• २२ पुस २०८१, सोमबार

समृद्धिका लागि सबल शक्तिको नेतृत्व आवश्यक : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, साउन २२ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनपछि जनताको अवस्था परिवर्तन गर्न सबल, देशभक्त र सच्चा शक्तिको नेतृत्व आवश्यक पर्ने बताउनुभएको छ । 

उहाँले अहिले राजनीतिक स्थायित्व नहुँदा समृद्धि र जनताको अपेक्षा पूरा हुन नसकेको चर्चा गर्नुभयो । एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीको सोमबार भएको १४ औँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । 

नेकपा विभाजनदेखि अहिलेका भ्रष्टाचार छानबिन काण्ड, सुनकाण्डसम्म आइपुग्दा को कसरी परिचालित भएको छ भन्ने प्रमाणित हुँदैगएको उहाँको भनाइ छ ।  “अहिलेको गठबन्धन सरकार आफ्ना एजेन्डामा चलेको छैन, अरुकै एजेन्डाको माध्यम बनेको छ” उहाँले भन्नुभयो ।  

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली क्रान्तिको अगुवाइ एमालेले मात्र गर्न सक्ने जिकिर गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) राजनीतिक शक्ति नै नहुने अवस्थामा पुगेको र माओवादी केन्द्र स्खलित भएको दाबी गर्दै उहाँले अब क्रान्तिकारीबीच सच्चा ध्रुवीकरण जरुरी भएको बताउनुभयो । 

“आन्दोलनपछि क्रान्तिकारी र दलालहरू छुट्टिदैगएका छन् । एमालेले नेपाली मोडलको समाजवादको नेतृत्व गर्छ” उहाँले भन्नुभयो । बैठकले एमाले गण्डकी प्रदेश कमिटीको अधिवेशन असोज १५ र १६ गते गर्ने निर्णय गरेको छ । अधिवेशन प्रदेश राजधानी पोखराम हुने तय भएको छ । 

एमाले गण्डकीमा अहिले करिब ५ सय ५० सदस्यीय कमिटी छ । अधिवेशनपछि १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने एमाले गण्डकी प्रचार तथा प्रकाशन विभागका उपप्रमुख पुण्य पौडेलले जानकारी दिनुभयो । 

बैठकले एमाले प्रदेश कमिटीको आफ्नै भवन बनाउने निर्णयसमेत गरेको छ । अहिले प्रदेशको कार्यालय नयाँ बजारको भाडाको घरमा छ । प्रदेश कमिटीको भवन निर्माणका लागि एमाले नेता रामबहादुर गुरुङले ११ लाख ११ हजार दिने घोषणा गर्नुभएको छ । गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सदस्य हुनुहुन्छ ।