• ७ मंसिर २०८१, शुक्रबार

राजनीतिज्ञको व्यावसायिक जीवन, थाल्नुभन्दा टिक्नु महत्त्वपूर्ण

blog

पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता लोकेन्द्र विष्ट मगर आफ्नो ‘ड्र्यागन फ्रुट’ खेतीमा । फाइल तस्बिर

काठमाडौँ, असार ३ गते । पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा हुनुहुन्छ। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उहाँलाई नाम र दाम दुवै दिएको छ। अर्का वामपन्थी चिन्तक विश्वभक्त दुलाल (आहुती) पनि कृषि उत्पादनमा सक्रिय हुनुहुन्छ। 

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले काठमाडौँको हालै एक निजी क्याम्पसमा हरेक आइतबार पढाउन थालेपछि राजनीतिक तप्कामा पार्टीका कामसँगै व्यावसायिक बन्न अरू काम पनि गर्नुपर्छ भन्ने सोच बढेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कहिलेकाहीँ कक्षाकोठामा गएर विद्यार्थीसँग अन्तर्क्रिया गर्नुहुन्छ। राजनीतिमा लाग्नेले अरू काम गर्न हुने वा नहुने भन्नेमा समाजमा यदाकदा बहस हुन्छ। खासगरी विदेशमा राजनेताले गरेका अन्य कामलाई उदाहरणका रूपमा लिएर यस्तो चर्चा गरिने गरिन्छ। 

माथि छोटो चर्चा गरिएका नेतामध्ये तीन जना राजनीतिमा पनि रहेर अन्य पेसामा लाग्नुभएको छ। लोकेन्द्र विष्ट भने ‘राजनीतिक परिवर्तनका लागि जनयुद्धमा होमिएका’ नेता हुनुहुन्छ। उहाँले तीन वर्षअघि तीन बिघाभन्दा बढीमा सिउँडी फल रोपेर ‘कृषि क्रान्ति’ सुरु गर्नुभयो। उहाँले त्यसअघि पनि कालो धानको खेती गर्नुभएको थियो। 

उहाँले नेतृत्वले आफूले भन्ने र गर्ने काम एउटै हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक क्रान्ति गर्छु भन्ने अनि काम चाहिँ केही नगर्ने ? त्यस्तो हुँदैन। मैले कृषिमा आत्मनिर्भर भएर मात्रै समाजलाई आर्थिक रूपान्तरणमार्फत योगदान गर्न सकिन्छ भनेरै मैले कृषिको काम थालेको हो। अहिले ड्र्यागन फ्रुटको व्यवसाय अरू साथीलाई जिम्मा दिएको छु। योजना बनाएर केही काम गर्ने सोचमै छु।”

त्यसै गरी आहुतीले आधुनिक र आत्मनिर्भर कृषि पेसा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतीले अहिले साबुन कारखानासँगै कृषि कर्ममा आफ्नो पार्टीपङ्क्ति सव्रिmय भएको बताउनुभयो। 

राजनीतिक आन्दोलनमा चार–पाँच दशकसम्म बलिदानीपूर्ण सङ्घर्ष र यात्रा गरेका राजनीतिज्ञहरू राजनीतिबाट पलायन हुँदा अनौठो लाग्न सक्छ तर ‘कालो बादलमा चाँदीको घेरा हुन्छ’ भनेझैँ एउटा यात्राबाट विश्राम लिँदै गर्दा सामाजिक र आर्थिक रूपान्तरणको अर्को नवीन यात्रा सुरु गरेर नेताले महत्त्वपूर्ण सन्देश दिनुभएको छ।

नेपालमा धेरै राजनीतिज्ञले आर्थिक रूपान्तरणमा योगदान दिने अभिप्रायले कृषि तथा शिक्षा क्षेत्रदेखि अरू व्यवसायसम्म सञ्चालन गर्नुभएको छ। केही राजनीतिज्ञले ‘पार्टटाइम’ का रूपमा खाली समयमा अन्य व्यवसाय सञ्चालन गर्नुभएको छ। 

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको व्रिmयाकलापमा व्यस्त नभएको, कार्यकारी र राजकीय जिम्मेवारीमा पनि नभएकाले पढाउन सुरु गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “मैले २०६१ सम्म पढाएकै हो। त्यसपछि राजनीतिक उथलपुथलका कारण अध्यापनको काम रोकिएको थियो। अब चाहिँ आइतबार दुई घण्टा विद्यार्थीसँग कक्षाकोठामा हुनेछु। मैले राजनीतिक जीवनमा सिकेका कुरा पनि विद्यार्थीसँग सेयर गर्नेछु।”

निरन्तरता आवश्यक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७६ साउनमा त्रिभुवन विश्वविद्यालयमा पुगेर ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधि शोध गरिरहेका विद्यार्थीसँग ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा छलफल गर्नुभएको थियो। शिक्षाविद् प्राडा. बालचन्द्र लुइँटेलले राजनीतिज्ञहरू अध्यापन कार्यमा संलग्न हुनु सकारात्मक रहेको बताउनुभयो। उहाँले राजनीतिज्ञले आफ्नो ज्ञान, विज्ञता र अनुभवलाई विद्यार्थीमाझ प्रस्तुत गर्नुले राम्रै उत्प्रेरणा मिल्ने बताउनुभयो। 

प्राडा. लुइँटेलले भन्नुभयो, “तर कक्षा लिनुभयो, कति लिनुभयो ? प्राध्यापकजस्तो पढाउने कि कहिलेकाहीँ गएर गेस्ट लेक्चरजस्तो पढाउने ? पढाउने काम सामान्य होइन। त्यसैले नियमित रूपमा प्राध्यापकजस्तै गरी पढाउनु मुख्य कुरा हो। पढाउने भनेको के हो भन्ने विषयमा सम्बन्धित व्यक्ति पहिला आफैँ प्रस्ट हुनुपर्छ।”

उहाँले अरू राजनीतिक नेताहरूबिच काम गर्नुपर्छ भन्ने कुराको बहसका रूपमा यो विषय उठान भएको बताउनुभयो। उहाँले राजनीतिक यात्रा हुँदै गर्दा पनि कक्षाकोठामा जानुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “बाबुरामजीले विकासको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नियमित गर्नु भए राम्रो हुन्छ। मिनेन्द्रजीले थाल्नुभयो, निरन्तरता दिनुभयो भने राम्रो हो। प्राध्यापन भनेको गेस्ट लेक्चर होइन, विद्यार्थीले लेखेको पढ्नु आफू पनि रिसर्च गरेर लेख्नु, लेख प्रकाशित गर्नुजस्ता काम पनि गरेको खण्डमा त्यसको प्रभाव राम्रो हुन्छ।”

त्यसो त नेपालका धेरै राजनीतिज्ञ विभिन्न पेसा व्यवसायबाट आउनुभएको छ। प्रथम राष्ट्रपति डा. रामवरण यादव एक कुशल चिकित्सक हुनुहुन्छ। नेपाली कांग्रेसका नेताद्वय डा. शशाङ्क कोइराला र डा. शेखर कोइराला पनि चिकित्सककै रूपमा काम गरेर पारिवारिक विरासतका आधारमा सक्रिय राजनीतिमा होमिनुभयो।

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्राध्यापन र कानुन व्यवसायी हुँदै राजनीतिक यात्रा अघि बढाउनुभएको हो। त्यसै गरी पूर्वसभामुख कृष्णबहादुर महरासहित धेरै नेताहरू शिक्षकको भूमिकाबाट राजनीतिमा आउनुभएको छ। 

त्यसो त नेपालका विभिन्न जिल्लामा व्यावसायिक जीवनमा संलग्न रहने राजनीतिक दलका नेता कार्यकर्ताको सूची लामै छ। प्रदेशदेखि जिल्लास्तरका धेरै नेताले सुपारी खेती, चिया, अलैँची, कफी खेती जस्ता नगदे बाली लगाएको पाइन्छ।