संयुक्त राष्ट्र, पुस ५ गते । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सुडानमा संयुक्त राष्ट्रको रसद केन्द्रमाथि गरिएको विस्फोटक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । उक्त आक्रमणमा बङ्गलादेशका छ जना शान्ति सैनिकको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।
शुक्रबार जारी गरिएको वक्तव्यमा सुरक्षा परिषदका सदस्यले दिवङ्गत शान्ति सैनिकका परिवारप्रति तथा बङ्गलादेश सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइते सैनिकको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ । गत शनिबार सुडानको दक्षिण कोर्डोफान प्रदेशअन्तर्गत काडुग्ली क्षेत्रमा उक्त आक्रमण भएको हो ।
परिषदका सदस्यले संयुक्त राष्ट्रको रसद केन्द्र र अबिएई क्षेत्रमा तैनाथ शान्ति सैनिकमाथि गरिएको योजनाबद्ध आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । परिषदको ठहरअनुसार यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ । सुरक्षा परिषदले शान्ति सैनिकलाई लक्षित गरी गरिएका सबै प्रकारका आक्रमण तथा उक्साहटको कडा भर्सना गर्दै दोषीलाई ढिलाइ नगरी कारबाही गर्न माग गरेको छ ।
परिषदका सदस्यले शान्ति सैनिकमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध मानिन सक्ने स्पष्ट पारेका छन् । साथै, घटनाको शीघ्र अनुसन्धान गर्न र सैनिक योगदान गर्ने देशलाई अनुसन्धानको प्रगतिबारे जानकारी गराउन संयुक्त राष्ट्रलाई आग्रह गरिएको छ ।
त्यसै गरी, परिषदले सुडान र दक्षिण सुडानका सम्बन्धित निकायलाई संयुक्त राष्ट्रका भवन, कर्मचारी तथा शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपाय अपनाउन आग्रह गरेको छ । विवादित अबिएई क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सुडान र दक्षिण सुडानबिच थप सहकार्य आवश्यक रहेकोमा परिषदले जोड दिएको छ । रासस/सिन्ह्वा