काठमाडौँ, वैशाख ९ गते । वीर अस्पतालले कान नसुन्नेका लागि लक्षित गर्दै कक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा.दिपेन्द्र श्रेष्ठले विभिन्न कारणले सुनाइमा समस्या भएका व्यक्तिलाई लक्षित गर्दै यो सेवा सुरु गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त उपकरण कानै नसुन्ने व्यक्तिलाई शल्यक्रिया मार्फत प्रत्यारोपण गरिन्छ ।
अस्पतालले उक्त उपकरण आधा मूल्यमा प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “सामान्यतय यो उपकरणको साढे १२ लाख मूल्य पर्छ । तर सरकारले यसको खरिदमा ५० प्रतिशत अनुदान दिएकोले बिरामीले छ लाखमा नै कान सुन्न सक्ने उपकरण प्रत्यारोपण गर्न सक्छन् ।”
साथै अस्पतालले शल्यक्रियाद्वारा उक्त उपकरण प्रत्यारोपण गरेपछि ५० हजार बराबरको स्पिच थेरापी सेवा निःशुल्क व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
यसअघि सरकारी अस्पतालमा कक्लियर इम्प्लान्ट सेवा त्रिवि शिक्षण अस्पतालमात्रै उपलब्ध थियो ।
कस्तो अवस्थामा कक्लिअर इम्प्लान्ट राख्नुपर्छ
मानिसको कानभित्र कक्लिया हुन्छ जसको माध्यमबाट मानिसले अरूले भनेको कुरा सुन्ने गर्छन् । कक्लिया बिग्रिएमा विस्तारै श्रवणशक्ति हराउँदै गएर कानै नसुन्ने गराउँछ ।
डा.श्रेष्ठका अनुसार कक्लिया विभिन्न कारणले बिग्रने गर्छ । यस्तो समस्या जन्मजात, वंशाणुगत कारण हुने उहाँको भनाइ छ । जन्मजात कक्लिया राम्रोसँग शिशुको विकास नभएर, कतिपय अवस्थामा विभिन्न खालका सङ्क्रमणले कक्लियामा समस्या आउने डा.श्रेष्ठ बताउनुहुन्छ ।
बच्चामा अक्सिजनको मात्रा नपुगेमा पनि यस्तो समस्या निम्तने उहाँको भनाइ छ । त्यसैगरी, अत्याधिक ज्वरो आउने, मेनेन्जाइटिस हुने, रुबेला, हाँडेका कारणले कक्लियामा क्षति पुग्ने उहाँको भनाइ छ । कक्लियामा क्षति पुगेमा दीर्घ रूपमा कान नसुन्ने समस्या निम्तने उहाँ बताउनुहुन्छ । दीर्घ रूपमा काम नसुन्ने समस्याको एकमात्र विकल्प कक्लियर इम्प्लान्ट हो ।
यसले कसरी काम गर्छ
कक्लियर इम्प्लान्ट यदि कुनै पनि उपकरणले काम गरेन भने अन्तिम अवस्थामा श्रवणशक्ति फर्काउन प्रयोग गरिन्छ । उहाँ भन्नुहुन्छ, “कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवण यन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्छ ।”
यो उपकरण शल्यक्रिया गरेर कानको भित्रि भागमा जडान गरिन्छ । यो डिभाइस जडान गरिसकेपछि बाहिरबाट आएको आवज ब्रेनसम्म पुर्याउने काम गर्छ । उहाँ भन्नुहुन्छ, “कक्लियाले बाहिरी कानबाट भित्र जाने मेकानिकल इनर्जीलाई इलेक्ट्रोनिक्स इनर्जीमा बदलेर ब्रेनमा पुर्याउँछ ।”
कोक्लियर इम्प्लान्ट कानको शल्यक्रिया गरी प्रत्यारोपण गरिन्छ । यो शल्यक्रिया पश्चात प्रत्यारोपण गरिएको कक्लिअर मेसिनले ठिकसँग सुनियोस् भनेर ५० हजार बराबरको स्पिच थेरापी निःशुल्क दिइने व्यवस्था गरेको उहाँको भनाइ छ ।