• ७ पुस २०८२, सोमबार

नियमित खोप मार्फत एचपिभीविरुद्धको खोप दिने तयारी

blog

राष्ट्रिय खोप कार्यक्रम मार्फत एचपिभी भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नेबारे जानकारी दिँदै बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतम । तस्बिर : सिर्जना खत्री

काठमाडौँ, पुस ७ गते । सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन गर्न लागेको छ । 

 परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले माघको अन्तिम साताबाट राष्ट्रिय खोप कार्यक्रम मार्फत एचपिभी भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

 उहाँले भन्नु भयो, “आगामी माघको अन्तिम सातबाट कक्षा ६ मा अध्ययनरत र १० वर्षका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न लागेका छौँ ।”

 यसका लागि सरकारले विद्यालय र विद्यालय बाहिर खोप केन्द्र तय गरेको छ । खोप सुरक्षित हुनुका साथै जीवन रक्षा गर्ने भएकाले ढुक्का भएर खोप लगाउन डा.गौतमको सुझाव छ । 

उहाँ भन्नुहुन्छ,“एचपिभीविरुद्धको खोपलाई लिएर थुप्रै भ्रम सिर्जना भएका छन्। यो खोप सुरक्षित र रोगविरुद्ध प्रभावकारी भएकाले ढुक्क भएर खोप लगाउनु होस् ।”

एचपिभीविरुद्धको खोप एक मात्र लगाएर पुग्छ । यस अघि सरकारले एचपिभि विरुद्धको खोप अभियान सुरु गरेर देशभरका ९ वर्ष देखि १४ वर्ष उमेर समूहका करिब १६ लाख  किशोरीलाई खोप लगाइसकेको छ ।  

 यो खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गर्नुका साथै राष्ट्रिय खोप सल्लाहकार  समितिको सुझाव पछि मात्र नेपालमा लगाउन सुरु गरिएको हो । 

 आर्थिक वर्ष २०८१,८२ मा देशभरका ७७ जिल्लाहरू पूर्णखोप सुनिश्रितताको दिगोपना घोषणा भएका छन् । १६ देखि २३ महिनाको उमेरसम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्रित गर्दै पूर्ण खोप सुनिश्रितता तथा दिगोपना घोषण गरिन्छ ।


सरकारले २०३४ सालदेखि खोप अभियान सुरु गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका डा.पवन उपाध्यायले खोप कार्यक्रम सञ्चालन गर्न सुरु गरेदेखि बाल मृत्युदर घट्दै गएको दाबी गर्नुभयो । उहाँले भन्नुहुन्छ,“खोप अभियान सञ्चालन गरेको ५० वर्षमा विश्वमा खोपले १५ करोड ४० लाखको जीवन बचाएको अध्ययनले देखाएको छ ।” 

 कुन खोप के रोगबाट बचाउँछ ? 

सरकारले राष्ट्रिय खोप तालिका बनाएर जन्मेदेखि १५ महिना उमेर समूहका बालबालिकालाई लक्षित गर्दै ११ प्रकारका रोग विरुद्धको नियमित खोप मार्फत निःशुल्क दिँदै आएको छ ।

जन्मनेबित्तिकै लगाउने खोप 

डा.गौतमका अनुसार जन्मिनेबित्तिकैदेखि एक वर्षभित्रमा दिइने बिसिजी विरुद्धको खोपले क्षयरोग हुनबाट बचाउँछ। यो खोप एक पटक छालाभित्र दिइने गरिन्छ। 

छ हप्तामा लगाउने खोप 

बच्चा जन्मिएको छ हप्तामा रोटा, पोलियो, पिसिभी, डिपिटी, हेप बी हिब विरुद्धको खोप दिइन्छ। उक्त खोपले रोटा भाइरसबाट हुन झाडा पखाला, पोलियो निमोनिया, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी हेमोफिलस इन्फुलुएन्जा बीबाट बचाउने डा.गौतम बताउनु हुन्छ। 

१० हप्तामा लगाउने खोप 

त्यसैगरी, बच्चा जन्मिएको १० हप्तामा रोटा, पोलियो, पिसिभी, डिपिटी, हेप बी हिब विरुद्धको खोप दिइने गरिन्छ । उक्त खोपले रोटा भाइरसबाट हुने झाडा पखाला, पोलियो, निमोनिया, भ्यागुते लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी हेमोफिलस इन्फुलुएन्जा बीबाट बचाउँछ।  

१४ हप्तामा लगाउने खोप 

१४ हप्तामा पोलियो, एफआइपिभी, डिपिटी, हेप बी हिबविरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी बाट बचाउँछ।

नौ महिनामा लगाइने खोप

जन्मिएको नौ महिनामा एफ आइपिभी, पिसिभी, दादुरा–रुबेला विरुद्धको खोप लगाइन्छ। उक्त खोप निमोनिया, दादुरा र रुबेला रोगबाट बचाउँछ। 

१२ महिनामा लगाइने खोप

१२ महिनामा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले जापानिज इन्सेफलाइटिस बचाउँछ। 

१५ महिनामा लगाइने खोप

१५ महिनामा दादुरा–रुबेला टाइफाइडविरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले दादुरा र रुबेलाबाट बचाउँछ ।

१० वर्षमा एचपिभी खोप

यो पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसबाट बचाउने गर्छ । सरकारले कक्षा ६ मा अध्ययनरत र १० वर्षका किशोरीलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप दिँदै आएको छ ।

 पहिले टिडी खोप नलगाएको गर्भवतीले टिटानस र डिप्थेरियाविरुद्धको कम्तीमा एक महिनाको अन्तरमा दुई पटक टि डीविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ।