प्रकाशविक्रम शाह
धनगढी, असार ६ गते । आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिइएको हो ।
सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र उक्त दिन सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरूमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकपछि मन्त्री सिंहको असामयिक निधनमा शोक मनाउन बिदा दिइएको आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताउनुभयो ।
मन्त्रालयले मन्त्रीसहित मृतक सबैलाई श्रद्धाञ्जली दिएको छ । भने गाडी दुर्घटनाबारे विस्तृत विवरण पनि विज्ञप्तिमा उल्लेख गरेको छ । मङ्गलबार दिउँसो जिप दुर्घटनामा परी मन्त्री सिंहसहित उहाँकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको थियो ।
मन्त्री सिंहलाई धनगढी रङ्गशालामा श्रद्धाञ्जली दिइने, दाहसंस्कारका लागि बझाङ लगिने
यसैगरी, कानुनमन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार धनगढी रङ्गशालामा राखिने भएको छ ।
आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार श्रद्धाञ्जली कार्यक्रमपछि मन्त्री सिंहको अन्तिम संस्कारका लागि बुधबारै बझाङ लगिने छ ।a