• १५ मंसिर २०८१, शनिबार

ललितपुरमा महिला उद्यमी सम्मेलन

उद्यमीलाई उद्यम गर्न महानगरले बिउ पुँजी दिने

blog

महिला उद्यमी सम्मेलनको उद्घाटन अवसरमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन ।

ललितपुर, साउन ८ गते । ललितपुर महानगरले सोमबार महिला उद्यमी सम्मेलन आयोजना गरेको छ । महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलनको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । महिला उद्यमीलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम आयोजना गरेको बताउनुभयो । 

कार्यक्रमकी अध्यक्ष तथा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीको उत्पादन बजारीकरण गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो सम्मेलन सम्मेलन मात्रै नभएर उद्यमीहरूको अनुभव। ज्ञान सीप आदान प्रदान गर्ने थलो समेत भएको प्रस्ट पार्नुभयो । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेल अर्यालले महानगरले व्यक्तिलाई सीपसँग, सीपलाई प्रविधि र बजारसँग जोड्ने काम गरेको बताउनुभयो । तालिम लिएपछि उद्यम गर्न चाहनेका लागि बिउ पुँजी समेत व्यवस्था गरेको बताउनुभयो । 



नेपालका लागि ईयूका राजदूत नोना देपरेज, नेपालका लागि अस्ट्रेलियन राजदूत पेलिसिटी भल्क, युएनडपीका आवासीय प्रतिनिधि आसियानी मेदागानगोडा लाबे विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो ।

उहाँहरूले महिला उद्यमीको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहकार्य र समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा सफल उद्यमीको सङ्घर्ष तथा सफलताको कथा भिडियो सामग्री प्रदर्शनी गरिएको थियो । ‘महानगरका महिला उद्यमीहरूको अवस्था र महिला उद्यमशीलता सहजीकरण केन्द्रको कार्यक्रम तथा प्रगतिमाथि प्रस्तुतीकरण गरिएको थियो ।

सम्मेलनमा पूर्व सचिव यामकुमारी खतिवडाले ‘उद्यम व्यवसाय सञ्चालन र व्यवस्थापनमा उद्यमीको भूमिका र सरोकार निकायको दायित्व’ विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणा तथा डाँफे वर्ककी कृतिष्मा कार्कीले सफल महिला उद्यमीहरूको उत्प्रेरणात्मक प्रस्तुतीकरण दिनुभएको थियो । 

कार्यक्रमको दोस्रो सत्रमा महिला उद्यमीहरूको व्यवहारिक समस्या र सरोकारवाला निकायको भूमिका विषयमा प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा ललितपुर महानगरका उपप्रमुख, राष्ट्र बैङ्कका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका प्रतिनिधि, कर कार्यालय ललितपुरका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनका क्रममा सफल उद्यमीलाई सम्मान पनि गरिएको थियो ।