• ९ कात्तिक २०८२, आइतबार

आन्तरिक तथा बाह्य पर्यटकले पर्यटकीय गन्तव्य भरिभराउ

blog

अन्नपूर्ण पदमार्ग घुम्न आएका विदेशी पर्यटकहरु मर्स्याङ्दी–९ सिम्लेमा विश्राम गर्दै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, कात्तिक ९ गते ।
लमजुङ र मनाङका पर्यटकीय गन्तव्यहरुमा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । दसैँ तिहार तथा छठसम्मको लामो बिदाका कारण आन्तरिक पर्यटकहरुले पर्यटकीय गन्तव्यहरु भरिभराउ भएका छन् ।

बिदाको सदुपयोग गरेर भ्रमणमा निस्कने नेपाली पर्यटकहरुको सङ्ख्या उल्लेख्य छ । लमजुङ प्रवेशद्वार भएर अन्नपूर्ण पदमार्ग र तिलिचो पुग्ने पर्यटकसँगै लमजुङका ग्रामीण होमस्टेहरु पनि आन्तरिक पर्यटकहरुले भरिभराउ भएका छन् । यो समय घुम्नका लागि अनुकूल भएको र मौसमले पनि साथ दिएकाले हजारौँ आन्तरिक पर्यटकहरु पर्यटकीय गन्तव्य पुग्ने गरेका छन् । लमजुङ भएर मनाङको तिलिचो ताल, थोरङ्ला भन्ज्याङ जाने पर्यटकहरुसँगै पारिवारिक रुपमा घुम्न आएका पर्यटकहरुले लमजुङका होमस्टेहरु भरिभराउ छन् ।

पारिवारिक भ्रमण, विद्यालय तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरु लमजुङ हुँदै मनाङ जानेको सङ्ख्या दैनिक हजारभन्दा बढी छ । सामान्य अवस्थामा सहज पर्यटक व्यवस्थापन सम्भव भए पनि दसैँ, तिहार र छठ पर्वका लामो सार्वजनिक बिदाका कारण युवापुस्ताको प्रमुख गन्तव्य मनाङ बन्ने गरेको छ ।

यतिबेला मनाङ पुग्ने पर्यटकका लागि खान र बस्ने व्यवस्था गर्नसमेत होटल व्यवसायीलाई धौ–धौ परेको छ । होटल बुक गरेर जानुपर्ने अवस्था सिर्जना भएको छ भने होटल अग्रिम बुक नगर्नेहरु अलपत्र पर्ने अवस्था सिर्जना भएको मनाङ निस्याङ गाउँपालिका–९ का वडाअध्यक्ष छोल्पोबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार शनिबार मात्रै तिलिचो बेसक्याप पुग्ने पर्यटकको सङ्ख्या दुई हजार पाँच सयभन्दा बढी छ ।  

लमजुङका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु घलेगाउँ, काउलेपानी, सिउरुङ, राइनासलगायतका व्यावसायिक होमस्टे गाउँहरु पनि आन्तरिक पर्यटकहरुले भरिभराउ भएका हुन् । चाडपर्वको उल्लाससँगै पर्यटकहरुको आगमनले गाउँमा झनै उत्साह थपिएको पर्यटन व्यवसायी घलेगाउँ ग्रामीण पर्यटनका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।  

यतिबेला मनाङमा बाह्यसँगै आन्तरिक पर्यटकहरुको ओइरो लागेको छ । पर्यटकीय सिजन भएकाले पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढेको छ । जसका कारण अन्नपूर्ण पदमार्गका होटल व्यवसायीहरुलाई भ्याइनभ्याई भएको छ ।

पर्यटकीय गन्तव्यहरुमा यातायातको सहज पहुँच भएका युवायुवतीहरु मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधन चढेर पनि पर्यटकीय गन्तव्य पुग्ने गरेका छन् । काठमाडौँ, पोखरा, बुटवल, चितवन, पाल्पालगायतका स्थानबाट आएका आन्तरिक पर्यटकहरुले होटल व्यवसायीसँगै यातायात व्यवसायीहरुलाई पनि भ्याइनभ्याई भएको छ । पर्यटकीय गाउँहरुमा दैनिक एक सयभन्दा बढि पर्यटकहरु पुग्ने गरेका छन् भने अन्नपूर्ण पदमार्गमा दैनिक पाँच सयभन्दा बढी पर्यटक हिँड्ने गरेका छन् ।