• ६ कात्तिक २०८१, मङ्गलबार

दृष्टिविहीनलाई आत्मनिर्भर बनाउन सीप आवश्यक

blog

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी कार्यक्रममा ।

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ १२ गते । दृष्टिविहीन व्यक्तिलाई उपयुक्त सीपसँग जोड्न आवश्यक रहेको वक्ताहरूले बताउनुभएको छ । दृष्टिविहीन तथा न्यून दृष्टियुक्त अपाङ्गता भएका व्यक्तिका लागि उपयुक्त सीपसँग जोड्न आवश्यक रहेको भन्दै पाठ्यक्रम तयार गर्न लागिएको बताइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त अपाङ्गता भएका व्यक्तिका लागि उपयुक्त सीपसँग जोड्न आवश्यक पाठ्यक्रम, कार्यक्रम तयार गर्न लागिएको बताउनुभयो । आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “प्राविधिक सीपले अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार तथा रोजगारीसँग जोडिन सहयोग मिल्ने वातावरण तयार गर्न सकिन्छ ।”

यस्तै, सहसचिव डा. कमल पोखरेलले दृष्टिविहीन र न्यून दृष्टि भएका व्यक्तिहरूले चित्रकला, सङ्गीत, कम्प्युटर सफ्टवेयर, एप डिजाइन, नेटवर्किङ, रिसेप्सन, मसाज पार्लर, फिँजियो थेरापीलगायतका काम सफलतापूर्वक गरिरहेको बताउनुभयो । शिक्षण पेसा र सरकारी कार्यालयमा समेत उपस्थिति गराएर सक्रियतापूर्वक  काम गरिरहेका व्यक्तित्वबाट प्रेरित भएर सीपमूलक काम गर्न सक्ने जनशक्ति तयार गर्न र रोजगारीसँग जोडिने अवसर प्रदान गर्नुपर्ने उहाँको भनाइ छ ।

हालसम्म करिब सात हजार अपाङ्गता भएका व्यक्तिले विभिन्न प्राविधिक तालिम लिइसकेको उहाँले जानकारी दिनुभयो । करिब आठ सय जनाले निरन्तर रोजगारी गरेर आत्मनिर्भर जीवन बाँचेका नेपाल नेत्रहिन सङ्घका निर्देशक नरबहादुर लिम्बुले बताउनुभयो । 

उहाँका अनुसार, अपाङ्गता भएका, विशेषगरी दृष्टिविहीन र न्यून दृष्टिविहीन व्यक्तिले शिक्षण, साबुन, धुपबत्ती बनाउनेदेखि वाइल्डिसम्मको काम गर्न सक्छन् । तर आवश्यक सीप र त्यसपछिको रोजगारीको अवसरका लागि राज्यले प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् (सिटीभिटी) मै छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने माग रहेको छ । 

कार्यक्रममा कलाकार प्रेम लिम्बुले आफूले सङ्गीतमार्फत २० वर्षदेखि थुप्रै दृष्टिविहीनलाई दोहोरी रेष्टरेण्टलगायतका स्थानमा रोजगारीमा काम गर्न सक्ने सीप प्रदान गरेको बताउनुभयो ।