• १६ वैशाख २०८३, बुधबार

युवाको सक्रियतामा भजन साँझ

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), वैशाख १६ गते । परम्परागत लोकभजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तम्घासका युवा सक्रिय देखिएका छन् । स्थानीय १८ जना युवाले स्वःस्फूर्त ‘रेसुङ्गा भजन साँझ’ गरिरहेका छन् । पहिलो चरणमा नगरभित्रका सबै प्रसिद्ध धार्मिक स्थलमा पुगेर भजन गाउने र बिस्तारै जिल्लाभर विस्तार गर्ने अभियन्ता निशेष श्रेष्ठले बताउनुभयो । 

स्थानीय जनसमुदायसँग भजन गाउने र सामूहिक रूपमा रमाउने कार्यले स्थानीय सांस्कृतिक वातावरणमा नयाँ ऊर्जा भरेको श्रेष्ठले बताउनुभयो । उहाँले आफूहरू सिक्दै पनि रहेकाले पुराना पुस्ता र व्यावसायिक भजन कलाकारलाई सँगै राखेर भजन गाउनुका साथै युवाले गोजीबाट पैसा निकालेर भजनको व्यवस्थापन गर्ने र स्वःस्फूर्त प्राप्त सहयोग रकमबाट वाद्यवादनका सामग्री खरिद गर्ने गरेको छ भन्नुभयो । अभियन्ता श्रेष्ठका अनुसार सबै युवा कुनै न कुनै व्यवसाय वा उद्यमसँग आबद्ध भएकाले समय व्यवस्थापन नै प्रमुख चुनौती रहेको बताउनुभयो ।

युवाको यस अभियानले आधुनिकता र प्रविधिको प्रभावले ओझेलमा पर्न थालेका लोकभजनलाई पुनर्जीवित गर्न महत्वपूर्ण योगदान पु‍¥याएको छ । भजन केवल धार्मिक आस्था मात्र नभएर मनोरञ्जनका माध्यमबाट सामाजिक एकता र मानसिक शान्ति प्राप्त हुने गर्दछ । कार्यक्रममा स्थानीय बासिन्दाको समेत उत्साहजनक सहभागिता रहने गरेको छ । 

भजन रातभर हुँदैन । साँझ ६ बजेबाट ८ बजे दुई घण्टासम्म हुने गरेको छ । संस्कृति पुस्तान्तरणका लागि हरेक गाउँमा युवाको यस्तै एकता र ऊर्जा चाहिने राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य जनक पन्थले बताउनुभयो ।