• १५ वैशाख २०८१, शनिबार

सामाजिक सद्भावको नमुना

blog

प्रकृतिको क्रिडाभूमि, ऋषिमुनिको तपोभूमि र वीर सपुतहरूको जन्मभूमि नेपालमा विभिन्न जातजाति, भाषा संस्कृति र धर्मावलम्बीको बसोबास भए पनि साम्प्रदायिकताको गन्ध नआउने मुलुक हो नेपाल। यहाँका करिब तीन करोड नेपालीले तेत्तीसकोटी देवीदेवतालाई पुज्ने गर्दछन्। चाडपर्व, रीतिरिवाज, संस्कृति र जात्रा नभएको दिन यहाँ वर्षभरिमा बिरलै पाइन्छ। 

नेपालमा मनाइने अनेकन चाडपर्वमध्ये इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व बकर इद (इदुल अजाहा) पनि एक हो। यो पर्व तीन दिन मनाइने गरिन्छ। यस वर्ष नेपालमा यो पर्व बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिन मनाइँदै छ। इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाइने यो पर्व नेपाललगायत विश्वभरिका मुस्लिम समुदायले धूमधामका साथ मनाउने गर्दछन्।

इस्लामी क्यालेन्डर अनुसार १४४४ हिजरी (साल) को अन्तिम महिना जिलहिजा १० तारिखका दिन यो पर्व विश्वभरि मनाउने चलन छ। तीन दिनसम्म मनाइने यो पर्व नेपालमा विक्रम संवत् अनुसार यस वर्षको असार महिनाको १४, १५ र १६ गते परेको छ।

इदुल अजाहा (बकर इद) मुस्लिमहरूको दोस्रो महान् पर्व हो। इदुल अजाहाको अर्थ ‘त्याग’ हुने गर्छ। पवित्र महिना रमजानको करिब ७० दिनपछि आउने यो पर्वलाई मुस्लिम समुदायले हर्सोल्लासका साथ मनाउने गर्दछन्। 

इस्लामिक धार्मिक ग्रन्थ कुरानमा उल्लेख भए अनुसार पैगम्बर हजरत इब्राहिमलाई सपनामा अल्लाहले आफ्नो सबभन्दा प्यारो चिजलाई अल्लाहको नाममा बलिदान गर्ने आदेश दिनुभयो।

अल्लाहको आदेशलाई स्वीकार्दै हजरतले संसारको सबभन्दा प्यारो चीज आफ्नो छोरा इस्माइल अलैयाहिस्सलामलाई बलि दिने निर्णय ग¥यो। बलि दिने निर्णयमा छोरा सहमत हुँदैन भन्ने डरले हजरतले यो कुरा आफ्नो छोरोलाई बताएनन्। छोरोलाई बलि दिनका लागि गाउँ बाहिर लैजाने क्रममा अदृश्य आवाजले छोरो इस्माइललाई “तिम्रो बुबाले तिमीलाई अल्लाहको नाममा बलि दिन लैँजाँदै छ” भन्ने जानकारी दिए।

त्यसपछि छोराले “अल्लाहको नाममा बलि चढ्नुभन्दा राम्रो काम दुनियाँमा केही पनि छैन, अल्लाहको नाममा मलाई बलि दिने निर्णय गरेर तपार्इंले ठिक गर्नुभयो” भन्दै बुबा हजरलाई भने। “मलाई बलि दिने क्रममा तपाईंको हात नकामोस्, त्यसका लागि तपाईंले त्यसबेला आँखामा पट्टी बाँध्नुहोला” छोरा इस्माइलले बुबा हजरतलाई फेरि भने।

कुरान अनुसार हजरतले छोराको घाँटीमाथि जुन बेला चक्कु चलायो, त्यस बेला मानिसको सट्टा बाख्राको आवाज सुनियो। छोरा इस्माइल केही पर सकुशल मुस्काउँदै खडा थियो। सोही दिनको सम्झनामा विश्वभरिका इस्लाम धर्मावलम्बीले बकर इद मनाउने गरेको भनिन्छ।

बोकाको बलि दिई मनाइने यो पर्वमा बलि दिएपछि जन्नत (स्वर्ग) को बाटो खुल्छ भन्ने विश्वास छ। कुरान अनुसार यस पर्वमा स्वस्थ चौपायाको कुर्वानी दिनु पर्छ। इस्लामिक मुलुकमा जति ठुलो चौपायाको कुर्वानी दिने त्यति नै बढी धर्म हुने विश्वास भए पनि नेपालमा खासगरी खसी बोकाको नै बलि दिइने गरिन्छ। यस समुदायका सम्पन्न व्यक्तिले तीन दिन नै बलि दिने गरे पनि सामान्य आर्थिक अवस्था भएकाले एक दिन मात्र बलि दिने गर्दै आएका छन्।

यस पर्वमा स्वस्थ्य चौपायाको कुर्वानी दिनु पर्दछ। इस्लामिक मुलुकमा जति ठुलो चौपायाको कुर्वानी दिने त्यति नै बढी धर्म हुने विश्वास भए पनि नेपालमा खास गरी खसी बोकाको नै बलि दिइने गरिन्छ। यस समुदायका सम्पन्न व्यक्तिले तीन दिन नै बलि दिने गरे पनि सामान्य आर्थिक अवस्था भएकाहरूले एक दिन मात्र बलि दिने गर्दै आएका छन्।

कुरान अनुसार बलिको मासुलाई तीन भागमा बाँड्नु पर्छ। यसमध्ये एउटा भाग आफ्नो घरमा राखिन्छ। दोस्रो र तेस्रो भाग क्रमशः मस्जिदमा पठाइन्छ र आफन्तकहाँ बाँडिन्छ। भनिन्छ, हजरतले मक्कामा विजय हासिल गरेपछि कुर्वानीलाई व्यवस्थित गरिएको हो।

यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ। बलिदानीका दिन बिहानै उठी नित्य कार्य सकेर गाउँबाट पर खुला मैदानमा गई नवाज (एक किसिमको प्रार्थना) पढ्नु पर्छ। त्यसपछि घर फर्की बलि दिइने गरिन्छ। यस धर्मानुसार बलि दिइने पशु पूर्ण रूपले स्वस्थ्य हुनु पर्छ। आर्थिक अवस्थाका कारण बलि दिन नसक्नेको घरमा पनि यस पर्वको रौनकता छाओस् भन्ने उद्देश्यले बलिको मासु (तनुका) बाँडिन्छ।

तीन दिनसम्म बलि दिनेकहाँ पहिलो बलि घरमुलीको नामबाट दिइन्छ भने बाँकी बलि परिवारका अन्य सदस्यको नामबाट दिइने चलन रहेको छ। जसको नामबाट बलि दिइन्छ त्यो व्यक्तिले बलिसम्बन्धी सम्पूर्ण कामको समापन नभएसम्म कुनै प्रकारका अन्न जल ग्रहण गर्नु हुँदैन भन्ने मान्यता छ। जसको नामले बलि दिइन्छ त्यो व्यक्तिले बलिको मासु प्रसादको रूपमा ग्रहण गरिसकेपछि मात्र बलिदान सम्पन्न र सफल भएको मानिन्छ। 

यस पर्वको अवसरमा विश्वभरिका लाखौँ मुस्लिम मक्कामदिना हजका लागि जाने गर्दछन्। यस समुदायमा मक्कामदिना हज गर्न जान सक्नुलाई ठुलो धार्मिक सफलता मानिन्छ। मक्कामदिना जानेहरू त्यहाँ कैद गरी राखिएको भनिएका सैतानमाथि ढुङ्गा हान्ने गर्दछन्। हानिएको ढुङ्गा सैतानमाथि लागेपछि मक्कामदिनाको हज सफल भएको मानिन्छ।

सदियौँदेखि कायम रहँदै आएको नेपालीबिचको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन राज्यले यस पर्वलाई पनि राष्ट्रिय पर्वको मान्यता दिई सो दिन सार्वजनिक बिदा दिने गरेको छ। यो वर्ष असार १४ गते सार्वजनिक बिदा दिइएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मुसलमान समुदायको कुल जनसङ्ख्या १४ लाख १८ हजार ६७७ (४.८६ प्रतिशत) रहेको छ। 

लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।