सुधा देव
भारदह (सप्तरी), कात्तिक १२ गते । सानैदेखि पढाइमा रूचि राख्दै आउनुभएकी जिल्लाको तिरहुत गाउँपालिका –५ लोहजाराकी १८ वर्षिया अनुसाकुमारी सदा ८ हजार रूपियाँ तिर्न नसकेर कक्षा १२ उत्तीर्ण गरेको लाव्धाङ्कपत्र निकाल्न सक्नुभएको छैन । त्यसको अभावमा उहाँको उच्च शिक्षाको बाटो रोकिएको छ ।
आफ्नो समुदायको छात्राहरूमध्ये १२ उत्तीर्ण गर्ने आफ्नो गाउँको पहिलो उदाहरण बन्न सफल हुनुभएकी उहाँ आर्थिक अभावका कारण उच्च शिक्षाबाट बन्चित हुनुपरेको स्थानीय सगिया सदाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “शैक्षिक रूपमा जिल्लामा सबैभन्दा पछाडि परेको हाम्रो समुदाय अझै पनि शिक्षालाई प्राथमिकतामा राख्न सकेको अवस्था छैन् । त्यसैले हाम्रो समुदायमा पढेलेखेका व्यक्ति बिरलै पाउने हुनाले उहाँ १२ पास गरेर आफ्नो गाउँको लागि उदाहरण बन्न सफल हुनुभएको हो ।
उहाँ घरको काम र आवश्यकता परेका बेला अर्काको घरमा काम गरेर नियमित रूपमा १२ कक्षा उत्तीर्ण गर्नुभयो । मजदुरी गरेर परिवार पाल्दैआएको बाबुलाई ८ महिनाअघि ब्लड क्यान्सर भएर थला पर्नु भएपछि दुई जना भाइसहित आमाबाबुलाई दुई छाक हातमुख जोर्न समेत समस्या हुन थालेपछि श्री ठाकुरजी माध्यमिक बिद्यालय बकदुवा जण्डौलमाबाट कक्षा १२ उत्तीर्ण गरे पनि अहिलेसम्म व्याचलरमा उहाँ भर्ना हुनु भएको छैन ।
उहाँले भन्नुभयो, “सम्पत्तिको नाममा केही छैन् । बुबा रोगले ग्रस्त हुनुभएपछि दुई छाक टार्न र बुबाको उपचार गर्ने खर्च छैन । परीक्षा दिने बेलामा पनि क्याम्पसमा पैसा तिर्न बाँकी थियोे । बुबा बिरामी हुनुहुन्छ भन्ने थाहा पाएर परीक्षा दिनका लागि क्याम्पसले अनुमति दिए पनि परीक्षा दिएर उत्तीर्ण भएको प्रमाणपत्र निकाल्ने रूपियाँ छैन ।”