• ९ मंसिर २०८१, आइतबार

गणतन्त्रका प्रतीक

blog

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारक १५ वर्षदेखि मुलुकमा चलिरहेको जनताको शासनको प्रतीकका रूपमा रहेको छ । स्मारकभित्र हिमाल, पहाड र तराई झल्किने गरी ठुलो नक्सा निर्माण गरिएको छ । स्मारकमा चार वटा स्तम्भ निर्माण गरिएको छ; जुन स्तम्भले गणतन्त्र प्राप्तिको क्रममा भएका आन्दोलन, आन्दोलनको क्रममा मृत्यु भएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएका व्यक्तिको स्मरण गराउँछ ।

स्मारकसँगै आकर्षक बगैँचासमेत निर्माण गरिएको छ । दिनभरिको व्यस्तताबाट एकछिन भए पनि छुटकारा पाउन तथा शान्त वातावरण रुचाउनेहरूका लागि यो स्मारक क्षेत्र एउटा नयाँ गन्तव्य हुने विश्वाससमेत गरिएको छ । अपाङ्गतामैत्री रहेको यो स्मारक परिसरमा फोहरा तथा विशेष बत्तीको समेत व्यवस्था गरिएको छ । २०७२ मङ्सिर २१ गते सकिने गरी २०६९ चैतदेखि यो स्मारकको निर्माण कार्य सुरु भएको थियो । 

तोकिएभन्दा झन्डै चार वर्ष ढिलो गरी यो स्मारकको निर्माण सम्पन्न भएको थियो । ४२ करोड रुपियाँको लागतमा निर्माण भएको यो स्मारक निर्माणको जिम्मा बिकोई–स्काई–बङ्गलामुखी (जेभी) निर्माण कम्पनीले पाएको थियो । यो स्मारक निर्माणका लागि सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो तर सुरक्षा संवेदनशीलताका कारण ३५ रोपनी जग्गामा निर्माण भएको छ ।  यो संरचनालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा स्वदेशी, विदेशी पर्यटक तथा विदेशी पाहुनाका लागि पनि अवलोकनयोग्य बनाउनुपर्ने सुझाव सहरी विकास तथा भवन निर्माण विभागको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा २०७६ जेठ १५ गते यो स्मारकको उद्घाटन गर्नुभएको थियो । उद्घाटनसँगै सर्वसाधारणका लागि यो स्मारक खुला गरिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ सालमा यो स्मारकको शिलान्यास गर्नुभएको थियो ।

गणतन्त्र स्मारकको उद्घाटन भएको पनि चार वर्ष पूरा भएको छ तर यसको पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । सहरी विकास तथा भवन विभागले स्मारकको निर्माण कार्य सम्पन्न भएको भन्दै नारायणहिटी दरबार सङ्ग्रहालयलाई दुई वर्षअघि हस्तान्तरण गरेको थियो । स्मारकको माथिल्लो भाग अवलोकनका लागि खुला गरिए पनि तलको ग्यालरी भाग अझै खुला गरिएको छैन । ग्यालरी भागमा मुलुकको राजनीतिक परिवर्तनसँग जोडिएका तस्बिर अहिलेसम्म राखिएको छैन । विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने प्रयोजनका लागि निर्माण गरिएको हल पनि सञ्चालनमा आउन सकेको छैन । यही कारण स्मारकको ग्यालरी भाग खुला नगरिएको नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले जानकारी दिनुभयो । 

ग्यालरीमा मुलुकमा गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र बलिदानको सम्झना गराउने तस्बिर, वस्तु र कलाकृति राखिने छन् तर पानी चुहिएका कारण अहिलेसम्म नराखिएको सङ्ग्रहालय प्रमुख श्रेष्ठको भनाइ छ । त्यसैगरी ग्यालरीमा मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका झलक, सहिदका तस्बिर तथा नाम प्रदर्शन गरिने उहाँको भनाइ छ । उहाँका अनुसार बाहिरको भाग गणतन्त्र स्मारक उद्घाटन भएदेखि नै निरन्तर रूपमा अवलोकनका लागि खुला नै छ । 

स्मारकको सञ्चालन नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र व्यवस्थापन तथा सञ्चालन विकास समिति मातहत भइरहेको छ । दुई सय रुपियाँको टिकट लिएपछि एक जनाले नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारकको समेत अवलोकन गर्न सक्ने उहाँले बताउनुभयो । गणतन्त्र स्मारकको मात्र अवलोकन गर्न चाहनेले ५० रुपियाँको टिकट लिए पुग्छ ।

कीर्तिपुरमा गणतन्त्र स्तम्भ

गणतन्त्रको प्रतीकस्वरूप गणतन्त्र स्तम्भ निर्माण गर्न लागिएको छ । यस स्तम्भको निर्माण मुलुकको राष्ट्रिय योजनाको पहिलो प्राथमिकतामा सूचीकृत गरिएको छ । अहिले कीर्तिपुरको गाम्मखेलमा यस स्मारकको सानो रिपालिका बनाएर स्थापित गरिएको छ ।

मन्त्रीपरिषद्को तीन/तीन पटकको निर्णय र मुलुकका दुई जना प्रधानमन्त्रीले यसको शिलान्यास गर्नुभएको थियो । सहरी विकास तथा भवन विभाग मातहत यसको निर्माण कार्य अगाडि बढाइएको छ । पहिलो पटक २०६६ जेठ १५ गतेको मन्त्रीपरिषद्को बैठकले गणतन्त्र स्तम्भ स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीको रत्नपार्कमा यो स्तम्भको शिलान्यास गर्नुभएको थियो । त्यसपछि २०६७ असार २ गतेको मन्त्रीपरिषद्को निर्णयले रत्नपार्कमा यो स्तम्भको निर्माणस्थल साँघुरो हुन्छ भनी ललितपुरको गुँसीगालस्थित युएन पार्कमा बनाउने निर्णय गरेको थियो । विभिन्न कारण देखाउँदै ललितपुरमा पनि यो स्तम्भको निर्माण कार्य नभएपछि तत्कालीन सरकारले २०६९ वैशाख ७ गते यो स्तम्भ कीर्तिपुरको गाम्मखेलमा बनाउने निर्णय गरेको थियो । 

यो निर्णयबमोजिम तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ वैशाख १४ गते कीर्तिपुरको गाम्मखेलमा यो स्तम्भको शिलान्यास गर्नुभएको थियो । सहरी विकास मन्त्रालयका सिडिई तथा सूचना अधिकारी सुरेश वाग्लेले आर्थिक स्रोतको सुनिश्चितता हुन नसक्दा यो कार्य तीव्र रूपमा अगाडि बढ्न सकेको छैन । 

गणतन्त्र स्तम्भ निर्माण आयोजनालाई चालु आर्थिक वर्ष (आव २०७९/८०) मा मन्त्रालयको वार्षिक कार्यक्रममा समावेश गरिएको छ तर यो कार्यक्रमलाई अगाडि बढाउन आवश्यक बजेट भने छुट्याइएको छैन् । चालु आर्थिक वर्षमा यो आयोजनाको शीर्षकमा एक लाख रुपियाँ मात्र विनियोजन गरिएको छ । निर्माणस्थलसम्म पुग्न सक्ने गोरेटो बाटो, तारबार गरिए पनि अहिलेसम्म वातावरण प्रभाव मूल्याङ्न (इआइए) हुन सकेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कनको अभावमा समेत निर्माण कार्य अगाडि बढ्न नसकेको सहरी विकास मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार ९४ मिटर उचाइ र ६० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्तम्भको निर्माण मोडेल (रिपालिका डिजाइन) समेत तयार हुनुका साथै स्तम्भ निर्माण स्थलको माटो परीक्षण, बृहत् इन्जिनियरिङ डिजाइन तथा भूकम्प आउँदा स्तम्भलाई पर्न सक्ने असरबारे अध्ययन भई यसको प्रतिवेदन तयार भइसकेको छ ।

मन्त्रालयका अनुसार प्रस्तावित यो स्तम्भमा तीन वटा विभिन्न उचाइका अवलोकन स्थल हुने छ । पहिलो अवलोकन स्थल स्तम्भको २४ मिटर उचाइमा हुने छ भने दोस्रो अवलोकन स्थल ६३ मिटर उचाइमा हुने छ । पहिलो अवलोकन स्थलबाट १५० जना र दोस्रो अवलोकन स्थलबाट ११५ जनाले एकैचोटि काठमाडौँ खाल्डोको अवलोकन गर्न सक्ने छन् । स्तम्भको ८३ मिटर उचाइमा निर्माण हुने अवलोकन स्थल विशिष्ठ व्यक्तिका लागि मात्र खुला गरिने छ । 

त्यसैगरी स्तम्भको भुइँमा साढे चार मिटरका दुई वटा ग्यालरी निर्माण गरिने छ । सबभन्दा तल्लो ग्यालरीको नाम ‘नेपाल ग्यालरी’ र दोस्रो ग्यालरीको नाम ‘राजनीतिक गतिविधि ग्यालरी’ राखिने छ । राजनीतिक ग्यालरीमा मुलुकको राजनीतिक आन्दोलनका झलक, सहिदका तस्बिर र नाम प्रदर्शन गरिने छ । दुइटै ग्यालरी एकै पटक एक हजारदेखि दुई हजार जनाले अवलोकन गर्न सक्ने छन् ।

समुद्री सतहदेखि एक हजार ३१६ मिटर उचाइमा निर्माण हुने यो स्तम्भ तीन वटा खम्बामा अडिने छ । यो स्तम्भको तीन वटै खम्बाको मिलनले तराई, पहाड र हिमालबाट आएका भावना, इच्छाशक्ति र आकाङ्क्षालाई समेत एकीकृत रूपमा जोड्ने विषयलाई प्रतिनिधित्व गर्ने छन् । स्तम्भको तीन वटा खम्बाले नयाँ, न्यायोचित र सङ्घीय नेपाललाई दर्शाउँछ ।