• १४ मंसिर २०८१, शुक्रबार

पूर्व राज्यमन्त्री चौधरीको निधन

blog

गोकर्ण पौडेल 

तुलसीपुर, जेठ २४ गते । संविधान सभा सदस्य एवम् पूर्व राज्यमन्त्री महेश चौधरीको आज दिउँसो निधन भएको छ । दंगीशरण गाउँपालिका –४ वैवाङ  निवासी चौधरीको ७० वर्षको उमेरमा उपचारका क्रममा आज निधन भएको हो । चौधरीको बुधबार मध्यान्ह राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जनाउनुभएको छ । 

उहाँ २०५३ सालमा स्थानीय विकास राज्यमन्त्री र २०६४ सालमा संविधान सभा सदस्य समेत हुनुहुन्थ्यो । २०४८ सालमा राष्ट्रिय सभा सदस्यको जिम्मेवारीमा उहाँ रहनुभएको थियो । 

चौधरी राजनीतिका साथै पत्रकारिता, साहित्यिक लेखन क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । २०२८ सालमा दाङ जिल्लामा चलेको पञ्चायतविरुद्धको ‘गोचाली’ पत्रिका प्रकाशन गरी अभियान सञ्चालन गर्नुभएको थियो । 

चौधरीले लेख्नुभएको नेपालको तराई तथा यसका भूमिपुत्रहरु, स्थविरहरूको प्राचीन इतिहास र संस्कृति, दि हिडन ट्रेजर अफ दि लो ल्याण्ड अफ नेपाल, थारु भाषा लिरौसी व्याकरण पुस्तक चर्चित छन् । उहाँले छारा गीति नाटक पनि लेख्नुभएको छ । उहाँका अझै आधा दर्जन कृति प्रकाशोन्मुख रहेको परिवारका सदस्यको भनाइ छ । 

थारु लोकसाहित्यमा विशेष योगदान रहेको संस्कृतिविद् अशोक थारुका अनुसार उहाँ महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन समेत गर्नुभएका थियो । पछिल्लो समय गाउँमै जैविक मल उत्पादनका लागि उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा एक छोरी हुनुहुन्छ ।