• १६ चैत २०८०, शुक्रबार

२०२३-२०३२ लाई पर्यटन दशकका रूपमा मनाइने

blog

काठमाडौं, जेठ १६ गते । सरकारले सांस्कृतिक सम्पदाहरूको संरक्षण र  संवर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने घोषणा गर्नुभएको छ । 

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने घोषणा गर्नुभएको छ । 

बजेटमा पर्यटक प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने, नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रिय स्तरमा सघन प्रचार प्रसार गरिने, सन् २०२३-२०३२ लाई पर्यटन दशकका रूपमा मनाइने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपाल घुमौँ, नेपाल चिनौँ भन्ने नारा सहित अभियान सञ्चालन गरिने, स्थानीय जात्राm संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरिने, हिमाली क्षेत्रको सुन्दरताको अवलोकन तथा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्न पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म जोड्ने ग्रेट हिमालयन ट्रेल निर्माण कार्यलाई तीव्रता, दिइने, रोल्पा, रुकुम र डोल्पा जिल्लाका ऐतिहासिक एवं सांस्कृतिक पक्षलाई पर्यटनसँग जोड्ने गरी पर्यटकीय पदमार्ग निर्माण गरिने, पशुपति क्षेत्रको बृहत् गुरुयोजना कार्यान्वयनमा ल्याइने, लुम्बिनी गुरुयोजना बाँकी कार्यलाई निरन्तरता दिइने, खोटाङको हलेसी–तवुाचुङ क्षेत्र, मधेश प्रदेशको मिथिला क्षेत्र र बाजुराको बडिमालिका क्षेत्रलाई खुल्ला सांस्कृतिक सङ्ग्रहालय को रूपमा विकास गरिने, गोरखा जिल्लामा जनजातिको संस्कृति र जीवनशैली झल्किने गरी जीवन्त सङ्ग्रहालय स्थापना गर्न प्रक्रिया अघि बढाइने, ऐतिहासिक पुरातात्त्विक स्थलहरूको अन्वेषण, उत्खनन् र संरक्षण कार्यलाई निरन्तरता दिइने, भूकम्पबाट क्षतिग्रस्त भएका भक्तपुर दरबार क्षेत्र, हनुमानढोका, नुवाकोटको सात तले दरबार लगायतका २५ वटा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गरिने, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा रहेका गुम्बा पुनर्निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख छ । 

अर्थमन्त्री डा. प्रकाश शरण महतले पर्यटन सम्भावना उच्च भएका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको विकास गरिने लगायत नयाँ पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकास तथा अन्य पर्यटन पूर्वाधार निर्माण समेत गरी दुई अबै १३ करोड विनियोजन गरिएको बताउनुभयो । 

यस्तै, कोशी प्रदेशको पाथीभरा, हलेसी, किँरातहरुको उद्गमस्थल तुवाचुङ्ग र चतराबराह क्षेत्र, मधेश प्रदेशको गढीमाई र छित्रमस्ता, बागमती प्रदेशको दोलखा भीमसेन र दुप्चेश्वर महादेव, गण्डकी प्रदेशको मुक्तिनाथ, देवघाट त्रिवेणीधाम र लुम्बिनी प्रदेशको स्वर्गद्वारी, रेसुङ्गा क्षेत्र र थारु समुदायको ऐतिहासिक स्थल दंगीशरण क्षेत्र, कर्णाली प्रदेशको छत्रेशवरी भगवती, चन्दननाथ र पन्चकोशी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशको बडिमालिका, घटालथान, खप्तड र मणिका मन्दिरको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिनेसमेत उल्लेख गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ ११ अर्ब ९६ करोड विनियोजन गरिएको छ ।