• १२ वैशाख २०८१, बुधबार

नयाँ प्रतिज्ञा

blog

हामीलाई थाहै छ, संसारका विभिन्न मुलुकले आफ्नो सजिलोका लागि विभिन्न किसिमका पात्रोको प्रयोग गर्ने गरेका छन् । जस्तै ईस्वी संवत्को पात्रो । विक्रम संवत्को पात्रो आदि । हरेक साल सकिएर अर्को सालको सुरुवातको दिनलाई हामी नयाँ वर्षका रूपमा मनाउँछौँ । सरकारीस्तरमै विक्रम संवत्को पात्रो चलाउने गरिएको हुँदा नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । हामीले पनि २०७९ लाई बिदाइ गर्दै २०८० सालको नयाँ वर्ष भर्खरै मनायौँ । 

खासगरी यो दिन भनेको आफूले वर्षभरि गरेका महत्वपूर्ण काम सम्झिने र कुनै गलत काम गरेको भए त्यसलाई सुधार्ने समय हो । तैपनि नयाँ  वर्ष मनाउने तरिका  बेग्लाबेग्लै हुन सक्छन् । कसैले साथीहरूसँग घुमघाम गरेर मनाउँछन् भने कसैले घरमै परिवारसँग बसेर मनाउँछन् । 

हरेक साल सकिएर अर्को सालको सुरुवातको दिनलाई हामी नयाँ वर्षका रूपमा मनाउँछौँ । सरकारीस्तरमै विक्रम संवत्को पात्रो चलाउने गरिएको हुँदा नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । 

हामीले चाहिँ यसपालिको नयाँ वर्षका दिन परिवारका सबै सदस्य र केही नातेदारसमेत भेला भएर वर्षभरि आफूहरूले गरेका राम्रा र नराम्रा कुराका बारेमा खुला रूपमा छलफल ग-यौँ । सामूहिक रूपमा खाना खायौँ । त्यो जमघटमा, आमाले बनाएका मिठा खानेकुरा खाँदै गर्दा मैलेचाहिँ एउटा कागजमा आफूले वर्षभरि गरेका राम्रा कामको सूची नै बनाएँ । 

सुधार्नुपर्ने नराम्रा बानीको सूची अर्को कागजमा बनाएँ । त्यसबारे आमाबुवासँग छलफल गरेँ र नराम्रा बानी कसरी सुधार गर्न सकिन्छ भनी सुझाव मागेँ । साथै मेरा पढाइ र विद्यालयमा प्राप्त गर्ने ग्रेड कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि योजना बनाएँ ।  सामाजिक सञ्जालबाटै भए पनि आफ्ना साथीहरूसँग शुभकामना आदानप्रदान गरेँ । मलाई लाग्छ, तपाईंहरूले पनि नयाँ वर्ष यसरी नै अथवा अझ रमाइलो गरी मनाउनुभयो होला ।