• ६ कात्तिक २०८२, बिहिबार

नौ महिनादेखि बन्द छ सडक

blog

पर्खालको जग खन्दा भत्केको सडक । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ६ गते । कालीकोटको सदरमुकाम मान्म प्रवेश गर्ने सडक बन्द भएको नौ महिना पुगेको छ । २०८१ फागुनको तेस्रो साता नगरपालिकाको प्रशासनिक भवन निमार्णका लागि जग खन्दा सडक भत्केका कारणले बाटो बन्द भएको हो । 

नौ महिनादेखि सडक बन्द हुँदा नागरिकले सास्ती खेपिरहेका छन् । नगरको प्रशासनिक भवन निर्माणको ठेक्का पाएको आरएनसिएस बिल्डर्सले जग खन्ने क्रममा माथिबाट सडकसहितको सुख्खा पहिरो झरेपछि फागुन यता सडक पूर्णरुपमा बन्द हुँदा बजारका ब्यापारीदेखि आम नागरिकले दुःख पाइरहेका छन् । निर्माण ब्यबसायीले आफ्नो सम्झौतामा भत्केको सडक बनाउने उल्लेख नभएकाले आफूले बनाउन नसक्ने बताउनुभयो ।

नगरपालिकाले सडक बनाउन चासो नदिएकाले लामो समय सदरमुकाम मान्म बजारको मूल सडक अवरुद्ध छ । सडक बन्द हुँदा बिरामीलाई दुःख भएको स्थानीयको भनाइ छ । डोको वा स्टेचरबाट बिरामीलाई तल्लो सडकसम्म लग्नुपर्ने बाध्यता रहेको छ ।

नौ महिनासम्म न निर्माण ब्यबसायी साइटमा आउँछन्, न त नगरपालिकाले चासो दिन्छ स्थानीय कर्णप्रसाद चौलागाईले भन्नुभयो । आफ्नो घर पनि कहिले तल्लो सडकसम्म पुग्छ एकिन नभएको भन्दै जनप्रतिनिधिको स्वार्थ, निर्माण ब्यबसायीको रुपियाँ बचाउने दोहोरो स्वार्थले २० घर पहिरोको उच्च जोखिममा रहेको चौलागाईले गुनासो गर्नुभयो ।

सडक समयमा नबन्दा बिरामी, ब्यापारीका साथै बैंकका लागि आउने रुपियाँ समेत नेपाली सेनाले बोकेर पुगाउने गरेका छन् । सडक निर्माण नगर्ने ठेकेदारको ठेक्का तोड्न सुझाव स्थानीयले दिए पनि ठेकेदारले आफ्नो पैसा लगानी भइसकेको भन्दै ठेक्का तोड्न नमानेको स्थानीयको भनाइ छ ।