हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक १२ गते । पथरी–११ फुटबल क्लबले पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरेको छ ।
मङ्गलबार पत्रकार सम्मेलन गरी ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो । मोरङको पथरीशनिश्चरे–१ स्थित क्लबले यस अघि नै कात्तिक १५ देखि २२ गतेसम्म पथरीशनिश्चरे गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने घोषणा गरिसकेको थियो ।
स्थानीय पथरी रङ्गशालामा हुने प्रतियोगितामा गत वर्षको विजेता विग्रेड ब्वाईज क्लब ललितपुर, एनआरटी क्लब काठमाडौँ, सङ्कटा फुटबल क्लब र झापा ११ फुटबल क्लबले प्रतिष्पर्धा गर्ने भएका छन् ।
यस्तै सलहेश फुटबल क्लब सिराहा,पाँचथर फुटबल क्लब फिदिम र आयोजक ईन्ट्रा पथरी ११ फुटबल क्लबले प्रतियोगितामा भाग लिनेछन् । भारतको पश्चिम बंगालस्थित सिलिगुडी कञ्चनजङ्घा फुटबल क्लब अन्तर्राष्ट्रिय क्लबको रुपमा प्रतियोगितामा सहभागि हुने भएको छ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुमन विकले प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो । विककाअनुसार प्रतियोगिताका विजेताले पाँच लाख र गोल्ड कप तथा उपविजेताले दुई लाख पचास हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रथम पुरस्कार ईन्ट्रा फाउण्डेसन अमेरिकाले सौजन्य गर्ने भएको छ । प्रतियोगितामा दर्शकलाई फुटबल हेर्न सजिलो होस भनेर आठ दाख रुपियाँ खर्च गरेर दुई हजार दर्शक अटाउने बाँसको प्याराफिट निर्माण गरिएको छ ।