• १२ साउन २०८१, शनिबार

कांग्रेस र सेवा दलको धागो

blog

पढ्ने उमेरका केटाकेटी सडक र फोहोर गल्लीमा खेलेर एकअर्कामा तल्लो स्तरको गाली गलौज गरेका तथा कतिपय केटाकेटी आफ्नो उमेर समूहको भन्दा बढी काम गर्न बाध्य भएर वर्तमान र भविष्यलाई एकसाथ नष्ट गरिरहेको दृश्यलाई बिपी कोइराला नजिकबाट नियालिरहेका थिए । यो दृश्यबाट संवेदनशील भएर बिपीले नेपाली बालबालिकाको भविष्य कसरी उज्ज्वल बनाउन सकिन्छ भनी सुवर्णशमशेरलगायत नेतासँग भेटेर लामो कुराकानी गरे । नेताहरूसँगको छलफलपछि बिपीले त्यसको सम्पूर्ण जिम्मेवारी धनमानसिं परियारलाई सुम्पिए । लगत्तै कांग्रेस नेता परियारले त्यसका लागि ठोस योजनासमेत तयार पारे । त्यसपछि विसं २००८ असोजमा बाल सखा दल गठन गरियो । 

स्वतन्त्रता सङ्ग्रामकालमा भारतमा बन्दर सेनाको नाममा बालबालिकालाई देशप्रेमको भावना जगाएर उनीहरूमा समग्र चेतना विस्तार गरे जस्तै नेपालमा बिपीले सक्षम र योग्य नागरिक बनाउन बाल सखा दलको अवधारणा ल्याएको प्रसङ्ग पुरुषोत्तम बस्नेतको पुस्तक नेपाली कांग्रेसको इतिहासको प्रारूपमा उल्लेख छ । 

बस्नेतले पुस्तकमा उल्लेख गरेअनुसार बाल सखा दलले महात्मा गान्धी, सुवासचन्द्र बोस, ईश्वरचन्द्र विद्यासागर, फ्लोरेन्स नाइटिङ्गल जस्ता प्रेरणा दिने व्यक्तिको जीवनी र अनेक बालउपयोगी पुस्तक प्रकाशित गरेर बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पु-याउन कार्यक्रिम सञ्चालन गरेको थियो ।

उबेला बिपीले बालबालिकाको भविष्यप्रति चिन्तित भएर बाल सखा दल खोजेको ७२ वर्षपछि कांग्रेसले गाउँ सेवा दल गठन गर्ने निर्णय गरेको छ । २ साउनदेखि १० साउनसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयको १४ नं बुँदामा भनिएको छ, गाउँ, वडा र टोल तहमा मानवीय सेवाका कार्य अझ व्यवस्थित रूपले सम्पादन गर्न ७५३ वटै स्थानीय तहको कार्य समितिले आफू मातहत गाउँ सेवा दल गठन गर्ने । यो निर्णयपछि कांग्रेस वृत्तमा एउटा प्रश्न सुनिएको छ कि अहिले आएर कांग्रेसका लागि गाउँ सेवा दल नै गठन गर्नुपर्ने आवश्यकता किन प-यो ? एकथरी कांग्रेसजनको बुझाइमा नेता कार्यकर्ता पार्टी छाडेर अन्य पार्टीको जिम्मेवारी तहमा बस्न थालेपछि नेतृत्वमा छटपटी सुरु भएको हो । त्यसैको परिणाम खास गरी युवापुस्तालाई कांग्रेसमै रहने वातावरण बनाउन गाउँ सेवा दलको नौलो अवधारणा ल्याइएको हो । यद्यपि गाउँ सेवा दल गठन गर्ने कुरा कांग्रेसको विधानमा भने छैन । तर बैठकपछि जारी निर्णयको बुँदा नं १० मा साङ्गठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक र भदौ १० देखि २४ गतेसम्म सुमदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने उल्लेख छ । सोही निर्णयका आधारमा कांग्रेसले साउन २० देखि १० दिने साङ्गठनिक सुदृढीकरण अभियान सुरु गरिसकेको छ । त्यसका लागि ७७ जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटिइसकेका छन् । दोस्रो चरण अन्तर्गत भदौ १० देखि २४ गतेसम्म अभियान हुने छ । 

पहिलो चरणमा जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिले पूर्ण रूपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्ने छन् । अपूर्ण रहेको कार्यसमिति छ भने पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने, कतिकतै आन्तरिक विवाद छ भने त्यसको समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरणलगायत काम गर्ने छन् ।

भदौ १० देखि २४ गतेसम्मका लागि तोकिएको दोस्रो चरणको अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय प्रतिनिधिले गतिविधि गर्नुपर्ने सर्कुलर जारी गरिएको छ । दोस्रो चरणलाई कांग्रेसले समुदायमा आधारित राष्ट्रव्यापी अभियान नाम दिएको छ । यो चरणमा प्रतिनिधि समुदायमा जाने, नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरूको कुरा सुन्ने छन् । पार्टीको आन्तरिक जीवनमा आमूल परिवर्तनका एजेन्डा बनाउने, कार्यान्वयन गर्ने र जिल्लाका राजनीतिक तथा समसामयिक विषयमा कांग्रेसले कस्तो उपस्थिति जनाउने भन्नेबारे जिल्लामा भेला भएका केन्द्रदेखि एकाइसम्मका नेताहरूबिच छलफल गराउने कांग्रेसको सर्कुलरमा उल्लेख छ । 

केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार प्रत्येक गाउँ वा नगर समितिले सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय सदस्यले सहजीकरण गर्ने छन् । पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक काममा परिचालन गर्न कांग्रेसले सेवा दल गठनको अवधारणा ल्याएको हो । जनतासँग नजिक भएर काम गर्नु सेवा दलको प्रमुख उद्देश्य हुने कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ । जनताका सुख, दुःखमा पार्टी जोडिनु पर्छ भनेर सेवा दल गठन गर्न लागिएको उनले प्रस्ट पारे । यस्तो गाउँ सेवा दल ७५३ वटै स्थानीय तहका कार्य समितिको अगुवाइमा गठन गरिने छ । ती स्थानीय तह कार्य समितिले आफूमातहत रहने गरी आवश्यकता अनुसार वडा, गाउँ र टोल तहमा मानवीय सेवाका कार्य गर्न सेवा दल गठन गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । सेवा दलले स्थानीय जनप्रतिनिधिसँग आवश्यक समन्वय गर्ने छन् । 

कार्यविधि बन्दै

विभाग प्रमुख विश्वकर्माका अनुसार १८ देखि ४० वर्ष उमेर समूहका युवा कार्यदलमा समेटिने छन् । कार्यदलमा जुन समाजमा जुन समुदायको बाहुल्यता छ ती समुदायलाई प्राथमिकतामा राखिने छ । अनावश्यक तडकभडकभन्दा पनि सेवा दलका सदस्यलाई पार्टीको पहिचान खुल्ने सामग्रीसहित जनताको घरदैलोमा पठाइने छ । 

पार्टीको कुनै समितिको सम्मेलन र भेला गर्नका लागि मात्र नभई जनतासँग सामाजिक काममार्फत कांग्रेसलाई जोड्नु सेवा दलको गठनको प्रमुख उद्देश्य हो । यो पक्षमा पार्टीले जोड दिनुको मुख्य कारण भनेको सेवा दलले पार्टीको काममा कुनै हस्तक्षेप गरेमा भोलिका दिनमा समस्या आउँछ भन्नु नै हो । त्यसैले सेवा दलका सदस्य अनुशासन, संयम र सेवाभावबाट निर्देशित हुने छन् । गाउँपालिका क्षेत्रमा गाउँ सेवा दल भनिने छ भने सहरी क्षेत्रमा फरक नाम दिएर सेवा दलका सदस्य परिचालित हुने छन् । 

मुलुकको भौगोलिक विविधताका कारण ठाउँ अनुसार समाजमा विभिन्न किसिमका समस्या उत्पन्न हुने गर्छन् । मौसम अनुसार बाढीपहिरो, आगलागी, महामारीका घटना हुन सक्छन् । यस किसिमका प्राकृतिक विपत्ति त छँदै छ, सामाजिक रूपमा पनि बेलाबेलामा अनेक खाले समस्या आउन सक्छन् । चेतनाको स्तर जतिसुकै बढेको भए पनि सामाजिक विकृति र विसङ्गतिका रूपमा जरो गाडेर बसेको लैङ्गिक विभेद, घरेलु हिंसा जस्ता समस्या विद्यमान छन् । त्यसकारण प्राकृतिक विपत्ति र सामाजिक विकृति आइपरेका बेला जनतालाई तत्कालै सहयोगको खाँचो परेको हुन्छ । त्यसलाई प्रभावकारी बनाउनु सेवा दलका सदस्यको मुख्य जिम्मेवारी हुने छ । यसरी सेवा दलको जिम्मेवारी, अधिकार र दायित्वसम्बन्धी कार्यविधिको गृहकार्य भइरहेको बताउँछन् प्रचार विभाग प्रमुख विश्वकर्मा । 

कांग्रेसका विद्यार्थी, तरुण, मजदुर, महिलालगायत भ्रातृ तथा शुभेच्छुक संस्थाको मुख्य दायित्व पार्टीको नीति अनुसार काम गर्नु हो । अधिकांश भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समयमा महाधिवेशन भएको छैन । यसो हुँदा योग्य र क्षमतावान् व्यक्ति अवसरबाट वञ्चित हुने अनि गणेश प्रवृत्ति पुरस्कृत हुने पुरानो रोगको अद्यापि इलाज खोजिएको छैन । भ्रातृ तथा शुभेच्छुक संस्थाको औचित्यमाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको छ । यसो हुँदा जनतासँग कांग्रेसको सम्बन्ध टुट्ने खतरा बढेको छ । यही वास्तविकतालाई ध्यानमा राखेर कांग्रेसले जनतासँग जोडिने उद्देश्यले पालिकास्तरमा सेवा दलको नयाँ संरचना खडा गर्न लागेको हो ।

यसबाट प्रस्ट हुन्छ कि, जनतासँग चुड्न लागेको सम्बन्धलाई गाउँ सेवा दलरूपी धागोमार्फत कांग्रेसले निरन्तरता दिन खोजेको छ । पछिल्लो समय भुटानी शरणार्थी समस्या र त्रिभुवन विमानस्थलबाट भएको सयौँ किलो सुन तस्करी प्रकरणका कारण राजनीतिक दल र तिनको नेतृत्वप्रति आमनागरिकको भरोसा धर्मराउन थालेको छ । यसो हुनु भनेको लोकतन्त्र नै कमजोर हुनु हो । त्यस कारण यो अभियानबाट अन्ततः लोकतन्त्रका पक्षमा जनतामाझ आशा जगाउन सकिने कांग्रेसको विश्वास छ ।