• १३ असोज २०८१, आइतबार

चामल आयात आधाले घट्यो

blog

काठमाडौँ, साउन ११ गते  । गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपियाँको हाराहारीमा झरेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएकोे थियो ।

गतवर्ष धानको उत्पादन बढेकाले पनि चामल आयातमा कमी आएको हो । गत आवमा  विभिन्न मुलुकबाट ५६ अर्ब रुपियाँभन्दा धेरैको खाद्यान्न (धान, गहुुँ, मकै, कोदो, जौ, कनिका) आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गएको आव २०७९/८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपियाँको खाद्यान्न आयात गरेको छ । 

आव २०७८/७९ मा ७४ अर्ब २८ करोड ३७ लाख सात हजार रुपियाँको आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा समग्र खाद्यान्न आयातमा २४ प्रतिशत अर्थात् १८ अर्ब रुपियाँ बराबरको कमी भएको छ । 

आव २०७९÷८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले आयातमा गरिएको कडाइ र भारत सरकारले गहुँ आयातमा लगाइएको प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी आएको छ । एक वर्षमा झन्डै ३७ अर्ब रुपियाँको धान, चामल, चिउरा र कनिका आयात भएको तथ्याङ्क छ । ९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । गत आवमा २० अर्ब ७५ करोड ८० लाख रुपियाँको धान आयात भएको विभागको तथ्याङ्क छ । 

अघिल्लो वर्ष १६ अर्ब ९९ करोड ७२ लाख रुपियाँको धान आयात भएको थियो । गत वर्ष अघिल्लो वर्षको तुुलनामा चार अर्ब रुपियाँ बराबरको धान आयात बढेको छ । 

गत आवमा १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपियाँको मकै आयात भएको छ । अघिल्लो वर्ष १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपियाँको मकै आयात भएको थियो । यस्तै गत वर्ष २८ करोड ९८ लाख रुपियाँ बराबरको गहुँ र गहुँको बीउ आयात भएको छ । अघिल्लो वर्ष छ अर्ब ३२ करोड ६२ लाख रुपियाँको गहुुँ आयात भएको थियो । गतवर्ष भारतमा गहुुँ उत्पादन कम भएपछि अन्य देशमा निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसको कारण पनि गहुँको आयातमा कमी भएको हो । यस्तै गत आवमा २७ करोड ६६ लाख रुपियाँ बराबरको जौ आयात भएको छ । धान, चामल, गहुँ, कोदो, मकै, गेडागुडीलगायतका वस्तु खाद्यान्नको सूचीमा पर्दछन् । इन्डोनेसिया, भियतनाम, चीन, इटाली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ ।

यस्तै गत आवमा दुई अर्ब ५५ करोड रुपियाँको दुग्धजन्य पदार्थ, ३१ अर्ब ८७ करोड रुपियाँको तरकारी र २० अर्ब ५६ करोड रुपियाँको फलफूल आयात भएको छ । 

यस्तै झन्डै नौ अर्ब रुपियाँको चिया, कफी, झन्डै ८७ अर्ब रुपियाँको घिउ, तेल र पाँच अर्ब रुपियाँको चिनी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि हरेक वर्ष ठुुलो परिणाममा खाद्यान्न आयात हुने गर्छ ।