• १४ मंसिर २०८१, शुक्रबार

बुटवलमा अखाद्य मासु बिक्री गरेको आशङ्कामा अनुगमन

blog

अनुगमनपछि बरामद मासु नष्ट गर्दै उपमहानगर प्रमुख ।

छविलाल पाण्डे 

बुटवल, जेठ २४ गते । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरले मासु पसलहरू र सप्लायर्सहरुमा अनुगमन थालेको छ । बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैधरुपमा मासु र मासुजन्य पदार्थहरू भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरूमा अनुगमन थालेको हो ।

जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज नफत गरी नष्ट गरेको छ ।

बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी सङ्घ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रीदेवी अर्यालले बताउनुभयो ।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, बेस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरू एकै ठाउँमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरुलाई चेतावनी दिँदै सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकाहरूलाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने बताउनुभयो ।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरूबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताउनुभयो ।

मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपंक्षी वध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताउनुभयो ।