• १२ साउन २०८१, शनिबार

सङ्घर्षका सारथि कमरेड शिला

blog

काठमाडौँ, असार २८ गते । “जति सक्छु, म देश, जनता र पार्टीको सेवामा लाग्छु, मलाई मन्त्री बन्नु छैन । उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले नै गर्दै हुनुहुन्छ नि,” शालीन, सरल र स्पष्ट स्वभावकी धनी सीता दाहालले झन्डै दशकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान दिल्लीमा ‘पार्टी अध्यक्षकै श्रीमती हुनुहुन्छ, सँगै जनयुद्ध लड्नुभयो, अब त तपाईंलाई पनि मन्त्री बन्न मन होला नि ?’ भन्ने प्रश्नमा यही जवाफ दिनुभयो । 

राजनीतिक चेतनाले ओतप्रोत, सादगी नेतृ दाहालले दिल्लीस्थित नेपाली राजदूतावासमा नेपाली समुदायसँगको भेटघाटमा आफूलाई ‘राजनीतिका कुरा’ नसोध्न आग्रह गर्नुभयो । तर राजनीतिक सङ्कटका कठिन घडीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डकी जीवनसङ्गिनी सीताले ‘निर्णायक हस्तक्षेप’ गर्नुहुन्थ्यो । उहाँ पार्टीभित्र ‘कमरेड शिला’ नामबाट परिचित हुनुहुन्थ्यो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ दाहालले खुसी व्यक्त गर्दै वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताउनुभएको थियो । 

उहाँ माओवादीमै रहँदा अध्यक्ष प्रचण्ड र तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भट्टराईदेखि अन्य नेतालाई पनि सन्तुलित र सुमधुर सम्बन्ध बनाउन अभिभावकीय भूमिकामा रहनुभयो । 

पूर्वसभामुख एवं माओवादी केन्द्रका नेतृ ओनसरी घर्तीमगरले पार्टी अनेक सङ्कटसँग जुध्न अध्यक्ष प्रचण्डलाई साथ दिने र जुनसुकै परिस्थिति सामना गर्न सक्ने ताकत भएकैले उहाँ वास्तविक नेतृत्व र श्रद्धाको केन्द्र बन्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सीता दाहाललाई हामी आमा भनेर सम्बोधन गर्छौं, उहाँको अभिभावकीय भूमिका, सङ्कटका बेला उहाँले गर्ने प्रभावकारी हस्तक्षेप र समन्वयकर्ताको भूमिका अनुकरणीय भएकैले उहाँप्रति अगाध श्रद्धा व्यक्त भएको हो ।”

उहाँ आफ्नो जीवनकालभरि प्रधानमन्त्री प्रचण्डको सारथि बन्नुभयो । २०५२ सालदेखि नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धमा उहाँ पार्टीमै खटिनुभयो । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गर्दै गर्दा नेतृ दाहाल बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । तर यसअघिका दुई कार्यकाल प्रधानमन्त्री प्रचण्डलाई सफल बनाउन र पार्टीका नेताहरूलाई जनताका पक्षमा काम गर्न निरन्तर प्रेरित गरिरहनुभयो । 

प्रचण्डनिवास पुग्दा नेतृ दाहाल कार्यकर्ताबाट घेरिएकै भेटिनुहुन्थ्यो । उहाँले सधैँ नेता–कार्यकर्तालाई क्षमताअनुसार ठाउँ दिन प्रधानमन्त्री प्रचण्डलाई सचेत गराइरहनुहुन्थ्यो । 

‘अभिभावक गुमायौँ’

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ नेतृ दाहालको जीवन भाबी पुस्ताका लागि स्मरणीय र प्रेरणाको स्रोत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, निःस्वार्थ एवं समर्पण नै उहाँका विशेषता थिए ।”

त्यसै गरी नेपाल समाजवादी पार्टीका नेतृ हिसिला यमीले सीता दाहालले जीवनभर प्रचण्डको सही सल्लाहकारको भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पढेलेखेको, सहरी परिवेशको टाठाबाठालाई मात्र जान्नेबुझ्नेका रूपमा लिन्छन् मान्छेहरू । वास्तवमा जान्नेबुझ्ने हुन सङ्घर्षबाटै खारिएर आउनु पर्छ । त्यस दृष्टिकोणबाट सीता दाहाल असाध्यै पाको हुनुहुन्थ्यो ।”

माओवादी केन्द्रका सचिव हरिबोल गजुरेलले नेतृ दाहाललाई अभिभावकीय भूमिका निर्वाह गरी सङ्कटको समयमा माओवादीलाई जोगाउने सशक्त योद्धाका रूपमा स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “सीता दाहाल पार्टीकै अभिभावक हो, जनयुद्धका कठिन मोडमा पार्टी बचाउन उहाँको अतुलनीय भूमिका छ, शान्ति प्रक्रियामा आइसकेपछि पनि उहाँको भूमिका नेतृत्वलाई आवश्यक दिशानिर्देश गर्ने नै हुन्थ्यो ।”

अन्तिम बिदाइमा देखिएको जनश्रद्धा 

माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार दाहाललाई अन्तिम बिदाइ गर्न हजारौँ नागरिक पशुपति आर्यघाटमा पुगेका थिए । सिफलका विनोद परियारले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता कहिल्यै विवादमा नपरेको र उहाँका बारेमा सकारात्मक कुरा सुनेकाले श्रद्धाञ्जली अर्पण गर्न आएको बताउनुभयो । 

त्यसै गरी भक्तपुरका ऋषिकेश शर्मा ‘शिखर’ले प्रधानमन्त्री प्रचण्डलाई राम्रा काम गर्न अभिप्रेरित गर्ने भएकैले उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सीता दाहालज्यूप्रति मेरो श्रद्धाञ्जली छ । प्रधानमन्त्रीज्यूले यो कार्यकालमा भ्रष्टाचारविरुद्ध जुन लडाइँ सुरु गर्न भएको छ नि, त्यसमा सीताजीको प्रेरणा कहीँ न कहीँ छ भन्ने लाग्छ ।”

नेतृ दाहालको जीवन सङ्घर्ष

सीता दाहाल विक्रम संवत् २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएको हो । आठ वर्षको उमेरमा उहाँ परिवारसँग चितवन बसाइँ सर्नुभयो ।

उहाँको २०२६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विवाह भएको थियो । २०२८ सालमा उहाँ नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनी वाम आन्दोलनमा सहभागी हुनुभयो । श्रीमान् भूमिगत राजनीतिमा हुँदा चार सन्तानकी आमा सीतालाई अनेक व्यावहारिक चुनौती पनि आए ।

नेतृ दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सरका कारण १० वर्षअघि र छोरा प्रकाशको हृदयाघातका कारण छ वर्षअघि निधन भयो । छोरी रेनु दाहाल भरतपुर महानगरपालिका प्रमुखको जिम्मेवारीमा र कान्छी छोरी गङ्गा दाहाल प्रधानमन्त्री प्रचण्डको सचिवालयमा हुनुहुन्छ ।