• ५ पुस २०८२, शनिबार

पोखरी तालमा वनभोज खान जानेको भिड (तस्बिरसहित)

blog

बोमलाल गिरी

नवलपुर, पुस ५ गते । नवलपुर सदरमुकाम कावासोतीको महाराजा धार्मिक वनमा रहेको पर्यटकीयस्थल पोखरी तालमा वनभोज खान जानेको लर्को लागेको छ । पुस ५ गते शनिबारको दिन यहाँ वनभोज गर्न जानेको भिड लागेको हो ।

पूर्व–पश्चिम राजमार्गको फलफूल चोकदेखि साढे पाँच किलोमिटरको दुरीमा रहेको पोखरी तालमा शनिवार एकै दिन जिल्ला भित्रका ३० वटा समुह वनभोजका लागि पुगेका वनका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले एउटा वनभोज स्थलको शूल्क १२ सय रुपियाँ लिने गरेको छ । यसरी समितिले एकै दिन स्थल शूल्कबाट ३७ हजार कमाएको छ । यसरी कमाएको रकम वनभोज स्थल व्यवस्थापन मै खर्चिएको श्रेष्ठको भनाइ छ ।

शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पनि यत्तिकै भिडभाड हुने गरेको उहाँले बताउनुभयो । सदरमुकामबाट नजिक, फराकिलो र पर्यटकीय क्षेत्र भएकाले वनभोजका लागि पोखरी ताल उपयुक्त गन्तव्य बन्दै गएको छ । वनभोजका लागि स्टलहरू थोरै र भिड बढी हुन थालेकाले स्टल थप्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

महाराजा धार्मिक वनको काखमा रहेको यहाँ वनस्पती सङ्ग्रहालय समेत रहेको छ । जहाँ एक सय २८ प्रजातिका बोटबिरुवाको अवलोकन गर्न पाइने समितिले जनाएको छ । १७।७० हेक्टर क्षेत्रफलमा फैलिएको ताल मर्मतको काम चलिरहेकाले अहिले तालमा पानी भने छैन ।

ताल व्यवस्थापनका लागि कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा तीन करोड पाँच लाख रुपियाँ विनियोजन गरेको थियो भने चालु आवमा गण्डकी प्रदेशले ७० लाख विनियोजन गरेको थियो । तर उक्त रकम अझै कार्यान्वयनमा नआएको श्रेष्ठले बताउनुभयो । कावासोती १ नम्बर वडाले दुई लाख रुपियाँ विनियोजन गरेको छ ।