• ५ पुस २०८२, शनिबार

सिरिया-इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

blog

वासिङ्टन, पुस ५ गते । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।

वासिङ्टनका अनुसार, पाम्यारा सहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाम्यारा युनेस्को सूचीमा सूचीकृत प्राचीन भग्नावशेषको लागि प्रसिद्ध छ र पहिले जिहादी लडाकूको नियन्त्रणमा रहेको थियो । उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

यसको जवाफमा, अमेरिकी सेनाले ‘सिरियाका विभिन्न स्थानमा युद्धपोत, आक्रमण हेलिकोप्टर र तोपखानाको प्रयोग गरी ७० भन्दा बढी लक्ष्यमा हमला गरेको’ सेन्ट्रल कमान्डले जनाएको छ । सेन्ट्रल कमान्डका अनुसार, ‘सञ्चालनमा सयभन्दा बढी सटिक हतियार प्रयोग गरेर आतङ्कवादी पूर्वाधार र हतियार भण्डारमा लक्षित गरिएको’ थियो ।

राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जालमा लेख्नुभयो, “अमेरिका जिम्मेवार आतङ्ककारीमा गम्भीर प्रतिशोध गरिरहेको छ ।” सेन्ट्रल कमान्डले पाम्यारा आक्रमणपछि अमेरिकी र साझेदार सेनाले सिरिया र इराकमा १० वटा अभियान सञ्चालन गरेका छन्, जसमा २३ आतङ्ककारी मारिएका वा पक्राउ परेका छन् ।

सिरियाको विदेश मन्त्रालयले शुक्रबारको आक्रमणमा सिधा टिप्पणी नगरे पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छ,“देश आतङ्कवादी समूहसँग लड्न प्रतिबद्ध छ र ‘सिरियामा कुनै सुरक्षित ठाँउ नहोस् भनेर अभियान जारी राख्ने छ ।” पाम्यारा आक्रमणमा मारिएका अमेरिकी आइओवा राज्यको राष्ट्रिय गार्डका सर्जन्ट विलियम होवार्ड र एडगर टोरेस टोवार र मिशिगनका नागरिक अयाद मन्सूर साकात हुन् । उहाँ अनुवादकको रूपमा कार्यरत थिए ।

यो आक्रमण लामो समयदेखि सत्तामा रहेका बशर अल-असदको पदच्युत पछि पहिलो घटना हो । गृह मन्त्रालयका प्रवक्ता नुरुद्दिन अल-बाबा अनुसार, आक्रमण गर्ने व्यक्ति सुरक्षा बलको सदस्य थियो र आफ्नो चरम इस्लामवादी विचारका कारण हटाइने तयारीमा थियो । आइएससँग लड्न अमेरिकी सेनाका कर्मचारीले ‘आतङ्कवादी विरोध अभियान’ मा सहयोग गरिरहेका थिए । 

सन् २०१४ मा आइएसले सिरिया र इराकमा ठुलो भू-भाग कब्जा गरेको थियो । जिहादी अन्ततः स्थानीय भूमि सेनाले अन्तर्राष्ट्रिय हवाई आक्रमणको सहयोगमा पराजित भए पनि आइएस अझै सिरियामा सक्रिय छ । हाल अमेरिकी सेना सिरियाको कुर्द नियन्त्रण क्षेत्रमा र जॉर्डन सिमानामा रहेका अल-तान्फमा तैनाथ छन् । रासस/एएफपी