• २४ वैशाख २०८१, सोमबार

आइड्रपको अभाव

blog

काठमाडौँ, भदौ १३ गते । देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो । 

भक्तपुर लोकन्थलीका कृष्ण सिन्जाली मगरले भक्तपुरदेखि कोटेश्वरसम्मका सबै औषधी पसलमा पुग्दा पनि आइड्रप नपाएपछि तिलगङ्गा आँखा अस्पतालमा पुग्नुभयो । “तिलगङ्गामा टोकन लिएर डेढ घण्टा लाइनमा बसेपछि बल्ल त्यो औषधी पाएँ,” उहाँले सुनाउनुभयो । 

नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल पोखरेलले बजारमा आँखा पाकेका बेला प्रयोग गरिने आइड्रप अभाव भएको जानकारी दिनुभयो । उहाँले केही समयअघिसम्म अस्पतालमा दैनिक १५० जनासम्म आँखा पाकेका बिरामी आउने गरेकोमा हाल ८० देखि ९० जनासम्म त्यस्ता बिरामी आउने गरेको बताउनुभयो । 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जुनसुकै अस्पतालमा आँखासम्बन्धी औषधी नपाइने बताउनुभयो । “बजारमा अभाव होला तर अस्पतालमा औषधी अभाव छैन,” उहाँले भन्नुभयो, “औषधी पसलमा आँखाको औषधी नपाइन सक्छ ।” 

उहाँले औषधी उत्पादकले पनि फार्मेसीमा औषधी वितरण नगरी आँखा अस्पतालमा मात्र गरिरहेको बताउनुभयो । “बजारमा पर्याप्त नभए पनि आँखा अस्पतालमा आइड्रप अभाव नभएको रिपोर्टिङ प्राप्त गरेको छु,” उहाँले भन्नुभयो, “अस्पतालमा पनि पाइएन भने हामीलाई जानकारी हुनसके तत्काल व्यवस्था गर्ने छौँ ।”

एक जना व्यक्तिको आँखा पाकेमा परिवारका अन्य सदस्यलाई पनि समस्या देखिन सक्ने भन्दै एकै व्यक्तिले चाहिनेभन्दा बढी आइड्रप किन्ने गरेको पाइएको छ । आँखा रोग विशेषज्ञ डा. एरिक वैद्यले आँखा पाक्ने रोगीका लागि औषधी पर्याप्त नभए पनि पाउँदै नपाएको भन्ने अवस्था नरहेको दाबी गर्नुभयो । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।