• ४ वैशाख २०८१, मङ्गलबार

स्वास्थ्य बीमाको पहुँच

blog

बीमा सुविधाअन्तर्गत सेवा लिन लुम्बिनी प्रादेशिक अस्पतालमा लागेको भिड । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, जेठ १८ गते । अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको छ । पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बीमाले निकै सजिलो भएको बीमाकर्ताहरू बताउँछन् । 

लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक न्यूनतम तीन सय जना स्वास्थ्य बिमा गरेका बिमितहरू नियमित सेवा लिन अस्पतालमा आउन थालेको अस्पतालको भनाइ छ । त्यस्तै, भीम अस्पताल भैरहवामा पनि स्वास्थ्य बीमा गरेका बिमितहरु उल्लेख्य मात्रामा उपचारमा आउने गरेका छन् । 

अस्पतालका अध्यक्ष नारायणप्रसाद भण्डारीले बीमाको पहुँच नागरिकमा बढ्दै गएका कारण सेवा लिन आउनेको सङ्ख्या पनि बढेको बताउनुभयो । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । स्वास्थ्य बिमाबाट बिमित परिवारलाई एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बीमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरूपमा वृद्धि भएको छ ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले लागु गरेको बिमा कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा १० लाख बढी आबद्ध भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा अहिले स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ । जस अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा सबै भन्दा बढी बिरामीहरूले स्वास्थ्य बिमा बापत सेवा लिएका छन् ।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक साउदका अनुसार बीमा गराउने महिलाको सङ्ख्या पाँच लाख २६ हजार सात सय ३३ जना र पुरुषको सङ्ख्या चार लाख ६ हजार १५२ जना रहेका छन् । साउदका अनुसार अन्य लिङ्ग एक सय १३ जनाले प्रदेशभरमा स्वास्थ्य बीमा गराएका छन् । लुम्बिनी प्रदेशमा कुल १० लाख १२ हजार ९०९ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

प्रदेशमा सबैभन्दा बढी रुपन्देही जिल्लामा एक लाख ४० हजार ९५ जना र सबैभन्दा कम रुकुम पूर्वमा छन् । जसमा जम्मा सात हजार सात सय ८५ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बीमा नियमावली –२०७५ अनुसार ६ प्रकारका व्यक्तिहरूलाई स्वास्थ्य बीमा निःशुल्क गरेको छ ।

पूर्णरुपमा निःशुल्क बीमा हुनेहरूमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातोकार्ड अङ्कित अपाङ्गता भएका (क) वर्गका व्यक्ति, एमडिआर टीबी भएका व्यक्ति र परिवार, एचआइभी सङ्क्रमित र परिवारको सदस्य, कुष्ठरोग प्रभावित परिवार, अति गरिबिको परिचय पत्र भएका व्यक्तिहरु र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि ५० प्रतिशत बीमा शुल्क मिनाहा गरिएको छ ।

प्रदेशका सरकारी, सामुदायिक स्वास्थ्य संस्थाको अलावा दुई वटा निजी अस्पतालमा समेत स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल, देवदहमा रहेको देवदह मेडिकल कलेज तथा रिसर्च सेन्टरमा स्वास्थ्य बीमा लागु गरिएको छ ।

स्वास्थ्य बीमा एक वर्षको लागि हुन्छ । जसमा पाँच जनाको परिवार बराबर एक वर्षमा तीन हजार ५०० रुपियाँ तिरेमा बीमा हुन्छ । जसमा पाँच जना भन्दा बढी व्यक्ति भएमा थप ७०० रुपियाँ लाग्ने गर्दछ ।