• ६ कात्तिक २०८२, बिहिबार

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

blog

काठमाडौँ, कात्तिक ६  गते ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले तिहारले आपसी सम्मान भावका लागि अनुपम सन्देश दिएको बताउनुभयो । उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति र सम्प्रदायका चाडपर्व, संस्कृतिले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटोमा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गर्ने बताउँदै अध्यक्ष नेपालले सबै समुदायकाबीच आपसी सहयोग, सद्भाव, भ्रातृत्व कायम गरी सामाजिक न्याय, समानता, सुशासनयुक्त राज्य निर्माणमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै देश विकासमा क्रियाशील हुन सबैमा प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । रासस