• २३ असार २०८१, आइतबार

प्रतिनिधि सभा बैठक : लम्पीस्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग

blog

काठमाडौं, असार २९ गते । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पि स्किन रोगको रोकथामका लागि सरकारले उदासीनता देखाएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै प्रमुख सचेतक गिरीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकार उदासिन भएको बताउनुभएको हो । उहाँले लम्पिस्किन रोगबाट किसानहरुलाई ३७ अर्ब बराबरको क्षति भइसकेको भन्दै अझै पनि पशुहरुलाई प्रभावकारी ढङ्गले खोप लगाउन नसकिएको बताउनुभयो । उहाँले गाउँगाउँमा प्राविधिकहरु समेत पठाउन नसकेको भन्दै सरकारलाई यसप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट अभाव भएमा निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर गरेर भए पनि नियन्त्रणका लागि लाग्नुपर्ने बताउनुभयो ।

‘‘विपन्न र गरिब जनताहरु, ती किसानहरुले ती पशु चौपायाबाट ३७ अर्ब बराबरको क्षति भएको छ । यस्तो विकराल स्थिति हुँदाखेरी पनि सरकारले यसलाई जसरी गम्भीरताका साथ लिनुपर्थ्याे र जुन तदारुकता देखाउनुपर्थ्याे । जुन ढङ्गले उपचारको काममा लाग्नुपर्थ्याे, खोपहरु जसरी प्रभावकारी ढङ्गले वितरण गर्नुपर्थ्याे सरकारले यसमा उदासीनता देखाएको कारणले किसानहरुले ३७ अर्बभन्दा बढीको क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।,’’ सांसद गिरीले भन्नुभयो, ‘‘ सरकारले समयमै सजगता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने अवस्था थिएन । जम्मा दुई लाख २२ हजार पशुलाई खोप लगाएको छ । खोप अत्यन्त अपर्याप्त छ । लगाउने गति पनि साह्रै सुस्त छ । गाउँमा जुन ढङ्गले प्राविधिकहरु पठाउनुपर्थ्याे सरकारले प्राविधिकहरु पठाएको छैन । खोप आवश्यक मात्रामा पठाएको छैन । औषधि र मल्हमपट्टी पठाउने काम गरेको छैन । यसतर्फ सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’’

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न माग गर्नभयो । उहाँले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछालाई पनि कारबाही गर्न माग गर्नुभयो ।

सांसद खतिवडाले भन्नुभयो, ‘‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्र सरकारले ध्यान दिएको देखिन्छ । त्यहाँका ठूला माछाहरुलाई पनि कारबाही गरेर, व्यापारीहरुलाई मात्र होइन, किन्नेलाई मात्र होइन, सरकारको राजस्व तिरेर किन्ने अनि तिनीहरुलाई कारबाही गर्ने । व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मूलीहरु को हुन् तिनीहरुलाई कारबाहीको व्यवस्था गरोस् ।’’

नेकपा(माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले दलित समुदायप्रतिको ज्यादतीले सीमा नाघेको बताउनुभयो । उहाँले दलित समुदायका व्यक्तिले अन्तरजातीय विवाह गरेमा विभिन्न झुटा मुद्दा लगाएर फसाउने गरिएको भन्दै उसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस्ता घटना घट्न नदिन संसदीय विशेष समिति नै आवश्यक परेको बताउनुभयो । त्यस्तै, जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ लाई निर्भीक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकको कार्यसूचीमा मिटरब्याज सम्बन्धी विधेयक नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले संसद्को आगामी बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याएमा संसद् बैठक चल्न नदिने चेतावनी दिनुभयो । उहाँले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताउनु भयो ।

‘‘सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउनको निमित्त आह्वान गर्न चाहन्छु । हामी यसको पक्षमा छौँ । पीडितहरुको पक्षमा छौँ । मिटरब्याजको पीडाबाट जसरी जीवन–मरणको दोसाँधमा नागरिकहरु पुगेका छन् । उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ यसलाई छिट्टै फास्ट्याकमा  ल्याएर प्रतिस्थापन विधेयकमार्फत १५ दिनभित्र सम्पन्न गर्न सकिन्छ भन्ने कुराको प्रतिबद्धता हामीले व्यक्त गरिसकेका थियौँ ।,’’ सभापति लामिछानेले भन्नुभयो, ‘‘तर कसको स्वार्थले यसरी यो विधेयकलाई संसदमा ल्याइएन ? यो सदनलाई जानकारी हुनुपर्छ । आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि भनेर सरकारले ल्याउन खोजेको विधेयकलाई कार्यसूचीमा राखिएन भने रास्वपा सदन चल्न नदिने पक्षमा उभिनेछ । मिटरब्याज पीडितहरुको पक्षमा दह्रो खह्रो भएर उभिनेछ ।’’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरुलाई राज्यको सर्वोच्च निकायमा पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले दलित समुदायका व्यक्ति देशको प्रधानमन्त्री नभएसम्म जातीय छुवाछूत अन्त्य नहुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो जातीय विभेदको आन्दोलन तबमात्रै अन्त्य हुन्छ, जब त्यो समुदायको मान्छे यो देशको कार्यकारी प्रमुख हुन्छ । यहाँ अर्काको सिँढी चढेर होला जस्तो मलाई लाग्दैन ।’’

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले तराई, मधेशमा खेतीयोग्य जमिनमा सिंचाइ नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले आफ्नो आँखा मधेशमा पनि पुर्‍याउनुपर्ने बताउनुभयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँले व्यहोर्ने बताएको भए पनि अर्थ मन्त्रालयसँग उपचार खर्च मागेको भन्दै विरोध गर्नुभयो ।

आम जनता पार्टीका सांसद प्रभु शाहले गएराति रौतहटमा एक युवाको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गर्नुभयो । उहाँले बालाजु र कालिमाटीको तरकारी बजारको सटर गैरकानुनी रुपमा भाडामा लगाइएको भन्दै यसप्रति कृषिमन्त्रीको जवाफ माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकि सांसद रोशन कार्कीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले एमालेले अवरोध गरेको संसद खोले पनि संसद बैठक चलाउन सरकार पक्ष तयार नभएको बताउनुभयो । उहाँले अवरोध खोलेकै दिनदेखि संसद बैठक किन पछि धकेलेको भन्ने प्रश्न गर्नुभयो ।

उहाँले कर्मचारीलाई आत्महत्या गर्न उक्साउने स्वास्थ्यमन्त्रीको कुरा आपत्तिजनक भएको बताउनुभयो ।