• १७ कात्तिक २०८२, सोमबार

सामाजिकीकरण अमूल्य सिप

blog

विकासको बहुआयामिक अर्थ, महत्व र पक्ष हुन्छन् । विविध क्षेत्र र पक्षबाट आमजनतामा सकारात्मक प्रभाव पार्नु नै विकास हो । यस्तो विकास, सामाजिक जागरण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यको सहज उपलब्धता, श्रमको अवसर र सम्मान, धर्म संस्कृति, परम्पराको संरक्षण तथा आममानिसबिच सहिष्णुता भाइचारा कायम हुनु समुन्नत समाजको आधार हो । यी सबैका लागि सामाजिकीकरण आवश्यक छ ।

मानिस एकल रहन सक्दैन । चेतना, विवेक र सिर्जनशील क्षमता भएको मानिसको जन्मदेखि मृत्युपर्यन्त सक्रियता रहन्छ र जीवनकालभरि उसले निर्वाह गर्नुपर्ने भूमिकाको सामाजिकीकरणको चरणबद्ध अभ्यास हो । धार्मिक, सांस्कृतिक विशेषतासँगै मनाइने चाडपर्व, रीतिरिवाजका साथै आर्थिक गतिविधि, मेला पर्व गतिशील समाजको आधार हो र यसैलाई सामाजिकीकरण भनिन्छ । यही सामाजिकीकरण निरन्तर पुस्तान्तरण हुन्छ । धार्मिक आस्था र गतिविधि एकबाट अर्कोमा हस्तान्तरण हुन्छ । सिप, ज्ञान, व्यवसायका साथै सामाजिक व्यवस्था, नैतिकता, अनुशासनका यावत् पक्ष समूहमा बसेर स्वाभाविक रूपमा सिक्ने क्रम निरन्तर जारी रहन्छ ।

मानिसले आफ्नो असल व्यक्तित्व निर्माणका लागि ठुला ठुला विश्वविद्यालयबाट नपाएको सिप समाजबाटै पाउँछ । भौतिक अभौतिक तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सिकिने व्यावहारिक कुरा नै दिगो सिप हो र यो सामाजिकीकरणबाटै सम्भव छ । सामाजिकीकरण जीवनको अमूल्य सिप हो । समाजमा के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने ज्ञान र चेतना यसैबाट प्राप्त हुन्छ ।

सामाजिकीकरण देश, काल, परिस्थिति अनुसार फरक पर्छ । सिक्ने समाजबाटै हो । चाहे नेपाल होस् वा सात समुद्र पार युरोप–अमेरिका आआफ्नै सामाजिक परम्परा र अभ्यास हुन्छ । हिन्दु समाजमा हिन्दु संस्कृति, चाडपर्व, रीतिथिति तथा सांस्कृतिक व्यवहार सिकिन्छ । इसाई, बौद्ध, इस्लाम, जैन, सिख जुनसुकै धर्मका भए पनि सिक्ने भनेको समाज विकासकै लागि भएकाले आआफ्नो परम्परा र मान्यता अनुसारको सिप सिकाइले समाजलाई गतिशील बनाउन मद्दत गर्छ । त्यस कारण मानिसलाई सामाजिक प्राणी भनिएको हो । समाजबिना मानिसको जीवन व्यर्थ मात्र होइन कल्पना पनि गर्न सकिन्न । सामाजिकीकरणबाट अलग राखियो भने मानिसले मानिस हुनुको गुण नै बिर्सन्छ । 

सिकाइको पहिलो पाठशाला समाज हो । समाज आफैँमा विविधतायुक्त हुन्छ र त्यही विविधताबिचबाट मानिस आफ्नो कर्मले स्थापित हुन्छन् । मानिस मानिसबिचको सम्बन्ध सुमधुर बनाउन, मित्रभाव जगाउन र बढाउन सामाजिक भावना हुनै पर्छ र त्यसका लागि सामाजिकीकरण आवश्यक छ । आफूभन्दा सानालाई माया गर्ने, ठुलालाई आदर गर्ने, सरसफाइ, शान्ति, मैत्रीपूर्ण व्यवहार, सहयोगी भावना, अनुशासन, उच्च नैतिक चरित्रको विकास समाजबाटै हुन्छ ।

समाज घर परिवारको समूह हो । अनेकानेक स्वाभाव, क्षमता भएका मानिसहरूको मिश्रणबाट बन्ने गतिशील भूगोल हो । त्यसैले मानिसलाई सामाजिक प्राणी भनिन्छ र सामाजिक मानिसबाट शान्ति, विकास, अनुशासन, मर्यादा, सहिष्णुताको चाहना गरिन्छ । यस्तो चाहना सामाजिकीकरणको मर्म हो । यसको पूर्ण पालना र अभ्यासले समाज शान्त हुन्छ । बिनाभेदभाव मानिसहरू सामाजिक कार्यमा उद्यत हुन्छन् । पुस्तान्तरण हुँदै आउने यो ज्ञान–क्षमता सामाजिकीकरणबाट सिकिने अमूल्य सिप हो । 

सामाजिकीकरण मानिसको अपेक्षा अनुसार सम्बन्धित समाजमा सोही अनुसारको व्यवहार गर्न र त्यसलाई ग्रहण गर्न सघाउ पु¥याउँछ । जहाँ रह्यो त्यही समाजमा अभ्यस्त हुने जीवनको अभिन्न र सर्वाधिक महत्वपूर्ण सिप सामाजिकीकरण जन्मदेखि मृत्युसम्म लगातार चलिरहन्छ । जीवनको सबभन्दा महत्वपूर्ण ज्ञान नै यही र यो ज्ञान समाजमा एकबाट अर्को स्वचालित रूपमा हस्तान्तरित हुँदै आउँछ ।

समाजले सिकाउने ज्ञान सर्वाधिक महत्वपूर्ण छ । यदि त्यस्तो नहुँदो हो त कुनै विद्यालयको ढोकासमेत नदेखेका मानिसहरूले उत्कृष्ट कार्य कसरी गर्न सक्थे ? आफ्ना पिता–पुर्खाबाट सिक्दै आएका व्यावहारिक ज्ञान कुनै विद्यालय–विश्वविद्यालयको पढाइभन्दा त्यसै कारण सशक्त हुन्छ । आजभोलि समाज व्यवस्थाको विशिष्ट पक्ष सामाजिकीकरण हराउँदै गएको छ । मानिस एकल बन्न थालेका छन् । सूचना प्रविधिको विकास, भौतिक पूर्वाधारको सुविधा तथा देखावटीपनले मानिसलाई एकाङ्की बनाउँदै गएको छ । यसले समाज व्यवस्था भत्किँदै जान थालेको छ । नैतिक, सामाजिक शिक्षाको अभाव छ । केवल व्यक्तिवादी बन्दै देखावटीमा भुलिरहेका छन् । हैसियत भुलेर बनावटी जीवन बाँच्न चाहनेहरूका कारण सामाजिकीकरणको गहनता ओझेलमा पर्दै गएको छ । सकारात्मकता र ‘बहुजन हिताय’ को सिद्धान्त सामाजिकीकरण हो । यो पक्ष धूमिल हुँदै गएको छ ।

सामाजिक अमनचयन, आपसी सद्भाव र भाइचारा बढाउन अहिंसात्मक गतिविधि र शान्तिप्रिय व्यवहार आवश्यक पर्छ । जहाँ अहिंसा हुन्छ, त्यहाँ शान्ति हुन्छ र जहाँ शान्ति हुन्छ त्यहाँ हिंसा हुँदैन । अहिंसा र शान्ति विश्व मानवजीवनदेखि हरेक व्यक्तिका लागि अति महत्वपूर्ण हुन्छ । जो व्यक्तिमा अहिंसात्मक सोच छ ऊ शान्तिप्रिय हुन्छ । अहिंसात्मक सोच र शान्तिप्रिय व्यवहार भएका मानिसहरू बसोबास गर्ने समाज शान्तिपूर्ण, सहिष्णु र सुखी हुन्छ । यो नै सामाजिकीकरणको विशेषता हो र व्यावहारिक क्षमता हो ।

मानव समाजमा अहिंसा र शान्तिको अत्यन्त ठुलो महत्व छ । यी दुई विकासका गतिशील आयाम हुन् । अहिंसा र शान्तिले मानिसको व्यक्तिगत जीवनदेखि लिएर समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्सम्मको विकासका साथै सद्भाव, सहिष्णुता र सहअस्तित्वमा गहिरो प्रभाव पार्छ । जसरी विश्वका विभिन्न कुनामा मच्चिइरहेका युद्धको बाछिटा अन्य देशमा परिरहेको छ, त्यस्तै अहिंसा र शान्तिको प्रभाव पनि बढ्दै जान्छ । सामाजिकीकरण पनि त्यस्तै हो । सकारात्मक कामहरूबाट आफ्नो समाजलाई गतिशील, समुन्नत, शान्त र विकसित तुल्याउँदै धार्मिक, सांस्कृतिक पक्षहरूको संरक्षणमा सबै एकजुट हुने हो भने त्यसको प्रभाव अन्यत्र पनि पर्छ । शान्ति, भातृत्व र अहिंसाको विकास हुने छ । यसका लागि समाजकै अग्रसरता प्रमुख आधार हो ।

समुन्नत, सहिष्णु र गतिशील समाजका लागि शान्ति पहिलो आधारशिला हो । शान्तिका लागि हरेक मानिसमा सामाजिकीकरणको भावना जागृत हुनु पर्छ । जहाँ अहिंसा हुन्छ, त्यहाँ द्वन्द्व, कलह वा युद्ध हुँदैन यस्ता गतिविधि नभएपछि स्वतः शान्ति स्थापित हुन्छ । अस्वस्थ प्रतिस्पर्धा, ईष्र्या, भौतिक उन्नतिको अहङ्कारले प्रवेश पाउँदैन ।