• १८ कात्तिक २०८२, मङ्गलबार

फाल्गुनन्दको जन्मजयन्ती मनाउने तयारी

blog

फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाउने निर्णय गरेको साहित्य उत्थान सङ्घका पदाधिकारी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १७ गते । किराँत धर्मावलम्बीका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो ।

किरातीहरुको धार्मिक संस्था किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङले लिङ्देनको जन्मजयन्ती मनाउने भएको हो । सङ्घका जिल्ला अध्यक्ष कर्ण पालुङ्वाका अनुसार धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरु लिङ्देनको जन्मजयन्ती मनाउन लागिएको हो ।

लिङ्देनको जन्मजयन्ती मनाउने भएसँगै तयारीलाई तिब्र पारिएको अध्यक्ष पालुङ्वाले जानकारी दिनुभयो । उहाँका अनुसार फुङ्लिङ बजारनजिक बिहीबारेमा रहेको किरात माङ्हिम (मन्दिर) परिसरमा जन्मजयन्ती कार्यक्रम मनाइने भएको छ । राष्ट्रिय विभूति एवम् महागुरु लिङ्देनको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बा गाउँमा भएको थियो ।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारका कार्यमा लिङ्देनले महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँको सोही योगदानको मूल्याङ्कन गरी सरकारले २०६६ मङ्सिरमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । लिङ्देनको ताप्लेजुङसहित पूर्वका पाँचथर, इलाम, तेह्रथुम लगायतका जिल्लामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने तयारी भइरहेको छ ।