• ६ कात्तिक २०८२, बिहिबार

संस्कृति जोगाउन देउसीभैलो खेल्दै दृष्टिविहीन

blog

लालबन्दी बजारमा देउसीभैलो खेल्दै गरेका दृष्टिविहीन । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, कात्तिक ६ गते । तिहारको अवसरमा सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीन मिलेर देउसीभैलो खेलिरहेका छन् । साँस्कृतिक जगेर्ना गर्ने मुख्य उद्देश्यसहित दृष्टिविहीनले तीन दिनदेखि देउसीभैलो खेलिरहेका हुन् ।

नेपाल नेत्रहीन सङ्घ मधेश प्रदेशको आयोजनामा विभिन्न जिल्लामा देउसीभैलो खेलेर हिँडिरहेको सङ्घका प्रदेश अध्यक्ष लक्ष्मेश्वर महतो कुशवाहाले जानकारी दिनुभयो ।

साँस्कृतिक जगेर्नासहित शिक्षामा पहुँच, अध्ययन सामग्री उत्पादन, छात्रवृत्ति कोष, आत्मनिर्भर प्रवर्धन र क्षमता विकासका लागि देउसीभैलो खेल्दै हिँडेको महतोले बताउनुभयो । दृष्टिविहीनको समूहले बुधबार दिउँसो पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी बजारमा देउसीभैलो खेलेको छ । 

सिन्धुलीको दुधौली, महोत्तरीको गौरीडाँडा, बर्दिवास, गौशालालगायत स्थानमा देउसीभैलो खेलेर लालबन्दी आइपुगेको नेपाल नेत्रहीन सङ्घ मधेश प्रदेशकी कोषाध्यक्ष अन्जु धितालले जानकारी दिनुभयो । उहाँका अनुसार देउसीभैलोमा सर्लाही, महोत्तरी, रौतहट र बाराका विभिन्न विद्यालयमा अध्यापन गराउने दृष्टिविहीन शिक्षक, दृष्टिविहीनको साँस्कृतिक टोलीलगायत सामेल छन् । 

आफै देउसी भट्याउने, गीत गाउने गर्दै अघि बढिरहेको दृष्टिविहीनको देउसीभैलोमा स्थानीय वासिन्दा, व्यवसायी, बटुवालगायतले आर्थिक सहयोग गरिरहेका छन् । तिहारमा वर्षेनि यसैगरी देउसीभैलो खेल्ने गरिएको नेपाल नेत्रहीन सङ्घ मधेश प्रदेशका साधारण सदस्य शिवेन्द्र यादवले बताउनुभयो ।