नेपालको राजनीतिमा पछिल्लो समय विभिन्न ढङ्गबाट राजनीतिक छाल तरङ्गित भइरहेका छन्। फेद र टुप्पोबिनै जनतामा भ्रम छर्ने गलत राजनीतिक अभ्यास गर्ने क्रम पनि बढ्दो छ। पुराना राजनीतिक शक्तिलाई गाली गरेर कुनै ठोस योजना र लक्ष्यबिनाका युवा र नयाँ तथा वैकल्पिक शक्तिको नाममा उदाएका केही व्यक्तिको उग्रता पनि अशोभनीय छ। राजनीति सबै नीतिको मूल नीति हो। यो भावनाका छालमा लहरित भएर किनारा पुग्ने विषय पनि होइन। कुशल राजनीतिज्ञमा योजना हुनु पर्छ, विचार हुनु पर्छ र सबैभन्दा बढी जनअपेक्षीय चाहनालाई फत्ते गर्ने हुटहुटी। त्यस्तो पार्टीका रूपमा नेपाली जनतामाझ नेपाली कांग्रेस छ।
कांग्रेसको जिरह सधैँ जनताको पक्षमा काम गर्नु हो। मुलुकमा प्रजातन्त्र ल्याएर जनताका लागि जनताले नै शासन गर्ने प्रणाली ल्याउन कांग्रेसले २००७ सालअघि खेलेको भूमिका निकै उच्च छ। कांग्रेसको त्याग र बलिदानीका कारण १०४ वर्षीय जहानियाँ राणा शासनको अन्त्य गरी २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भयो। नेपाली कांग्रेसले २००७ साल कात्तिक २१ गते रौतहटको सीमावर्ती क्षेत्र भारतको वैरगनियामा सम्मेलन गरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने ऐतिहासिक निर्णय गरेको विषय इतिहासका पानामा जगजाहेर छ।
कांग्रेस जाग्दा साढे चार महिनामै २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भयो। त्यसपछि कांग्रेसकै नेतृत्वमा अधिकांश उपलब्धि प्राप्त भएका छन्। निरङ्कुश पञ्चायती शासनविरुद्ध विगुल फुकेर प्रजातन्त्र पुनस्र्थापना गर्न होस् वा नेपालको संविधान निर्माण गर्दा होस् कांग्रेसकै नेतृत्व मुलुकका लागि आवश्यक रह्यो। त्यति मात्र होइन, सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्दै सङ्घीय प्रणालीको सफल कार्यान्वयनमा पनि कांग्रेसको अग्रगामी भूमिका रहेको जगजाहेर छ। नेपालमा पहिलो विश्वविद्यालय स्थापनादेखि शिक्षामा आमूल परिवर्तन ल्याउन कांग्रेसको ठुलो भूमिका छ। बिर्ता उन्मूलन, छाउपडी प्रथाको अन्त्य, हलिया प्रथाको अन्त्य, कमैया मुक्तिलगायत थुप्रै उपलब्धिको भान कांग्रेसले नै गरायो। मधेशी, दलित र जनजातिको अधिकार प्राप्तिमा कांग्रेसको महत्वपूर्ण योगदान छ।
यस्तो गर्बिलो इतिहास बोकेको कांग्रेसको वर्तमान अवस्थाप्रति भने चिन्ता व्यक्त हुन थालेको छ। पछिल्लो समय पार्टीभित्र नातावाद कृपावाद हाबी हुँदै गएको छ। कांग्रेसको वर्तमान अवस्थाबारे चिन्ता गर्दा कतै अलमलिएको हो कि ? कतै बाटो बिराएको हो कि ? कतै विचार र सिद्धान्तभन्दा बाहिर रही गुट र उपगुटमा रुमलिएको हो कि भन्ने भान हुन थालेको छ। देशभर कांग्रेसका ८ लाख ६५ हजार क्रियाशील सदस्य छन्। १० हजार ६४ वडा सदस्य, २६ सयभन्दा बढी वडाध्यक्ष, ३२९ स्थानीय तह, १७८ प्रदेश, ८८ प्रतिनिधि सभा सदस्य निर्वाचित छन्। कांग्रेसका ६ हजार ७४३ वडा सभापति, ७५३ नगर/गाउँ समिति, ३३० क्षेत्रीय प्रदेश समिति, १६५ क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समिति, केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था भएको देशकै सबैभन्दा ठुलो पार्टीमा वर्तमान अवस्थामा युवाको आकर्षण घट्नु, पार्टी परित्याग गर्नु, नागरिकको आकर्षण घट्दै जानु र पार्टी कार्यकर्तामा नैराश्यता पैदा हुनु चिन्ताको विषय बनेको छ। यस्तो सङ्गठन र संरचना भएको पार्टीको गाउँ–गाउँमा विचार प्रवाहित हुन नसक्नुमा कांग्रेसको नेतृत्व कता चुकिरहेको छ ? भन्ने प्रश्न आमजनता र कांग्रेसमा उठिरहेको छ।
कांग्रेसभित्रको गुटबन्दीका कारण वर्तमान अवस्था निकै जरजर छ। वडादेखि केन्द्रसम्मै पार्टीभित्र आफ्नो पकेटका मानिसलाई अवसर दिने र काखी च्याप्ने प्रवृत्ति बढ्दो छ। जुन लोकतान्त्रिक पार्टीको मर्मविपरीत हो। महामानव बिपी कोइरालाले कुनै बेला नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त अवसरवादी हुन् या त दास हुन् भन्नुभएको थियो। अहिलेका नेता र कार्यकर्ताको भूमिकाले कांग्रेस कतै दासको पार्टी त भइरहेको छैन भन्ने भान हुन थालेको छ। कांग्रेसभित्र प्रशिक्षण हुँदै छोडेको छ। पार्टीबाट निर्वाचित जनप्रतिनिधि आफ्नै बलबुतामा जितेको भ्रममा रहेका जस्ता देखिन्छन्। उनीहरूले पार्टीको घोषणापत्र अनुरूप काम गरिरहेको पाइँदैन र कांग्रेसले समेत अनुगमन गरेर सही मार्गमा ल्याउन सकेको छैन। सरकारको नेतृत्व गरिरहेको कांग्रेस मुलुककै ठुलो दल हो। उसप्रति जनताको ठुलो अपेक्षा छ तर कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई जनताले टर्च बालेर खोज्नुपर्ने अवस्थालाई नकार्न मिल्दैन। कांग्रेसप्रति जनताको जुन खाले अपेक्षा थियो सो अनुरूप कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्न सक्नुभएको छैन।
सरकारमा सहभागी मन्त्रीले आफ्नै कार्यकर्ताको भावनालाई कुल्चिरहनुभएको छ। भोलि फेरि जनता र तिनै कार्यकर्ताको माझमा जानु पर्छ भन्ने हेक्का उहाँहरूमा नभएको भान हुन थालेको छ। आसेपासेले भनेको आवाज मात्रै मन्त्रीको कानमा गुन्जिनु गलत हो। मन्त्रीको कानमा आम कार्यकर्ता र जनताको आवाज गुन्जिनु पर्छ र त्यो व्यवहारमा पनि मुखरित हुनु पर्छ। हामीले निरासा मात्रै देख्नु हुँदैन, यसैभित्र आशा खोज्नु पर्छ। हाम्रो नेतृत्व र सरकारमा सहभागी मन्त्रीको व्यवहार सच्चिनु पर्छ।
आज नेपाली राजनीतिका अजम्बरी योद्धा बिपीको ४१ औँ स्मृति दिवस मनाउँदै गर्दा अहिलेको कांग्रेस, बिपीको सपना र जनअपेक्षाका बारेमा परिचर्चा गरिरहेका छौँ। बिपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादलाई आफ्नो पार्टीको जीवन मानी नेपालबाट गरिबीको अन्त्य, विभेदको अन्त्य, नागरिक स्वतन्त्रता, मानव अधिकारको सुनिश्चितता, प्रजातान्त्रिक शासन व्यवस्थाद्वारा नेपाल र स्वाभिमानी सक्षम नेपाली, हरेक नेपालीको घरमा दुहुनु गाई, रोजगारी, बिरामी हुँदा औषधीमूलो गर्ने थोरै रकम, छोराछोरीलाई शिक्षा दिन सकिने नेपाली माटो सुहाउँदो प्रजातन्त्र र समाजवादको सपनाको उद्देश्य बोकेको कांग्रेस निर्माण गर्नु बिपीको सपना थियो। बिपीको राजनीतिक पक्षको कुरा गर्दा २०३३ सालमा लिएको राष्ट्रिय मेलमिलापको नीति निकै चर्चित छ। मेरो र राजाको घाँटी जोडिएको छ भन्ने बिपीको भनाइइतरका राजनीतिक व्यक्ति तथा पार्टीका लागि सर्वाधिक विरोधको विषय बनेको थियो।
भारतीय स्वतन्त्रताको सङ्ग्राममा सरिक हुँदै बिपीले भारतमै बसेर नेपाली राष्ट्रिय कांग्रेसको गठन गर्नुभयो। यही नेपाली राष्ट्रिय कांग्रेस पछि नेपाली कांग्रेसमा परिणत भयो। भारतका थुप्रै राजनीतिज्ञसँग उहाँको निकटतम सम्बन्ध थियो। सुरुमा बिपीलाई भारतले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि सहयोग गर्छ भन्ने विश्वास थियो तर धेरै समयपछि यस विषयमा भारत सकारात्मक छैन भन्ने बुझेर राजासँग मत भिन्नता हुँदा पनि प्रजातान्त्रिक आन्दोलन नेपालभित्र बसेरै गर्नु पर्छ भनेर २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अगाडि सारी नेपाल फर्किनुभएको थियो। यसले उहाँ राष्ट्रप्रति कति जिम्मेवार थिए भन्ने पुष्टि हुन्छ। बिपी नेतृत्वको तत्कालीन कांग्रेसको सरकार विश्व जगत्मा आएको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको अवधारणा अनुसार राष्ट्रलाई आत्मनिर्भर बनाउने दिशामा अग्रसर भएर काम गरेको थियो। उपनिवेश स्वतन्त्र हुने र नयाँ राष्ट्र बन्ने क्रमले प्रश्रय पाएको त्यति बेलाको विश्व परिवेशमा नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासका आधार तयार गर्ने कुरामा चिन्तक एवं राजनेता बिपीको सोचले ठुलो मद्दत पु¥यायो। लोकतन्त्रका लागि यस्तो बलिदानी दिएका बिपीको योगदानलाई कांग्रेसले बेवास्ता गर्नु हुँदैन। जनअपेक्षा अनुसार काम गर्नु पर्छ। नीति, नेतृत्व र कार्यक्रम समयको माग अनुसार परिवर्तन भएन भने त्यो राजनीति दलको पतन हुन्छ।
राजनीतिक दलको नीति कम्प्युटरको सफ्टवेयर जस्तै हुन्छ। समयानुकूल परिवर्तन नहुँदा जीर्ण अवस्थामा पुग्छ। विश्वका धेरै मुलुकमा परिवर्तनको नेतृत्व गरेका दलले आफ्नो नीति र कार्यक्रमलाई परिष्कृत गर्न नसक्दा आफ्नो भूगोलबाटै विलीन भएका कैयौँ उदाहरण छन्। चाइनको ‘कोमिङताङ’ पार्टीको इतिहास उदाहरणका रूपमा हेर्न सकिन्छ। भारतमा ब्रिटिस उपनिवेशीय शासनविरुद्ध भारतीय कांग्रेस आई वर्षौं लड्यो। भारतलाई स्वतन्त्रता प्रदान गर्न, लोकतन्त्रलाई संस्थागत, र अर्थतन्त्रको जग बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भारतीय कांग्रेस आज निकै सङ्कटमा छ। भारतीय कांग्रेसले आफ्नो नीति, कार्यक्रम र नेतृत्व चयन गर्ने प्रक्रियामा परिवर्तन गर्न नसक्दा यस्तो समस्या आएको हो। आमा सोनिया र छोरा राहुलले आफ्नो वरिपरि पार्टीलाई घुमाउँदा यो समस्या आएको हो। नेपाली कांग्रेसमा यस्तो अवस्था नभए पनि जनअपेक्षा अनुसार काम भने गर्न नसकेकै हो। त्यसैले यो अवस्थाको अन्त्य गर्दै जनपेक्षा अनुसार काम गर्नु पर्छ।
नेपालमा अहिले जनताले सुशासन खोजिरहेका छन्। विकास र समृद्धि खोजिरहेका छन्। भ्रष्टाचारमुक्त नेपाल खोजिरहेका छन्। अपराधमुक्त नेपाल चाहिरहेका छन्। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराको सहजता र सुलभता खोजिरहेका छन्। परिवार र आफन्तको वरिपरि घुमिरहेको राजनीति अन्त्य होस् चाहिरहेका छन्। दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलाएन भइरहेको छ, त्यसलाई रोकेर देशमै स्वरोजगारको अवस्था सिर्जना होस् चाहेका छन्। नेपाली जनतका अन्य धेरै ठुला अपेक्षा केही छैनन्। यी साना मसिना काम गर्न पनि हाम्रो नेतृत्व सक्षम तथा जागरुक देखिँदैन। त्यसैले जनतामा चरम नैराश्यता बढ्दो छ। कुनै बेला नेपालले बिपीलाई समाजवादी आचरण भएको प्रधानमन्त्रीका रूपमा पाएको थियो। बिपीको कार्यकालमा अनेकाैँ विकास निर्माणका काम प्रराम्भ भएका थिए। बिपीले स्वाधीन अर्थतन्त्र र स्वावलम्बी नेपाल बनाउने समाजवादी सपना देख्नुभएको थियो तर कांग्रेस स्वयम् नेतृत्वमा बनेका नवउदारवादी आर्थिक, औद्योगिक र विकासका नीतिहरूले स्वाधीन अर्थतन्त्र र स्वावलम्बी नेपाल निर्माण गर्ने बिपीको समाजवादी सपनालाई निषेध गरियो। जसको परिणाम आज देश परनिर्भर बन्न पुगेको छ। जनताका समृद्धिका सपना भताभुङ्ग भएको छ। बिपीको सपनामा इँटा थप्नुपर्नेमा कांग्रेसले अपेक्षाकृत काम गर्न सकेन र अहिलेसम्म पनि कांग्रेसले उहाँको नाम भजाइरहेको छ। अब त्यो परिस्थितिको अन्त्य हुनु पर्छ। कांग्रेस परिमार्जित र परिष्कृत हुनु पर्छ। जनपेक्षा अनुसार काम गर्नु पर्छ।
लेखक शङ्करदेव क्याम्पसका स्ववियु सचिव हुनुहुन्छ।