गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु प्रहरीले ठूलो परिमाणमा पटाका, आतिसवाजी र राजस्व छली गरी ल्याइएका सामानसहित एक जनालाई पक्राउ गरेको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित एक गोदाममा अवैध रूपमा पटाका जन्य विष्फोटक पदार्थ तथा कपडालगायतका सामानहरू भण्डारण र बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
उक्त टोलीले असोज २७ गते साँझ ताहाचलमा छापा मार्दा विभिन्न प्रकारका आतिसवाजी, पटाका, कपडा, खाद्यान्न र नगदसहितका सामग्री फेला पारेको हो।
प्रहरीले भारतको राजस्थान चुरु जिल्ला स्थायी वतन भई हाल काठमाडौं–१३ ताहाचलमा बस्ने ४८ वर्षीय सुनिल कुमारलाई पक्राउ गरेको छ। उनी उक्त गोदाम भाडामा लिएर सञ्चालन गर्दै आएका थिए।
पक्राउ परेका कुमारको गोदामबाट बरामद सामानमा विभिन्न प्रकारका पटाका तथा आतिसवाजी १२७१ प्याकेट, पाउडर दूध १६० प्याकेट, प्लास्टिक कभरमा विभिन्न रङका टी–शर्ट ३२० थान, बट्टामा प्याक गरिएको काजु ४० के.जी., नेपाली नगद दुई लाख र भारतीय रूपियाँ २५ हजार ५ सयसमेत समावेश रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई विष्फोटक पदार्थसम्बन्धी कसूर र राजस्व छलीसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।