गोरखापत्र समाचारदाता
ललितपुर, असार २३ गते । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले औपचारिक कार्यक्रमका लागि नै भनेर केन्द्रीय कार्यालय नआएको वर्षौँ भयो । निर्वाचनका बेला टिकट वितरण, केही अनौपचारिक छलफल र विकासका कार्यक्रमबारे पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउन जिल्ला सभापतिहरू केन्द्रीय कार्यालयमा आउने र सांगठानिक कुरा औपचारिक छलफलमै सीमित हुने गरेको थियो ।
तर बिहीबार र शुक्रबार कांग्रेस पार्टी कार्यालयको परिदृश्य बदलियो । जिल्ला सभापतिहरू र जिल्लाका प्रतिनिधिहरूले उपस्थित भएर आफ्ना कुरा राख्न र सङ्गठनको विषयमा विमर्श गर्न पाउनुभयो । उहाँहरूले जिल्लाका समस्या सुनाउनुभयो ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको समाधानसँगै सांगठानिक रूपान्तरण, प्रविधिको प्रयोग र समुदायसँग कांग्रेसलाई जोड्ने योजना प्रस्तुत गर्नुभयो । जिल्ला फर्किने तयारीमा रहेका सभापतिहरूले यो बैठक पार्टीलाई नवीनतम रूपमा सञ्चालनका लागि ऊर्जा भएको प्रतिक्रिया दिनुभयो ।
कास्कीका सभापति किशोरदत्त बराल, खोटाङका सभापति विष्णुकुमार राई, सप्तरीका सभापति रामचन्द्र यादव, बाजुराका सभापति रामसिंह रावल र पाँचथर सभापति रूपनारायण जबेगुले कांग्रेसको सङ्गठन आन्तरिकसँगै समुदायमा पनि विस्तार गर्ने ऊर्जा र कार्ययोजनासहित जिल्ला फर्किएको बताउनुभयो ।
कास्कीका सभापति बरालले भन्नुभयो, “बैठक सङ्गठन सुदृढीकरणसँग बढी केन्द्रित भयो । सङ्गठनलाई दुई तहबाट सञ्चालन गर्ने गरी कार्ययोजना बनाएका छौँ । सङ्गठन र समुदायलाई दुवै तर्फबाट पार्टी परिचालन गर्ने गरी कांग्रेसलाई सशक्त बनाउने गरी हामी अघि बढ्छौँ ।”
खोटाङका सभापति राई पार्टी सञ्चालनको पद्धतिलाई डिजिटल रूपमा अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक प्रविधिमा हामी कमजोर रहेछौँ । यसलाई सुधार गर्छौँ । केन्द्र र जिल्लासँगको समन्वय हुन्छ अब । नयाँ विचारलाई बहसमा ल्याउने र राष्ट्रका मुद्दालाई प्रस्ट बनाउने काममा लाग्छौँ ।”
पाँचथर सभापति जबेगुले कांग्रेसलाई आन्तरिक र बाह्य समस्यासँग जुध्न सक्ने बनाउने ज्ञान बैठकबाट प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनदेखि नै विकृति देखिएका छन् । त्यसलाई सुधार गर्नुछ, पार्टीलाई नयाँ ढङ्गले लानुपर्छ भन्नेमै हामी केन्द्रित भयौँ । वडादेखि नै सुधारको सुरुआत अब हुन्छ ।”
सप्तरीका सभापति यादवले कांग्रेसको रूपान्तरण जिल्लाबाट नहुने बताउँदै केन्द्रीय नेतृत्वबाटै रूपान्तरणको थालनी गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला सभापतिहरूको बैठकले केही नयाँ सुरुआत गरेकाले अब शीर्ष नेताले आफूहरूको कुरा सुन्ने, वडा तहसम्म नै भ्रातृ र शुभेच्छुक संस्था सक्रिय बनाउने र पार्टीलाई जागरण प्रदान गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
बाजुरा सभापति रावलले पार्टीको क्रियाशील सदस्यता नवीकरण, जिल्लामा वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन सम्पन्न गरी सङ्गठनलाई नयाँ ढङ्गले अघि बढाउने ऊर्जा पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीका कार्यालय व्यवस्थित गर्ने सन्दर्भमा कुरा भयो । अब हामी प्रविधिसँग पार्टीलाई जोडेर सुधार गर्दै २०८४ को निर्वाचनलाई लक्षित गरेर काम अघि बढाउँछौँ । जुन ढङ्गले पार्टी चलेको छ, त्यही रूपमा अब जान सक्दैन, रूपान्तरण र कार्यशैलीमा सुधार गर्नैपर्छ भन्ने सन्देश हामीले पायौँ ।”
महामन्त्री शर्माले कांग्रेसलाई नवीन रूपान्तरणको अध्यायमा लैजाने पहिलो पाइलाको रूपमा जिल्ला सभापतिहरूको बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस रूपान्तरण हुन्छ, हुनुपर्छ । अब वडा तहदेखि नै आमूल परिवर्तनको अभ्यास सुरु हुन्छ ।”