• ४ जेठ २०८१, शुक्रबार

लम्पी स्किनविरुद्ध पन्ध्र दिनमै दोब्बर खोप

blog

काठमाडौँ,  साउन ३० गते । सङ्घीय, प्रदेश र स्थानीय तहको सक्रियतामा १५ दिनमै तीन लाख ४५ हजार पशुमा ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको छ। २०७९ चैतमा नेपालमा यो सङ्क्रमण देखिएयता चार महिनामा लगाइएको खोप र पछिल्लो पटक १५ दिनमा लगाइएको खोपको मात्रा बराबर देखिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म छ लाख ९६ हजार ४५० चौपायामा खोप लगाइएको छ। 

लम्पीले महामारीको स्वरूप धारण गर्ने स्थिति आएपछि साउन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, सचिव तथा उच्च पदाधिकारी राखेर लम्पी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको थियो। निर्देशनसँगै विभाग र प्रदेश सरकार खोप लगाउने कार्यमा सक्रिय बनेका थिए। बैठकमा सङ्क्रमण रोक्न छिमेकी देशले अपनाएको कदमको जानकारी लिन र विश्व पशु स्वास्थ्य सङ्गठनको सिफारिसका आधारमा खोप ल्याउन प्रधानमन्त्रीले निर्देशन दिएसँगै खोप लगाउने कार्य अघि बढेको थियो। 

पशुसेवा विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले साउन १५ गतेदेखि देशव्यापी रूपमा खोप लगाउने साताव्यापी अभियान नै सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले तीनै तहसँग समन्वय गर्दै लम्पी सङ्क्रमण नियन्त्रणका लागि अधिकतम प्रयास गरिरहेको बताउनुभयो। 

विभागकै १५ दिनयताको तथ्याङ्कलाई हेर्ने हो भने नेपालका सात वटै प्रदेशका पशुलाई खोप लगाउने सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो। अधिकांश प्रदेशले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत स्थानीय तहमा साताव्यापी खोप अभियान चलाएसँगै खोप लगाउने पशुको सङ्ख्यामा दोब्बर वृद्धि भएको हो।

हालसम्म कोशी प्रदेशमा एक लाख ४७ हजार ४७८ पशुलाई खोप लगाइएको छ। मधेश प्रदेशमा एक लाख ५८ हजार ५३०, बागमती प्रदेशमा एक लाख ५० हजार ९९५ पशुलाई खोप लगाइएको छ। गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक लाख ७० हजार ८५१, लुम्बिनीमा ५० हजार ९५०, कर्णालीमा १३ हजार ४६ र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम चार हजार छ सय पशुलाई ‘लम्पी स्किन’ को खोप लगाइएको छ। यसअघि सुदूरपश्चिम प्रदेशमा तीन हजार पशुले मात्रै लम्पीविरुद्धको खोप पाएका थिए। भदौको पहिलो सातासम्म खोप अभियान सञ्चालन हुने भएकाले सो सङ्ख्यामा वृद्धि हुने अनुमान गरिएको छ। 

सङ्क्रमणको उच्च बिन्दुमा पुगेको ‘लम्पी स्किन’ को सङ्क्रमण घट्दो रूपमा देखिएको छ। कुनै समय पाँच लाखभन्दा धेरै पशुमा सक्रिय सङ्क्रमण रहेकामा त्यो घटेर एक लाख ७५ हजार ५५३ मा आइपुगेको छ। 

विभागले १३ लाख पाँच हजार ३६१ पशुलाई ‘लम्पी स्किन’ सङ्क्रमण भएकोमा १० लाख ८२ हजार १५९ पशुले लम्पीलाई परास्त गरेको जनाएको छ। ४७ हजार ६४९ पशु सोही सङ्क्रमणका कारण मरेका छन्। 

स्वस्थ पशुलाई खोप र सङ्क्रमित पशुलाई हेरचाहको क्रम बढेसँगै असार र मध्य साउनसम्म उच्च बिन्दुमा पुगेको ‘लम्पी स्किन’ सङ्क्रमणको दर क्रमिक रूपमा घट्न थालेको हो। लामखुट्टे, झिँगा, भुसुना र किर्नाले टोकेर एक पशुबाट अर्काे पशुमा सार्ने हुँदा किसानले पछिल्लो समय पशुको सरसफाइमा विशेष ध्यान पु-याउन थालेपछि सङ्क्रमणको दरमा कमी आउन थालेको सो क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी बताउँछन्। 

सिन्धुपाल्चोकका पशु प्राविधिक चेत घोरासैनीले पछिल्लो समय ‘लम्पी स्किन’ को सङ्क्रमण क्रमिक रूपमा घटेको बताउनुभयो। मेलम्ची, इन्द्रावती र काभ्रेको मण्डनदेउपुरका स्थानीय तहमा रहेर सेवा प्रदान गरिरहनुभएका उहाँले एक महिनायता लम्पी सङ्क्रमणको फैलावटमा कमी आएको बताउनुभयो। उहाँले किसानले लम्पी रोग लागेपछि सफाइ गर्ने र निरन्तर प्राविधिकसँग सम्पर्कमा रहने भएकाले मृत्युदरमा समेत कमी आउन थालेको स्पष्ट पार्नुभयो।