• १० फागुन २०८२, आइतबार

बिदामा सौराहा सफारी

blog

हाम्रो जीवनमा यात्राले विशेष स्थान राख्दो रहेछ । यात्राबाट नयाँ ठाउँ घुम्न, हेर्न, त्यहाँका बारेमा थाहा पाउन, नयाँ संस्कार सिक्न र नयाँ अनुभव पाउन सकिन्छ । म पनि तिहारको बिदामा सपरिवारसाथ काठमाडौँबाट चितवनको प्रसिद्ध पर्यटकीय स्थल सौराहा घुम्न गएँ । 

यो यात्रा मेरा लागि जीवनकै नौलो, रमाइलो र स्मरणीय रह्यो । सौराहा जानका लागि बिहान ४ बजे उठ्यौँ किनकि टुरिस्ट बस चढ्न बिहान ७ बजे नै सोह्रखुट्टे पुग्नुपर्ने थियो । मसँगै सौराहा घुम्न दिदी र भिनाजु पनि अघिल्लो साँझ नै ट्याक्सी चढेर हामीकहाँ आउनुभएको थियो । 

बिहानको समयमा काठमाडौँ–सौराहा, पोखरा, बुटवल–भैरहवा चल्ने टुरिस्ट बसको सोह्रखुट्टेमा लामो लाइन थियो । स्वदेशी तथा विदेशी पर्यटक आफू चढ्ने बस खोज्न यत्रतत्र दौडिएका भेटिन्थे । म र मेरो बाबा पनि हामी चढ्ने बस खोज्न थाल्यौँ । भेटेपछि हाम्रो यात्रा सुरु भयो– काठमाडौँदेखि सौराहा । 

टुरिस्ट बस भएकाले होला यात्रा आरामदायी बन्यो । यात्राका क्रममा बाटोमा देखिएका दृश्य अत्यन्तै सुन्दर थिए । हरियाली पहाड, कलकल बग्ने नदी, सडक किनारका सहरबस्ती र टाढाको गाउँबस्ती सबै मनमोहक देखिन्थे । बिचमा पुगेपछि म त भुसुक्क निदाएँ छु । यात्राको केही घण्टापछि बस मलेखुमा रोकियो । त्यहाँ हामीले खाना नास्ता खायौँ । त्यसको १५ मिनेटपछि पुनः यात्रा सुरु ग¥र्यौँ । अर्को पटक अपरिचित ठाउँमा रोकियो, जहाँ हामीले शौचालय प्रयोग ग¥यौँ । 

दिउँसो हामी सौराहा पुग्यौँ । सौराहा बसपार्कमा बसबाट ओर्लिंदा धेरै यात्रु होटेलतिर लाग्ने प्रयास गरिरहेका थिए तर हामीले पहिले नै होटेल बुक गरिसकेकाले दुई वटा अटो चढेर होटेल पुग्यौँ । 

तिहार भएकाले होला होटेल पुग्दा वातारण शान्त थियो । धेरै पाहुना थिएनन् । हामी बस्ने कोठा सफा, चिटिक्क पारी मिलाइएको थियो । केही समय आराम ग¥यौँ र सुत्यौँ । बेलुकीतिर सौराहा बजार भ्रमण गर्न बाहिर निस्क्यौँ । 

बाटोमा देउसी–भैलो कार्यक्रम भइरहेका दृश्य थुप्रै देख्यौँ । देउसी भैलोमा प्रस्तुत गीतसङ्गीत, नृत्य रमाइलो थियो । केही समय त्यसको मजा लिएर हामी फेरि होटेल फर्कियौँ । म, बुवा र भिनाजु नानरोटी र तरकारी खान रेस्टुरेन्ट गयौँ तर त्यहाँको खाना मलाई खासै स्वादिलो लागेन । त्यसपछि होटेल फर्किएर चिया पियौँ र निदायौँ । 

भोलिपल्ट बिहान सबेरै उठ्यौँ । होटेलले नै व्यवस्था गरेको गाडी चढेर जङ्गल सफारीका लागि निस्क्यौँ । जङ्गल सफारी मेरो जीवनको पहिलो अनुभव थियो, जुन निकै रोमाञ्चक बन्यो । बिहान ७ बजेबाट सुरु भएको सफारी दिउँसो १२ बजेसम्म रह्यो । 

सफारीका क्रममा घना जङ्गलभित्र गैँडा, मृग, हरिण, हाँस, मयूरलगायत विभिन्न वन्यजन्तु र चराचुरुङ्गी रमाउँदै गरेको मनमोहक दृश्य देख्न पाइयो । स्थानीय गाइडले चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँभित्र पाइने जनावरको इतिहास पनि सुनाए ।

विभिन्न खोला खोल्सा र बाक्लो जङ्गल भएको स्थान देखाउँदै गाइडले भन्ने गर्थे, “अस्ती बाघले यहाँनेर मान्छे मा¥यो, यो खोल्सामा हात्तीले सफारी गरिरहेका पर्यटकलाई लखेट्यो ।” गाइडको डर लाग्दो कुरा सुनेर झस्किन्थ्यौँ । 

करिब पाँच घण्टाको सफारीपछि हामी होटेल फर्कियौँ । खाना खाइसकेपछि होटेलकै स्विमिङ पुलमा पौडी खेल्दै रमायौँ । दुई दिनको सौराहा बसाइलाई बिट मार्दै त्यसपछि हामी म्याजिक गाडीमा बसेर चितवनकै सिमलघारीस्थित ठुली आमाको घर पुग्यौँ । 

सौराहाबाट ठुली आमाको घर पुग्ने बाटोमा खेतबारी, वन र गाउँबस्तीका दृश्य रमाइलो नै थिए । चितवन–सौराहा यात्रा मेरो जीवनका सुन्दर अनुभवमध्ये एक बन्यो । त्यो यात्राले मलाई प्रकृतिप्रतिको माया, परिवारसँगको रमाइलोसँगै नेपालको सुन्दरता बुझ्न मौका मिल्यो । 

काठमाडौँ–चितवन–सौराहा यात्रा समयको दृष्टिकोणले छोटो भए पनि मेरा लागि हरेक पल  स्मरणीय र ज्ञानवर्धक बन्यो । तिहारको भाइटीका ठुली आमाको छोरी (दिदी मन्दिर र शर्मिला) को हातबाट टीका ग्रहण गरी त्यसको भोलिपल्ट काठमाडौँ फर्कियौँ । 

   मुना