• ९ कात्तिक २०८२, आइतबार

'मुलुकको हितका लागि सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ'

blog

सुधा देव

भारदह(सप्तरी), कात्तिक ९ गते । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देश अहिले गम्भीर अवस्थामा रहेकोले अहिले मुलुकको हितको लागि सबैले आआफ्ना ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस जनमत सङ्घद्वारा राजविराजमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष राउतले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, अहिले देश गम्भीर अवस्थामा छ देशलाई निकास दिन देशका हरेक सचेत नागरिकले जिम्मेवार भएर अघि सर्नुपर्ने आवश्यक छ ।

संविधान संशोधन गरेर निर्वाचन गरे मात्र नयाँ परिवर्तनको कल्पना गर्न सकिने भए पनि यस्तै अवस्थामा निर्वाचन भयो भने राज्यको सत्ता यथावत् अवस्था रहने सम्भावना बढी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "जनताको बलिदानीबाट आएको संविधान र सङ्घीयतामा कुनै पनि अवस्थामा प्रहार गर्नुहुँदैन । संविधानमा भएको कमीकमजोरी त्रुटि सच्याउन आवश्यक छ तर खारेज गर्नुहुँदैन ।" 

जेनजी आन्दोलन जनताको राज्य सत्ता प्रतिको आक्रोशको परिणाम भए पनि यस आन्दोलनबाट राष्ट्रले ठूलो क्षति व्यहोर्नुपरेको छ । अहिलेको अवस्थामा विशेषगरी युवालाई मार्गदर्शन गर्नुपर्ने अहिलेको प्रमुख जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

देशमा एक समुदायले अर्को समुदायमा द्वन्द्व गर्ने, एक अर्कामाथि प्रहार गर्ने जस्ता विकृति देशमा बढ्दै गएकोले यस्ता गतिविधिहरूप्रति सधैं सचेत भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

"हाम्रो देशको सरकार पटक पटक ढल्नुको मुख्य कारण वैदेशिक प्रभाव हो । यहाँको सरकार कमजोर भएकोले वैदेशिक प्रभावमा सरकार ढल्दै आएको बताउनुभयो । सरकार दिगो नभएसम्म देशको विकास द्रुत गतिमा हुने सम्भावना कम भएको छ", उहाँले भन्नुभयो। 

उहाँले भन्नुभयो, "आगामी हाम्रो पार्टीको योजना स्वायत्तको रहेको जानकारी दिदै उहाँले भन्नुभयो , प्रदेशको आफ्नै प्रहरी र आफ्नो अधिकार हुनुपर्छ ।"कार्यक्रममा जनमतको संसदीय दलको नेता महेश यादव सङ्गठन विभागको संयोजक जयकान्त राउत,जनमत पार्टीको जिल्ला अध्यक्ष रामगमन साह लगायतको उपस्थिति थियोे ।

प्रेस जनमत सङ्घको केन्द्रीय संयोजक अवधेश झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस जनमत सङ्घका जिल्ला अध्यक्ष रूपेश यादवले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।