्रान्तिकारी र सबल सङ्गठनको निर्माण गर्नेछ” माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ”अभियानबाट जनतामाझ पुगेर आजको युगसापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्नेछ ।“ 

मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छु उहाँले भन्नुभयो, “इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू सरकारले अघि बढाएको छ । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदैआएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ ।” 

राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । “हामी आफैले गरेका राम्रा काम पनि जनतासम्म लग्न सकेका छैनौँ । यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरूलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ” उहाँले भन्नुभयो । 

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मीको पर्दाफास सरकारले गरेको उहाँले प्रस्ट पार्नुभयो । 

मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवम् स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शय्याको व्यवस्थादेखि स्वास्थ्यक्षेत्रमा सुधार र सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको समेत उहाँले चर्चा गर्नुभयो ।

लघुवित्त पीडितहरूको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयमा पठाइएको, किसानहरूलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, विपन्न र असहायका निम्ति निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधारलगायतका कामहरूले सरकारको सङ्कल्प र प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको पनि प्रधानमन्त्री प्रचण्डले चर्चा गर्नुभयो ।

त्यस्तै, वित्तीय तथा मौद्रिक नीतिको सन्तुलनमार्फत निजी क्षेत्रलाई समेत विश्वासमा लिई सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको पनि उहाँले बताउनुभयो । उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिगरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।

सोहीअनुसार नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको, २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपियाँले बचतमा रहेको, विदेशी विनिमय सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपियाँ पुगेको पनि प्रधानमन्त्री प्रचण्डले चर्चा गर्नुभयो ।

यसैगरी सरकारले चालेका जनमुखी कदमहरूले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रहरूलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाउने काम सरकारले गरिरहेको उहाँले बताउनुभयो । 

त्यस्तै, परिवर्तनलाई नरुचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्त्वहरूले सरकारविरुद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्यो रूपमा सरकारका कामको प्रशंसा र चर्चाबाट जनताको ध्यान विमुख गर्ने षड्यन्त्रहरू भइरहेको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “सरकारलाई काम गर्न नदिन विभिन्न कोणबाट भइरहेका यी हर्कहरू गलत त छन् । यो घेराबन्दीले झनै जिम्मेवार ढङ्गले सबल, सक्षम भएर क्रान्तिकारी आन्दोलनमा अविचलित रूपमा अघि बढ्नुपर्ने कार्यभार समेत हाम्रोसामु थपिदिएको छ । हाम्रो अस्तित्व हामीमा नै निर्भर छ भन्ने कुरा बिर्सिनु हुँदैन ।” 

तीन महिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पुगाउन ठोस भूमिका खेल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको पनि उहाँले बताउनुभयो ।