• २० असोज २०८१, आइतबार

नगरपालिकाका उपप्रमुख नै बिरामी कुरुवा

blog

कबिराज घिमिरे 

हिले (धनकुटा), असार ६ गते । भोजपुरको षडानन्द नगरपालिकाकी उपप्रमुख  प्रमिला राई दुई दिनदेखि जिल्ला अस्पताल धनकुटामा हुनुहुन्छ । उहाँ न आफू बिरामी भएर आउनु भएको हो न आफन्त लिएर । उहाँ आफ्नै पालिकाका ६ जना बिरामी लिएर कुरुवाको रुपमा आउनु भएको हो । 

पाठेघर खस्ने समस्या भएका महिलालाई उपचार गर्न उहाँ आफैँ आउनु भएको हो ।  ग्रामीण क्षेत्रमा पाठेघर खस्ने समस्या अहिले पनि विकराल छ । यसबारेमा स्वयम् महिलाहरु जानकार भए पनि लाजको कारणले उपचार गराउन गएको पाइँदैन । 

यस्ता महिलाहरुको साहरा बनेर भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर प्रमिला राई विरामी लिएर उपचार गराउन धनकुटा अस्पतालसम्म आउनु भएको हो ।

 निर्वाचन ताका गाउँमा आङ खस्ने समस्या आएका बिरामी रहेको देखेपछि यसको उपचार पालिकामार्फत आफैँले गरिदिने बाचा गरेकेले सोहि बाचा अनुरुप बिरामी लिएर आएको बताउनु भयो । 

“मैले चुनाबमै बाचा गरेकी थिएँ, तपाईहरुको रोग जहाँ लगेर भएपछि रोग निको पार्छु भनेकी थिए त्यहि बाचा पूरा गर्न जिल्ला अस्पताल धनकुटा आएर उहाँहरुको उपचारमा आफै लागेकी हँु। ” राईले भन्नुभयो । 

     गत बैशाख ६ गतेदेखि १० दिनसम्म नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा उपचारको लागि आएका एक हजार ३४४ जनामध्ये २ सय ८४ जनामा पाठेघर खस्ने समस्या भेटिएको थियो । त्यसमध्ये २१७ जनाको रिङ प्रेसरी लगाएर उपचार गरिएको तथा  ६ जनाको शल्यक्रिया गर्नुपर्ने थियो । तिनै ६ जना बिरामी लिएर उपमेयर आफँै जिल्ला अस्पताल धनकुटा आउनु भएको हो । 

उहाँसंग बिरामी सहित बिरामीका एक एक आफन्त र स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ पनि आउनु भएको छ । पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलालाई जाने–आउने खर्चसहित उपचारको व्यवस्था षडानन्द नगरपालिकाले मिलाएको स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

    पीडा सहँदै रोग लुकाएर बसेका महिला स्वास्थ्य सचेतनाका कारण पछिल्लो समय विस्तारै खुल्न थालेका छन् ।

परम्परागत सोच र मान्यतामा हुर्केका कारण रोगलाई लुकाएहरुमा वृद्धावस्थामा बढी समस्या देखिएको छ । उपमेयरको सक्रियतामा नगरपालिकाले उपचार गरिदिएपछि महिलाहरु पनि खुसी भएका छन् । 

पालिका उपप्रमुख नै आपूmहरुलाई लिएर आएर आफ्नो कुरुवाको रुपमा बसेकाले आफूहरुलाई धेरै ढुक्क लागेको बिरामी पेम्बिनी शेपा बताउनु हुन्छ । उपमेयरकै कारण उपचारमा धेरै सहज भएको अर्की बिरामी रेनुका अधिकारीको भनाइ छ । 

स्वास्थ्यकर्मीका अनुसार पाठेघर खस्ने समस्याबाट जुनसुकै उमेर समूहका महिला पीडित हुने गरेका छन् । पाठेघर खसेका महिलाको तत्कालै मृत्यु नभए पनि संक्रमण भएर घाउ हुँदा जीवन कष्टमय र पीडादायी हुने गरेको स्वास्थ्यकमीहरु बताउँछन ।