चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ५ गते। ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो।
भलिबल उपाधि जितसँगै भोजपुरले तीन लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको सभापोखरीले एक लाख ७५ हजार रुपियाँमा चित्त बुझाउनु परेको छ। पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगितामा सात टोली सहभागी भएका थिए।
जिल्ला सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो बजार दोभानमा गत पुस २ गतेदेखि प्रतियोगिता सुरु भएको थियो। दोभान बजार मेरिङ्देन गाउँपालिका–३, खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका–५, चाँगेकोको सङ्गमस्थलमा पर्दछ। भलिबलसँगै व्या ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरिएको पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङ्बाङले जानकारी दिनुभयो।
शनिबार (आज) बेलुका प्रकाश सपूत सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिमा वृहत साङ्गीतिक कार्यक्रम सञ्चालन हुने पनि चोङ्बाङले बताउनुभयो। ऐतिहासिक पुसे मेला विगत ५२ वर्ष अधिदेखि निरन्तर आयोजना हुँदै आएको पनि उहाँले जानकारी दिनुभयो।